21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

बाँकेमा चार पांग्रे सवारीको ९५ र दुई पांग्रेको ७० प्रतिशत व्यापार घट्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र २८, २०७९  

नेपालगन्ज ।

‘पहिले सात/आठजना कर्मचारी रहेकोमा अहिले दुई/तीनजनाले मात्रै काम चलाउनपर्ने अवस्था छ,’ होण्डाको नेपालगन्जस्थित आधिकारिक बिक्रेता यज्ञलक्ष्मी अटो डिष्ट्रिब्युटरका सञ्चालक एवम् नेपालगन्ज अटोमोबाइल्स् एसोसियसनका अध्यक्ष रविन्सन श्रेष्ठले भने ।

उनका अनुसार यसरी कर्मचारी कटौती गर्नुपर्नाको मुख्य कारण बजारमा आएको संकूचन हो । ‘चार पांग्रेको व्यापारमा त ९५ प्रतिशत गिरावट आएको छ । दुई पांग्रेको पनि ७० प्रतिशत व्यापार घटेको छ,’ श्रेष्ठले थपे, ‘एक वर्ष त आयात नै ठप्प भयो । गत पुसबाट हो हामीले फेरि आयात हुन थालेको । यहीबेला आर्थिक संकट छ । बैंक र वित्तीय संस्थाहरुले लगानी गरिरहेका छैनन् ।’

नेपालगन्जस्थित गो फोर्डको शोरुम सञ्चालक निरञ्जनराज भण्डारी पनि ८० प्रतिशतले व्यापार घटेको बताउँछन् । ‘रिकण्डिसनहरुमा पनि गाडीहरु थुप्रिएका छन् । मानिसहरुले गाडी किन्नका लागि लगानीको स्रोत नै छैन,’ भण्डारीले भने । बजाज मोटरसाइकलका आधिकारिक बिक्रेता पानस मोटर्सका सञ्चालक ज्ञानेन्द्र न्यौपाने पनि बैंक मात्रै नभइ सहकारी र वित्तीय संस्थाहरुले पनि लगानी गर्न छोडेकोले अटोमोबाइलको व्यापार संकटमा रहेको बताए ।

उनले अटोमोबाइलको व्यापारमा आएको गिरावटले अन्य आर्थिक क्षेत्र पनि संकूचन भएको संकेत गर्ने बताए । ‘मानिसहरुसँग लगानी गर्ने पैसा भएपछि नयाँ व्यवसायमा हात हाल्छ । त्यसका लागि सवारी साधन चाहिन्छ । यहाँ त मानिसहरु विदेशतिर नभए भारततिर पलायन हुन बाध्य छन्,’ न्यौपानले भने ।

पश्चिम नेपालको ठूलो व्यापारिक केन्द्र नेपालगन्जका अधिकांश अटोमोबाइल्स् बिक्रेताहरुको अनुभव उस्तै छ । कोरोना महामारीपछि संकूचित भएको अटोमोबाइल व्यापार पछिल्लो समयको आर्थिक संकटले थप समस्यामा परेको उनीहरु बताउँछन् ।

त्यसको मुख्य कारण लगानीको लागि वित्तीय संस्थाहरु तयार नहुनु रहेको उनीहरुको भनाइ छ । यसका लागि चर्काे ब्याजदर र ब्याज तिर्ने समयमा कडिकडाइले पनि व्यवसायीहरु मर्कामा रहेको बताउँछन् । सवारी साधन क्रेताले किस्ता तिर्न नसक्ने समस्याले पनि बिक्रेता र क्रेताबीच पनि टकरावको स्थिति आइरहेको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायी भण्डारी राज्यले अटोमोबाइल्स्लाई विलासिताका साधन मानेर २५० प्रतिशतदेखि ३०० प्रतिशतसम्म कर लगाउने गरेका कारण आम मानिसहरुले सवारी साधन खरिद गर्न अतिरिक्त भार पर्ने गरेको बताए । नागरिकलाई सवारी साधन खरिदमा कर लगाएर राज्यकोषबाट भने अति महँगा सवारी साधनहरु खरिद भइरहेको भन्दै उनले आपत्ति जनाए ।

राज्यले अटोमोबाइल्स्लाई विलासिताको व्यापार मात्रै देख्नु नै नीतिगत समस्या भएको उनको भनाइ छ । यस विषयमा अटोमोबाइल्स् सम्बद्ध संगठन र उद्योग वाणिज्य संघले सरकारलाई आवश्यक दबाब दिन नसकेको उनको मूल्यांकन छ । उनी भन्छन्, ‘व्यावसायिक संगठनको नेतृत्वमा पनि बैंकका लगानीकर्ताहरु नै त छन् । अनि उनीहरुले हामीजस्ता डिलर सञ्चालकहरुको पीडाबारे किन बोल्छन् र ?’

बाँकेमा अटोमोबाइल्स् व्यापारमा तीन अर्बभन्दा बढी लगानी रहेको अनुमान गरिएको छ । अटोमोबाइल्स् व्यवसायीहरु संगठनका हिसाबले पनि अहिले एकताबद्ध भएर आवाज उठाउनेतिरभन्दा पनि राजनीतिक आस्थाका आधारमा बाँडिएका व्यवसायीहरु बताउँछन् । यता एसोसियसनका बाँके जिल्ला अध्यक्ष श्रेष्ठ आफूहरु बोल्दाबोल्दा थाकिसकेको दाबी गर्छन् ।

उनले आफूहरुले राष्ट्र बैंकको नेपालगन्ज कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतमार्फत सरकारलाई पटकपटक घचघच्याए पनि सुनुवाइ नभएको बताए । सरकारले अहिले सहकारी र वित्तीय संस्थाहरुमा देखिएको संकटलाई समाधान गर्ने, ब्याजदर न्यूनीकरण गर्ने र ऋण तिर्ने समय खुकुलो बनाइदिएमा मात्रै पनि ठूलो राहत हुने व्यवसायीहरुको भनाइ छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र २८, २०७९     9:22:37 AM  |