नेपालगन्ज (बाँके),
जानकी गाउँपालिकाले पहिलोपटक छात्राहरुका लागि छुट्टै विद्यालय निर्माण गरेको छ । वडा नम्बर ३ मानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई छात्रा विद्यालयका रुपमा निर्माण गरेको हो ।
उक्त विद्यालयको नामसमेत परिवर्तन भएको छ । नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय बनाइएको छ । पालिकाका छात्राहरुलाई विद्यालयको मूल प्रवाहमा ल्याउन छुट्टै छात्रा विद्यालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जनाए । जानकीमा शतप्रतिशत छात्रा विद्यालयको पहुँचमा छैनन् । विद्यालयभन्दा बाहिर रहेका छात्राहरुलाई आकर्षित गर्न यसले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । जानकीको हिउँदे अधिवेशनबाट नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय बनाउने निर्णय भएको थियो ।

गत शैक्षिकसत्रमा यस विद्यालयमा दुई सय ८१ जना विद्यार्थीहरु थिए । जसमध्ये धेरै प्रतिशत छात्राहरु छन् । यहाँ पढ्ने छात्रहरु भने अब भर्ना हुन पाउने छैनन् । जानकीको शिक्षालाई थप व्यवस्थित र छात्राहरुलाई सहज ढंगले शिक्षा दिन छात्रा विद्यालय स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जनाए । ‘छात्राहरुलाई आकर्षित गर्न नयाँ शैक्षिकसत्रदेखि नयाँनयाँ कार्यक्रमहरु पनि ल्याएका छौं,’ उनले भने, ‘यसले जानकीको शिक्षालाई थप टेवा पु¥याउने छ ।’ उनका अनुसार यहाँ अध्ययन गर्ने छात्राहरुलाई विद्यालय पोसाक र शैक्षिक सामग्रीसमेत निःशुल्क व्यवस्था गरिएको छ । ‘विद्यालयमा आउने छात्राहरुलाई निःशुल्क यातायात सेवा पनि छ,’ उनले भने ।
यसभन्दा पहिला उक्त विद्यालय कक्षा ५ सम्ममात्र थियो । यस शैक्षिकसत्रदेखि कक्षा ६ सम्म पढाइने प्रमुख प्रशासकीय अधिकृत डाँगीले जनाए । यसलाई थप व्यवस्थित र कक्षा थप गर्दै माध्यमिक तहसम्म पु¥याइने जानकी गाउँपालिकाअन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाकी शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताइन् । छात्रा विद्यालयमा अध्यापन गराउने सबै महिला हुने उक्त विद्यालयकी प्रधानाध्यापक यशोदा धितालले जनाइन् । ‘विद्यालयमा पढाउने सबै शिक्षिका हुनुहुन्छ,’ उनले भने, ‘नयाँ सोचका साथ स्थापना भएको विद्यालयमा छात्राहरुको संख्या अझ बढ्ने छ ।’
मुस्लिम र दलित समुदायका बालबालिलाई शिक्षामा जोड्न सकस
बाँके पश्चिम नेपालको शैक्षिक हबका रुपमा स्थापित छ । पश्चिमका लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बाँकेले उज्यालो छरिरहेको छ । सडक, सञ्चारलगायत सुविधाका हिसाबले तुलनात्मकरूपमा राम्रो रहेको बाँकेका दलित र मुस्लिम समुदायका बालबालिका विद्यालय जान वञ्चित रहेको अँध्यारो पाटो पनि छ । जिल्लाको शैक्षिक वस्तुगत तथ्यांक हेर्दा जानकी गाउँपालिकामा विद्यालय बाहिर रहेको संख्या कम छैन । संविधानले शिक्षालाई ‘अनिवार्य’ र ‘निःशुल्क’ भनेको छ तर पनि बालबालिका विद्यालय बाहिर छन् ।
