नेपालगन्ज ।
नेपालगन्ज–१० स्थित नेपालगन्ज हेल्थ क्याम्पसमा पढाइसकेका विद्यार्थीलाई बिदाई गरिएको छ भने नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ । शुक्रबार नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा ‘फेयरवेल’ र ‘वेलकम’ कार्यक्रममा आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बिष्टले प्राविधिक शिक्षाका क्षेत्रमा नेपालगन्ज हेल्थ क्याम्पसले योगदानको महŒवपूर्ण रहेको भन्दै प्रशंसा गरे । उनले पढाइ सकेर बिदा हुन लागेका विद्यार्थीलाई कुनै न कुनै रोजगारीमा आबद्ध हुन र पढाइको भरपुर उपयोग गर्न सुझाव दिए । उनले नयाँ विद्यार्थीलाई अनुशासित भएर पढ्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायाण पौडेल, सचिव सुद्धान्शुराज कोइरालालगायतको सहभागिता थियो । कलेजका प्रबन्ध निर्देशक एवम् संविधानसभा सदस्य मैकुलाल वाल्मिकीले स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादनमा लामो अनुभव रहेको नेपालगन्ज हेल्थ क्याम्पसले चालु शैक्षिकसत्रबाट तीन बर्से आयुर्वेद हेल्थ असिस्टेन्ट (एएचए) सँगै तीन महिने केयर गीभर कार्यक्रमका लागि भर्ना आह्वान गरेको बताए । यी दुवै कार्यक्रम पश्चिममा पहिलोपटक पढाइ हुन लागेको र राम्रो भविष्य भएका कारण विद्यार्थीले भर्नाका लागि चासो प्रकट गरेको क्याम्पसका प्रबन्ध निर्देशक बाल्मिकीले बताए ।
यिबाहेक उक्त क्याम्पसले डिप्लोमा इन फार्मेसी, तीन बर्से ल्याब टेक्निसियन जस्ता कार्यक्रम पढाइरहेको छ ।
‘बिगतमा सञ्चालन भइरहेका कार्यक्रममा एएचए र केयर गीभर नयाँ सञ्चालन गर्दैछौं । यसमा विद्यार्थीको रुची भएको पाइयौं,’ उनले भने, ‘आयुर्वेद शिक्षाको जागर र देशमा आयुर्वेद स्वास्थ्य जनशक्तिको अभाव अन्त्य गर्न यो पढाइ प्रभावकारी हुने विश्वास लिएका छौं ।’ उनका अनुसार, स्वदेश तथा विदेशमा केयर गीभर कामदारको माग अत्यधिक रहेकाले त्यो पढ्ने बढ्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्