20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

नेपालगन्जमा पूर्वराजालाई अभिनन्दन गर्ने तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख ५, २०८०  

नेपालगन्ज, पूर्वराजा ज्ञानेन्द्र शाहलाई वैशाख २० गते नेपालगन्जमा नागरिक अभिनन्दन गर्ने तयारी गरिएको छ । पूर्व राजा शाह वैशाख १८ गते पश्चिम नेपालको भ्रमणका लागि आउन लागेको मौका पारी राजावादी तथा हिन्दुवादी राजनीति दल तथा संघ संगठनहरुले अभिन्दन गर्ने तयारी अघि बढाएका हुन् ।
पूर्वराजाका सचिव सागर तिमिल्सेनाको उपस्थिति र राप्रपाका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणाको समन्वयमा सोमबार नेपालगन्जमा भएको छलफलमा पूर्वराजाको नागरिक अभिनन्दनलाई विभिन्न तयारी समितिहरु बनाएर अघि बढाउने निर्णय भएको छ ।

राप्रपाका केन्द्रीय सदस्य ओमप्रकाश आजादका अनुसार कुनै पनि पार्टीको ब्यानर नराखी संयुक्तरुपमा नागरिक अभिनन्दन गर्ने निर्णय भएको हो । विभिन्न धार्मिक संघ–संस्थाको प्रतिनिधित्व गर्दै नागरिकहरुले राजालाई अभिनन्दन गर्न पाउनेगरी तयारी अघि बढाइने उनले बताए । उनले भने, ‘कार्यक्रम रामलिला मैदानमा आयोजना हुन्छ । पालैपालो संघ संस्थाको तर्फबाट अभिनन्दन गरिन्छ । त्यसक्रममा राष्ट्रिय झण्डा र धार्मिक झण्डाबाहेक पार्टीका झण्डाहरु प्रयोग गरिँदैनन् ।’

पूर्वराजा नेपालगन्जलाई केही समय केन्द्र बनाएर कर्णाली र सुदूरपश्चिमको विभिन्न जिल्लाको भ्रमणसमेत गर्ने तालिका रहेको बताइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहसँगै राजपरिवारका अन्य सदस्यहरु पनि तत्कालीन राजपरिवार नेपालगन्ज आउने भएका छन् । उनले वैशाख १८ गते सोमबारका दिन बागेश्वरी मन्दिरमा हुने महाआरतीमा पनि सहभागिता जनाउने भएका छन् । प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा माघ अन्तिम साताबाट सुरु भएको महाआरती हरेक सोमबार साँझ गर्ने गरिएको छ । महाआरती हुन थालेपछि बागेश्वरी मन्दिरमा सोमबार ठूलो संख्यामा भक्तजनहरु सहभागी हुन थालेका छन् ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ५, २०८०     11:05:40 AM  |