बाँके ।
कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ ।
करिब आठ वर्षपछि संस्थाको नेतृत्व परिवर्तनका लागि निर्वाचन हुन गइरहेको हो । आज हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत टिकाराम ढकालले आफूहरूको तर्फबाट चुनावको तयारी पूरा भइसकेको जानकारी दिए ।
‘बिहीबार साँझसम्म निर्वाचनका लागि गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरिसकेका छौं,’ उनले मिसन टुडेसँग भने, ‘निर्वाचनका दिन गर्नुपर्ने कामहरू मात्रै बाँकी छन् । निर्धारित समयमै मतदान सुरू गर्ने तयारी छ ।’ उनका अनुसार मतदानस्थल कोहलपुरस्थित भेरी शीत भण्डार सहकारी संस्थामा तोकिएको छ । बिहान सात बजेदेखि अपरान्ह्र पाँच बजेसम्म मतदानस्थलमा पुगेर मतदाताले भोट खसाल्न पाउनेछन् ।
निर्वाचन अधिकृत ढकालका अनुसार कुल ५२ सय ७७ मतदाताका लागि मतदानस्थलभित्र पाँचवटा मतदान केन्द्र तोकिएको छ । ‘क’ मतदान केन्द्रमा वडा नम्बर १ र ५ का सबै तथा ११ का क्रम संख्या एकदेखि तीन सय २३ सम्मका एक हजार ६१ जना, ‘ख’ केन्द्रमा वडा नम्बर ११ का क्रम संख्या तीन सय २४ देखिमाथिका सबै एक हजार दुई सय ४९ जना र ‘ग’ मतदान केन्द्रमा वडा नम्बर २ का सबै एक हजार ७७ जना मतदाताले मतदान गर्न पाउने छन् ।
त्यसैगरी ‘घ’ केन्द्रमा वडा नम्बर ६ र १२ का सबै एक हजार १८ जना तथा ‘ङ’ मतदान केन्द्रमा वडा नम्बर १० का सबै आठ सय ७२ जना मतदाताले भोट खसाल्न पाउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानको लागि सकेसम्म संस्थाबाट जारी भएको उपभोक्ता मतदाता परिचयपत्र अनिवार्य गरिएको छ ।
‘मतदाता परिचयपत्र नभएका हकमा अन्य व्यवस्था समेत हामीले गरेका छौं,’ निर्वाचित अधिकृत ढकालले भने, ‘परिचयपत्र नभएको हकमा ग्राहक खुल्ने कागजातको साथमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गा धनी प्रमाणपुर्जा वा पासपोर्टमध्ये कुनै एकको सक्कल प्रमाण देखाउनुपर्नेछ ।’
कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाको विभिन्न ११ पदको लागि ३१ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । उनीहरू तीन समूहबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार एक अध्यक्षका लागि तीनजना, एक उपाध्यक्षका लागि तीनजना, एक सचिवका लागि तीनजना, एक कोषाध्यक्षका लागि तीनजना, एक सहसचिवका लागि दुईजना र एक सहकोषाध्यक्षका लागि तीनजना उम्मेदवार रहेका छन् ।
त्यसैगरी तीन खुला सदस्यका लागि नौजना र दुई महिला सदस्यका लागि पाँचजना उम्मेदवारबीच निर्वाचन हुनेछ । निर्वाचनको लागि घोषितरूपमै नेपाली कांग्रेसले लोकतान्त्रिक प्यानल र नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस र राप्रपाले साझा समावेशी प्यानल बनाएर उम्मेदवारहरू चुनावी मैदानमा उतारेका छन् ।
त्यसैगरी स्वतन्त्र प्यानलको नाम दिएर राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, संस्थाका निर्वतमान अध्यक्ष नरबहादुर मल्लको समूह र बेटर बाँकेले अघोषितरूपमा सहसचिवबाहेकका उम्मेदवार खडा गरेका छन् ।