बालविवाह, अभिभावकमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतनाको कमी र कमाएर खानुपर्ने बाध्यताले बालबालिकालाई पढाइभन्दा काम अनिवार्य बनेको छ । गरिबीले उनीहरुका लागि विद्यालयको ढोका थुनिदिएको छ । कलिला बालबालिका सबै किसिमका काम गर्छन् । चौध–पन्ध्र वर्षकाहरू आमाबाबुसँगै मजदुरीमा जान्छन् । यहाँका बालबालिका किन विद्यालय जाँदैनन् ?, ‘गरिबीले गर्दा यहाँका बालबालिका कमाउन बाध्य छन् । सानै उमेरमा कमाउनुपर्ने अवस्थाले गर्दा उनीहरु विद्यालय पुग्न सक्दैनन् ।’
विद्यालय जाने बालबालिका रहर भए पनि बाबुआमासँगै कमाउन बाध्य छन् । कतिपय अभिभावकसँग नागरिकता छैन । जसले बालबालिकाको जन्मदर्ता बन्न सकेको छैन । जन्मदर्ता नहुँदा यहाँका दलित र मुस्लिम बालबालिका विद्यालयको ढोकासम्म पुग्न सकिरहेका छैनन् । गरिबी र अभिभावकमा पढाइप्रति रुचि नहुनु यसको मुख्य कारण हो । आक्कलझ्ुक्कल मदरसा र विद्यालय जाने बालबालिका पनि बीचैमा पढाइ छाड्छन्, उमेर बढाएर नागरिकता र राहदानी बनाउँछन् अनि वैदेशिक रोजगारमा जान बाध्य छन् ।
जानकी गाउँपालिकामा २४ सामुदायिक, सात संस्थागत, १४ मदरसा र एक गुरुकुल विद्यालय छन् । २४ सामुदायिक विद्यालयमध्ये एउटा छात्रा विद्यालय हो । जसमा गत शैक्षिकसत्रमा दुई हजार चार सय आठजना बालबालिका विद्यालय गए । जसमा दुई सय ९३ जनामात्र दलित समुदायका विद्यार्थी हुन् । करिब ७० प्रतिशत बालबालिका मुस्लिम समुदायभित्रका हुन् ।
जानकीमा करिब ३० देखि २५ प्रतिशतसम्म दलित र मुस्लिम समुदायका बालबालिका विद्यालयको पहुँचमा आउने सकेका छैनन् । गाउँपालिकाले विद्यालयहरुमा भौतिक पूर्वाधार निर्माणसँगै शिक्षकलाई अभिवृद्धि तालिम, विपन्न तथा गरिब समुदायका बालबालिकालाई पोसाक, शैक्षिक सामग्री वितरण गर्दै आएको छ । विद्यालयहरुसँग अन्तरक्रिया जस्ता कार्यक्रमहरु पनि पालिकाले गरेको छ । शिक्षासँग जोडिएको महŒवपूर्ण पाटो अभिभावकसँग जनचेतनामूलक कार्यक्रम गर्न भने जानकी चुकेको छ । सबै अभिभावकसँग पुगेर जनचेतनामूल्क कार्यक्रम गरे विद्यालय आउने बालबालिकाको संख्यामा केही वृद्धि हुन सक्छ ।
जानकीमा भर्ना अभियान सुरु
जानकी गाउँपालिकाले नयाँ शैक्षिकसत्रको भर्ना अभियान कार्यक्रम शुभारम्भ गरेको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्यता र नेपाली कांग्रेसका महासमिति सदस्य लक्ष्मीनारायण शाहको विशेष आथित्यतामा उक्त कार्यक्रम शुभारम्भ गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष खाँले कार्यक्रम उद्घाटन गरे । उक्त कार्यक्रम शुभारम्भका दिन नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयमा छात्राहरुलाई भर्ना गरेर अभियानको सुवारुत गरिएको थियो । साथै उक्त विद्यालयमा भर्ना भएका छात्राहरुलाई विद्यालय पोसाक हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जनाए ।









प्रतिक्रिया दिनुहोस्