16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

हचुवाको योजना : अन्योलमा आकासे पुल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार १८, २०८०  

कमल डाँगी,नेपालगन्ज
२०७९ भदौ ४ गते नेपालगन्जस्थित राँझामा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईले आकासे पुलको शिलान्यास गरे । त्यतिबेला नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोकसँगै कारकाँदो चोक र कोहलपुरमा न्यूरोड चोक र त्रिभुवन नमुना उमाविको अगाडि आकासे पुल निर्माण गरिने भनिएको थियो ।

यसभन्दा पहिला डा.धवलशमशेर राणा नेपालगन्जको मेयर हुँदा २०७५ मा पनि धम्बोझीमा आकासे पुल बनाउने भनिएको थियो । जसका लागि नगरले एक करोड रुपैयाँसमेत विनियोजन गरेको थियो । तर, अहिले आकासे पुल बन्ने योजना अलपत्र अवस्थामा छ ।

एक ठाउँमा शिलान्यास हुनेबाहेक अरु प्रगति शून्य छ । नेपालगन्जवासीको आकासे पुल सपना अधुरै रहने निश्चित देखिन्छ । हतारमा शिलान्यास गरेपछि माटो परीक्षणको कामसमेत भयो । तर त्यसयता निमार्णको कुनै काम अघि बढ्न सकेको छैन । बरु तत्कालीन अवस्थाको डिजाइनलाई सच्याउन सडक डिभिजन कार्यालय नेपालगन्जले सडक विभागमा पत्र लेखेको छ ।

‘रिभ्यु’ का लागि पठाएको पत्र स्वीकृत वा अस्वीकृत भयो भन्ने एकिन नहुँदासम्म काम सुरु नहुने निश्चित प्रायः छ । आकासे पुलको तत्कालीन डिजाइन रिभ्यु गर्नुपर्ने अवस्था आउनु भनेकै शिलान्यास हतारका भरमा गरिएको थियो भन्ने पुष्टि हुन्छ ।

कुनै परिपक्व डिजाइनबिनानै निर्वाचन पूर्व (२०७९ मंसीरमा निर्वाचन) निर्वाचन प्रभावित गर्ने उद्देश्यले आकासे पुलको शिलान्यास गरिएको आरोप लागेको छ ।

आकासे पुल निर्माणका लागि राँझा चोकमा खनिएको खाडल । तस्विरः कमल÷मिसन टुडे

डायनामिक कन्सट्रक्सन निर्माण कम्पनीसँग २०७९ कात्तिक २८ सम्झौता भएपश्चात कम्पनीले सबैभन्दा पहिले राँझा चोकमै आकासे पुल निर्माणका लागि काम सुरु गरेको थियो । जबकी शिलान्यास भदौ ४ गते नै गरिएको थियो । आकासे पुल निर्माण गर्नका लागि खनिएको खाल्डो राँझा चोकमा अहिले धरापमा परिणत भएको छ । सडकछेउमै खनिएको खाल्डोमा न काम सुरु भयो, नत पुर्ने काम भएको छ । त्यसले सवारी दुर्घटनाको जोखिम बढाएको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी जनक धामीले डिजाइन रिभ्यु स्वीकृत हुने बित्तिकै काम सुरु हुने बताए । काम सुरु हुनेमा ढुक्न हुन अनुरोध गर्दै धामीले भने, ‘बजेट फ्रिज हुने समस्या छैन । डिजाइन रिभ्यु स्वीकृत हुने बित्तिकै पाँचवटै आकासेपुलको काम सुरु हुन्छ ।’

धामीले दिएको जानकारीअनुसार राँझामा हालकै अवस्थामा पुल बनाउँदा पूर्वछेउमा सिक्टा सिँचाइको डुडुवा नालामा पर्छ । उक्त नालाको उचाइ र लम्बाइ बढाउनुपर्ने आवश्यकताका आधारमा डिजाइन रिभ्यु गर्नुपर्ने आवश्यकता महसुस गरेर पहिले नै बजेट माग गरिएको धामी बताउँछन् ।

अब नयाँ डिजाइन स्वीकृत भएर आएपछि धमाधम काम सुरु हुने र तोकिएको समयभित्रै काम सम्पन्न हुने धामी दाबी गर्छन् ।
निर्माण कम्पनीसँग पाँचवटा आकासे पुल १५ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी कात्तिक २८ गते सम्झौता गरिएको छ । पुलहरु निर्माण गर्नका लागि करसहित आठ करोड २१ लाख ४५ हजार रुपैयाँमा लागतको सम्झौता भएको छ ।

आकासे पुल निर्माणमा भइरहेको ढिलाइका बारेमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले चासो राखेका छन् । उनले डिजाइन परिवर्तनको काम हुने बित्तिकै निर्माणसम्बन्धी काम सुरु हुने आशा गरिएको बताए ।

नेपालगन्जमा २०७५ सालदेखि नै आकासे पुल निर्माणको चर्चा चलेको थियो । आकासे पुल बनेपछि पैदलयात्रीलाई धेरै सहज हुने र दुर्घटनामा कमी आउने विश्वास गरिएको छ ।

 

प्रकाशित मितिः सोमवार, असार १८, २०८०     11:08:06 AM  |