12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

कोहलपुरमा अव्यवस्थित नाला विस्तारले सास्ती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस १३, २०७९  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

हरियाली मार्गको प्रवेशद्वारदेखि कृषि चोकसम्म दुवैतर्फ नाली निर्माणका लागि खनिएको छ । यो मार्ग हिँड्ने जो कोहीलाई पनि लाग्छ कि, ‘किन यसरी अन्धाधुन्द खनिएको होला ?’ यो सडक कहिले व्यवस्थित होला ? यस क्षेत्रमा विकासका नाममा अव्यवस्थितरुपमा डोजरले खन्दा पैदलयात्री तथा सवारी साधनमा आवातजावत गर्नेलाई अप्ठ्यारो भएको । यो सडक क्षेत्र मात्रै होइन ‘टाउन प्लानिङ’ अन्तर्गत नगर विकास समितिले खनेका रोडमा समस्या यस्तै छ ।

‘टाउन प्लानिङ’ भित्रका सडकमा नाली निर्माण गर्दा सर्वसाधारणको आवतजावत र सवारी साधनको चापलाई ध्यानमा नराखी खनिएको छ । यसरी अव्यवस्थितरुपमा अन्धाधुन्ध नाली खनिँदा हिँड्डुलमा समस्या भइरहेको छ । यसरी खन्नुको अर्काे विकल्प थिएन होला त ? सडक दायाँबायाँका नाली निर्माण गर्नु राम्रो काम भए पनि अव्यवस्थित र भद्रगोल तरिकाले नाली निर्माण गर्दा सर्वसाधारणहरुलाई सास्ती भएको छ । ‘पहिला एकातिरबाट नाली निर्माण गर्दा एकतर्फ आवातजावत र सवारी साधन सञ्चालनमा सजिलो हुन्थ्यो,’ स्थानीय सुरज बैगारले भने, ‘तर, यहाँ त छिटो सक्ने नाममा जनतालाई सास्ती दिने गरी जताभाजी खनिएको छ ।’

एकैपटक दुवैतर्फ खन्दा यहाँका व्यवसायीसमेत मारमा परेका छन् । अटो व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका उनी लामो समय सडक अवरुद्ध हुँदा व्यवसाय सञ्चालन नै गर्न नपाएको गुनासो गर्छन् । अस्पताल क्षेत्र रहेको यस क्षेत्रमा लामो समय सडक अव्यवस्थित बनाउँदा बिरामीहरुले समेत सास्ती व्यहोर्नु परेको छ । एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी साधनसमेत हिँड्ने बाटो नभएकाले छिटो व्यवस्थापन गर्नुपर्ने बताउँछन्, यस क्षेत्रमा व्यवसाय गर्दै आएका अशोक शाही । उनका अनुसार नाली निर्माणका कारण व्यवसायसमेत धरासायी बन्दै गएको छ ।

यस क्षेत्रका प्रत्येक घरका सटरैपिच्छे विभिन्न व्यवसाय सञ्चालनमा छन् । यस क्षेत्र मात्रै होइन ‘टाउन प्लानिङ’ क्षेत्रका विभिन्न स्थानमा नगर विकास समितिले नाली खनेको छ । मुख्य तथा सहायक सडक गरेर दर्जनभन्दा बढी ठाउँमा यसरी अव्यवस्थितरुपमा खनिएको छ । दीर्घकालीन विकासभन्दा पनि अल्पकालीनरुपमा नाली बनाउन विनियोजित बजेट सकाउन कै लागि हतारमा काम गरिरहेको आरोप स्थानीयको छ । धेरै ठाउँमा विद्युत्का पोलसमेत नालीको बीचमा पारेर छिटोछिटो काम ढलान गरिएको छ । अहिले ठेकेदारमार्फत धमाधम काम भइरहेको छ ।

सडक क्षेत्रमा व्यवसाय गर्ने व्यापारीहरु पनि यसको प्रत्येक्ष मारमा परेका छन् । ग्राहक आउने बाटोसमेत नहुँदा व्यापार चौपट भएको यहाँका व्यवसायीहरु बताउँछन् । ‘पसलमा आउने बाटो हुँदैन । अव्यवस्थितरुपमा नाली खन्दा ग्राहक पसलमा आउनै सक्दैनन्,’ एक पसलेले भने, ‘कहिले नाली निर्माण भइसक्ला भन्ने भएको छुँ । पसल खुला गर्ने मात्र हुन्छ । ग्राहक आउने ठाउँ नहुँदा व्यापार नै हुँदैन ।’

