मुस्ताङको कागखोलामा बाढी आउँदा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका ३१ घर बगाएको छ।
आइतबार साँझदेखि कागखोलामा लेदोसहित बाढी आएको र कागबेनीका ३१ घर पूर्ण क्षतिग्रस्त तुल्याएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए। उनका अनुसार त्यस क्षेत्रमा शनिबार रातिदेखि नै पानी परेको थियो।
गेग्रानसहितको बाढीले इलाका प्रहरी कार्यालय कागखोलाको भवन र विभिन्न संस्थाका भवन लगायत बगाएका छन्।
त्यस्तै जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युतका पोल बगाएको सिडिओ केसीले जानकारी दिए।
पक्की पुल बगाउँदा अपर मुस्ताङसँगको सम्पर्क टुटेको उनले बताए। मानिसहरूलाई पहिल्यै सुरक्षित स्थानमा लगिएका कारण मानवीय क्षति हुन नपाएको उनले बताए।
बाढीका कारण १५/२० घरको एक तलासम्म लेदोले भरिएका छन् भने १२/१५ घर उच्च जोखिममा रहेको सिडिओ केसीले जानकारी दिए।
अहिले तीन वटै सुरक्षा निकायका ७० जना उद्धार टोली र स्थानीयहरू उद्धारमा जुटेको उनले बताए। कागखाेलामा बर्सेनि बाढी आउने भए पनि यसरी विध्वंश निम्त्याएको पहिलोपटक देखेकाे वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरूङले बताए।








तस्बिर:प्रमुख जिल्ला अधिकारी अनुप केसी मुस्ताङ र वारागुङ मुक्ति क्षेत्र गाउँपालिका, मुस्ताङका प्रवक्ता प्रमेश गुरूङ।









प्रतिक्रिया दिनुहोस्