भारतीय रिक्सावालासँग ठगिँदै नेपाली



नेपालगन्ज, नेपालगन्जकी अमृता केसी घरायशी सामान लिन मंगलबार रुपैडिहा पुगिन् । रिक्सामा २० रुपैयाँले जमुनाहबाट रुपैडिहा पुगेकी उनले फर्किँदा ७० रुपैयाँ तिर्नु प¥यो । उनीसँग एक बोरा चामल, पाँच केजी सरफ, थोरै अरु घरायशी सामान थियो । उनीसँग अर्की सीता सुनार पनि थिइन् । एउटै रिक्सामा आएका उनीहरुले प्रतिव्यक्ति ७०÷७० रुपैयाँ तिरे । जाँदा प्रतिव्यक्ति २० र फर्किँदा प्रतिव्यक्ति ७० रुपैयाँ तिर्नु पर्दा उनीहरुले मिसन टुडेसँग गुनासो व्यक्त गरे ।


अमृताले भनिन्, ‘नेपाली उपभोक्तासँग भारतीय रिक्सा व्यवसायीले लुट मच्चाउँदा नेपाली नियामक निकाय मुकदर्शक छ ।’ उनी मात्र होइन, भारतीय बजारबाट फर्किने नेपालीबाट यसरीनै भारतीय रिक्सावालाले चर्काे भाडा लिने गरेका छन् । उनीहरुले व्यक्ति हेरेर फरकफरक भाडा लिन्छन् । जमुनाहबाट रुपैडिहा जाँदा सस्तै शुल्क लिने उनीहरु रुपैडिहाबाट जमुनाह आँदा चर्काे भाडा लिन्छन् ।

जमुनाहबाट रुपैडिहा करिब पाँच सय मिटर दुरीमा छ । यति छोटो दुरीमा नेपाली उपभोक्ता तथा रोजगारीबाट फर्किएका नेपालीबाट उनीहरु ६० रुपैयाँदेखि एक सय रुपैयाँसम्म लिन्छन् । रोजगारीबाट फर्किएका नेपालीबाट त अझ बढी पैसा लिने गरेका छन् ।

‘थोरै सामान हुन्छ । बोकेर जमुनाहसम्म पनि आउन सकिँदैन,’ कोहलपुरकी अनिशा चौधरीले भनिन्, ‘उनीहरु (भारतीय रिक्सावाला) ले तोकेको भाडामा आउनु पर्ने बाध्यता हुन्छ ।’ जमुनाहबाट रुपैडिहा जाँदा रिक्सामा मान्छे मात्र हुने भन्दै उनले भनिन्, ‘किनमेल गरेर फर्किँदा थोरै सामान पनि हुन्छ । २० को ठाउँमा ४० लिए पनि हुन्थ्यो तर, भारतीय रिक्सावालाले मनोमानीरुपमा नेपाली उपभोक्तालाई ठग्ने गरेका छन् ।’

दैनिक हजारौं नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहामा किनमेलका लागि जान्छन् । उनीहरुले भारतीय रिक्सावालाबाट ठगिँदा हैरानी व्यहोर्नु परेको छ । नेपाली उपभोक्ता र रोजगारीका लागि फर्किएकाहरु ठगिँदा पनि यस विषयमा नेपाली सरोकारवाला निकाय बेखबर छ । सीमामा हुने ठगीबारे सरोकारवाला निकाय मौन हुँदा ठगीले अझ प्रश्चय पाएको नेपाली उपभोक्ताहरु बताउँछन् । ‘नेपाली ठगिँदा राज्यलाई केही थाहा छैन,’ खजुराबाट किनमेलका लागि रुपैडिहा पुगेका हरिकृष्ण खत्रीले भने, ‘आफ्ना नागरिकको पीडा राज्यले बुझ्ने प्रयास गरेको छैन ।’

‘हामीले कम भाडामा अनुरोध गर्दा पनि मान्दैनन्,’ उनले भने, ‘आफैँ बोकेर घरायशी सामान ल्याउन पनि सकिँदैन । जसको फाइदा भारतीय रिक्सावालाले उठाउँदै आएका छन् ।’ भारतीय रिक्सावालाको ठगीमा नेपाली नियामक निकायले चासो दिनुपर्ने उनको भनाइ छ । ‘ठगिँदा नेपालीले सीमा क्षेत्रमै रहेको प्रहरीलाई जानकारी पनि गराउँदैनन्,’ उनी भन्छन्, ‘प्रहरीले पनि ठगिएको नठगिएको विषयमा केही सरोकार राख्दैन ।’

यस विषयमा नेपाली उपभोक्ताले गुनासो नगर्ने गरेको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी निरीक्षक दामु पुनले बताए । ‘जमुनाहबाट रुपैडिहा जाने उपभोक्तालाई सकेसम्म भाडाका विषयमा जानकारी दिन्छैं,’ उनले भने, ‘उता (रुपैडिहा) बाट फर्किने उपभोक्ताहरुको सामान चेकजाँचमै व्यस्त हुने हुँदा भाडाका विषयमा सोधपुछमा ध्यान गएको छैन ।’ आजैदेखि सीमा क्षेत्रमा भारतीय रिक्सावालाले नेपाली उपभोक्तालाई ठग्ने विषयमा थप कदम चाल्ने उनी बताउँछन् । भाडा शुल्कका विषयमा दुई देशबीच हुने बैठकमा कुरा उठाउन सकिने उनी बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ११ गते बिहीबार