बाँकेमा मापसे चेकिङमा कडाइ



कोहलपुर, दुर्घटना न्यूनीकरणका लागि ईलाका प्रहरी कार्यालय कोहलपुर र ट्राफिक प्रहरी कार्यालय बाँकेले मादक पदार्थ सेवन (मापसे) चेकिङमा कडाइ गरेका छन् । दुर्घटनाको प्रमुख कारण मापसे भएकाले यसको न्यूनीकरणका लागि मापसे चेकिङमा कडाइ गरिएको हो ।
मुख्यगरी नेपालगन्ज–कोहलपुर सडकखण्डमा कडाइलाई प्राथमिकता दिइएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर र ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासमा मापसे चेकिङमा कडाइ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए । नेपालगन्ज–कोहलपुर सडकखण्डमा दुईतर्फिरुपमा चेकिङ गरिएको उनले बताए । दैनिकजसो ठूलो संख्यामा नेपाल प्रहरी र ट्राफिक प्रहरी मापसे चेकिङमा परिचालन भएका छन् ।


मापसे चेकिङमा परेकालाई जरिवानासँगै मापसेसम्बन्धी अनिवार्य प्रशिक्षण दिने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका वरिष्ठ नायब निरीक्षक (सई) ओम पौडेलले जनाए । ‘मापसे गरेकालाई अनिवार्य प्रशिक्षण दिन्छौं,’ उनले भने, ‘दैनिक ३०÷४० जना जतिलाई मापसे प्रशिक्षण दिने गरेका छौं ।’ यसका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखसमेत रहेका डिएसपी तिवारीसमेत रात्रिकालीन मापसे चेकिङमा खटिएका हुन्छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख तिलक सुनारले जनचेतनामूलक कार्यक्रमसँगै ट्राफिक चेकिङलाई कडाइ गरिएको बताए । चैतमा मात्रै जिल्लाका १४ वटा स्थानमा जनचेतनामूलक होडिङ बोर्ड राखिएको छ । ट्राफिक सचेतनाअन्तर्गत जिल्लाका आठवटै स्थानीय तहका एक सय १५ वटा स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

एक महिनामा दुई सय आठजना मापसेसम्बन्धी जनचेतनामूलक कक्षामा सहभागी भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार चैतमा सातवटा सवार दुर्घटना भए । तर दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएन । प्रमुख सुनारले बाँकेमा विगत तीन वर्षमा पहिलोपटक सवारी दुर्घटनामा शून्य मृत्यु भएको दाबी गरे ।

उनी भन्छन्, ‘सवारी दुर्घटनामा हरेक महिनामा मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । तर चैतमा कुनै पनि मानिसले दुर्घटनाका कारण ज्यान गुमाउनु परे । पहिलोपटक मृत्यु शून्यमा आएको महिना चैत हो ।’ यस्तै राजस्व संकलनमा पनि २७ प्रतिशतले वृद्धि भएको जनाइएको छ । चैतमा विभिन्न शीर्षकमा जिल्ला ट्राफिक कार्यालयले २७ लाख ७८ हजार बढी राजस्व संकलन गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख ६ गते बुधबार