कोहलपुरमा आकाशे पुल योजना : डिपीआर बन्यो, पुल बनेन



शुभाकर विश्वकर्मा,कोहलपुर
कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा आकासे पुल निर्माण गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुख्य सहरी क्षेत्रमा ग्राहकको चाप र सुरक्षाको लागि आकासे पुल निर्माण गरिने उल्लेख गरिएको छ ।


तर, कोहलपुरमा २०७७ सालमा तीनवटा स्थानमा आकासे पुल निर्माणका लागि भन्दै डिपीआर तयार गरिएको थियो । डिपीआर तयार भएको चार वर्ष बितिसक्दासमेत आकासे पुल बन्नेनबन्ने टुंगो छैन । लुटबहादुर रावत नगर प्रमुख हुँदा नगर गौरवको योजनाको रुपमा अघि सारिएको आकासे पुल सपना नयाँ जनप्रतिनिधि आएसँगै प्राथमिकतामा परेन ।

कोहलपुर नगरपालिकाका इन्जिनियर बालकृष्ण महताराका अनुसार तीनवटा आकासे पुल निर्माण गर्न कुल ६ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ ।
डिपीआरमा न्युरोडमा निर्माण हुने भनिको पुलको लम्बाई ६२ मिटर, साझा चोकको ५० र हाइस्कुल चोकमा ५२ मिटरको हुने उल्लेख छ । एउटा पुलको लागि न्यूनतम एक करोड ७५ लाखदेखि दुई करोडसम्म लागत लाग्ने अनुमान छ । स्थानीय तहको निर्वाचनमार्फत नयाँ जनप्रतिनिधि आएपछि पनि आकासे पुल निर्माण गर्ने योजना अघि सारे ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यको नेतृत्वमा गत वर्षको भदौमा इन्जिनियर ल्याएर चेकजाँच गरिएको थियो । नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा समेत वडा नम्बर १० हाइस्कुल चोक र वडा नम्बर ११ मा रहेको साझा चोकमा आकासे पुल निर्माण कार्यलाई अघि बढाउने उल्लेख गरिए पनि कार्यान्वयन भने हुन सकेन । आकासे पुल निर्माणका लागि विनियोजित डेढ करोड रुपैयाँसमेत खर्च हुन सकेन ।

त्यतिबेला नगर प्रमुख आचार्यले आकासे पुल निर्माणका लागि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग पाँच करोड रुपैयाँ माग गरेको बताएका थिए ।

आगामी आर्थि वर्षको नीति तथा कार्यक्रममा आकासे पुल निर्माण गर्ने नीति दोहोरिएकाले निर्माण सुरु गर्ने नगरप्रमुख आचार्य बताउँछन् । लामो समयदेखि जनप्रतिनिधिहरुले आकासे पुल निर्माण गर्ने योजना अघि सारे पनि कार्यान्वयन नहुँदा अन्योलता थपिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १८ गते सोमबार