20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

बाँकेमा भिटामिन ए खुवाउने अभियान स्थगित : भिटामिन ए क्याप्सुलको रङ परिवर्तन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ६, २०८०  

वीरेन्द्र जैसी,नेपालगन्ज,
आज वैशाख ६ र भोलि वैशाख ७ गते बालबालिकालाई खुवाउन भनी बाँकेका पालिकामा पुगेको भिटामिन ए क्याप्सुलको रङ परिवर्तन भएको पाइएको छ । वास्तविक रङभन्दा फरक रङमा क्याप्सुलहरु परिवर्तन भएको पाइएपछि भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले जानकारी दिइन् ।


रातो रङको हुने उक्त क्याप्सुलहरुको डब्बामा केही क्याप्सुलहरुको रङ परिवर्तन भएर कालो जस्तो भएको पाइएको थियो । बालबालिकाहरुलाई खुवाउन भनी पालिकाहरुसम्म पुगिसकेको क्याप्सुलमा रङ परिवर्तन भएको भेटिएपछि तत्काल आफूले माथिल्लो निकायलाई जानकारी गराएको उनले बताइन् । त्यसपछि हाललाई उक्त क्याप्सुल नखुवाउन परिपत्र आएको उनको भनाइ छ । भिटामिन ए क्याप्सुलको म्याद पनि यही अप्रिल महिनासम्म मात्रै छ ।

उक्त क्याप्सुल दुई दिनअघि मात्रै लुम्बिनी प्रदेश आपूर्ति केन्द्रबाट जिल्लामा आइपुगेको उनले जानकारी दिइन् । उक्त औषधि बनेको मिति मे २०२१ छ । यस हिसाबले औषधिको म्याद सकिने अन्तिम मितिमा मात्रै बाँकेमा पठाइएको पाइएको छ । बाँकेको एक स्थानीय तहमा कार्यरत एकजना जनस्वास्थ्य अधिकृतले सरकारले बाँकेलाई हेप्ने नियतले बिग्रेका क्याप्सुलहरु पठाएको आशंका व्यक्त गरे ।

उनले भने, ‘भोलि मेरै दुईवटा बच्चाले पनि क्याप्सुल खाँदै थिए । उनीहरुले यस्तो बिग्रेको क्याप्सुल खाएको भए के हुन्थ्यो ?’ यसैबीच औषधि सेवन अभियान रोकिएकोबारे आफूहरुलाई मंगलबार अबेर मात्रै जानकारी आएको उनले बताए । ‘हामीले स्वयम्सेविकालाई समेत औषधि दिएर पठाइसकेका थियौँ,’ उनले भने, ‘अबेर प्रदेश स्वास्थ्य निर्देशनालयबाट पत्र आएपछि मात्रै थाहा पाएका हौं ।’ स्वास्थ्य कार्यालयबाट त झन् केही पत्र नै नआएको उनको भनाइ छ ।


यता स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख पौडेलले इमेलमार्फत सबै पालिकामा कार्यालय समयभित्रै पत्राचार गरिएको र इमेल खोलेर नहेरिएका कारण थाहा नभएको हुनसक्ने भएकोले फोनमार्फत पनि जानकारी गराइएको बताउँछिन् । उनले निर्देशनालयबाट कैफियत देखिएकाले सबै क्याप्सुल फिर्ता ल्याउन भनिएको र केही दिनमै नयाँ क्याप्सुल आउने जनकारी पाएको बताइन् । पौडेलले म्याद सकिने बेला आउन लागेका कारणले नभइ उत्पादन, ढुवानी वा भण्डारमा केही गडबडी भएमा यस्तो हुनसक्ने बताइन् ।

उनले अप्रिलसम्म म्याद लेखिएकोले उक्त क्याप्सुल सामान्य अवस्थामा अप्रिल महिनाभरि खुवाउन मिल्ने बताउँछिन् । उक्त विषय पालिकाबाट जानकारीमा आएपछि आफूहरुले तत्काल यसबारेमा सोधीखोजी सुरु गरी माथिल्ला निकायलाई जानकारी गराएको उनको भनाइ छ । स्वास्थ्य कार्यालयबाट पालिकामा जाँदा ती क्याप्सुलहरु प्याकेजमै जाने भएकोले पालिकामा खोलिएपछि मात्रै थाहा भएको उनले बताइन् ।

अब माथिबाट यही क्याप्सुल खुवाउन उपयुक्त रहेको परिपत्र आएमा वा नयाँ लटको क्याप्सुल आएमा मात्रै औषधि खुवाउने अभियान अघि बढाइने उनले जानकारी दिएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने दिन तोकेको थियो । ६ देखि ५९ महिना उमेरसम्मका बालाबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने गर्दछ ।

प्रकाशित मितिः बुधबार, बैशाख ६, २०८०     1:24:35 PM  |