नेपालगन्जमा आकासे पुलको योजना अलपत्र



नेपालगन्ज ।

नेपालगन्जमा सवारी साधनको चाप बढ्दो छ । पैदलयात्रीको पनि आवागमन बढ्दो छ । फराकिलो सडक भएर पनि बढ्दो सवारी साधनको चापसँगै पैदलयात्रीलाई सडक क्रस (पार) गर्न मुस्किलमुस्किल परिरहेको छ । यसले दुर्घटनाको जोखिम भने निम्त्याएको देखिन्छ । बढ्दो सवारी साधनको चाप र पैदलयात्रुलाई बाटो क्रस गर्न कठिन हुन थालेपछि नेपालगन्जमा आकासे पुल निर्माण गर्ने परिकल्पना गरियो र सोहीअनुसार योजना पनि बन्यो ।

राँझामा त आकासे पुलको शिलान्यायसमेत भइसकेको छ । यसका लागि आठ करोड २१ लाख ४५ हजार रुपैयाँमा लागतको सम्झौता भएको थियो । यसभन्दा अघि २०७५ सालमा तत्कालीन नगर प्रमुख (मेयर) डा.धवलशमशेर राणाको कार्यकालमा धम्बोझीमा आकासे पुल बनाउने भनिएको थियो । त्यतिबेला पनि बजेटको व्यवस्था भएको थियो ।

तर बिडम्वना त्यो योजना अगाडि बढ्न सकेन ।नेपालगन्ज मात्र होइन सडक डिभिजन कार्यालयले नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोकसँगै कारकाँदो चोक र कोहलपुरमा न्यूरोड चोक र त्रिभुवन नमुना उमाविको अगाडि आकासे पुल निर्माण गर्ने गरी डिजाइन गरेको थियो । तर, अहिले आकासे पुल निर्माण कार्य ठप्प छ । कोहलपुर नगरपालिकाले पनि आकासे पुल बनाउने भनेको थियो । कोहलपुरले डिपीआरसम्म ग¥यो । अरु काम भएको छैन । नेपालगन्ज र कोहलपुरमा निर्माण हुने भनिएको आकासे पुलको योजना अलपत्र अवस्थामा छ ।

स्थल सुहाउँदो डिजाइन र स्रोतको सुनिश्चिततासँगै आकासे पुलको योजना निर्माण गर्दा यसले गति लिन नसकेको देखिन्छ । आकासे पुललाई अर्थपूर्णरुपले हेरिएको थियो । बुटवलभन्दा पश्चिममा आकासे पुल छैनन् । आकासे पुलले दुर्घटनाको जोखिम मात्र होइन, पश्चिमको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १९ गते मंगलबार