आर्थिक वर्ष २०७८/०७९ का दुई फरक शीर्षकका योजनाअन्तर्गत टाउन प्लानिङ क्षेत्रमा नाली निर्माण कार्य भइरहेको छ । दुवै योजनाको काम भने एउटै निर्माण व्यवसायीले जिम्मा पाएको छ । मर्मत तथा नाली निर्माण कार्य र कोहलपुर नगर विकास समितिको दोस्रो फेजको नाली मर्मत शीर्षकमा योजनामा विनियोजित बजेटमा काम भइरहेको हो । नाली निर्माणको जिम्मा भने ड्रागन सिधिगढी जेभी कोटेश्वर–३५ काठमाडौंले पाएको छ ।

मर्मत तथा नाली निर्माण कार्यका लागि कम्पनीले भ्याटसहित पाँच करोड ४५ लाख ९९ हजार पाँच सय ३५ रुपैयाँ ४४ पैसा लागतमा काम गरिरहेको छ । यो योजनाअनुसार नगर क्षेत्रमा पुराना मर्मत तथा नयाँ पक्की नाली निर्माण भइरहेको नगर विकास समितिका इन्जिनियर विराज अर्याल बताउँछन् । उक्त योजनाका लागि नगर विकास र निर्माण व्यवसायीबीच २०७८ मंसीर १२ गते सम्झौता भएको थियो । सम्झौता अवधि २०७९ असार ३० सम्म भए पनि बीचमा निर्माण कार्य सुरु नै हुन सकेन । इन्जिनियर अर्याल विविध कारणले सम्झौताअनुसार काम नभएको र अहिले नियमअनुसार म्याद बढाएको र निरन्तर काम भइरहेको बताउँछन् ।

कोहलपुरमा विगत दुई महिनायता विभिन्न क्षेत्रमा नाली निर्माण कार्य भइरहेको छ । यही गएको असारमा असोज ६ गतेसम्म म्याद थपिए पनि काम सम्पन्न नभएका कारण फेरि फागुनसम्म म्याद थपेर निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको हो । यस्तै कोहलपुर नगर विकास समितिको दोस्रो फेजको नाली मर्मत शीर्षकमा काम भइरहेको छ । तीन भ्याटसहित करोड ९६ लाख १२ हजार दुई सय ९९ रुपैयाँ नौ पैसा योजनाको लागत छ । यसका लागि पनि २०७८ माघ २६ गते दुवै पक्षबीच सम्झौता भएको थियो । सम्झौता अवधि २०७९ भदौ २७ गतेसम्म काम हुन सकेन । इन्जिनियर अर्याल फेरि फागुन समान्तसम्म म्याद थप गरेर काम भइरहेको बताउँछन् ।

कम्पनीका सम्पर्क व्यक्ति देवराज पाण्डेले भने गत भदौ महिनादेखि काम सुरु भएको बताए । अहिलेसम्म दुवै योजनाको ६५ प्रतिशत काम सम्पन्न भइरहेको उनले बताए । सम्झौताको म्याद सकिए पनि ढिलो गरी काम सुरु गरेका उनी भन्छन्, ‘सम्झौता लगत्तै कोभिडले काम हुन सकेन । बीचमा स्थानीय तहको चुनाव भयो । काम सुरु गर्ने तयारी भएको बेला अविरल वर्षाका कारण काम गर्नै पाइएन । त्यसपछि दसैं र तिहार भइहाल्यो ।’

फागुन मसान्तसम्म काम सक्ने लक्ष्यसहित दैनिक ७० देखि ८० जना कामदार लगाएर काम गरिरहेको पाण्डेको भनाइ छ । अहिलेसम्म म्याक्स होटल क्षेत्र, इलाका कार्यालय पडाडि र बसपार्क क्षेत्रमा निर्माण सम्पन्न हुने चरणमा रहेको उनले बताए । पाण्डेले दशविगाहा क्षेत्रमा पनि सडकको एकातर्फ नाली निर्माण कार्य सम्पन्न भइसकेको र अर्कोपट्टि केही दिनमा सुरु हुने बताए । नाली आवश्यकताअनुसार ६० देखि १२० सेन्टीमीटरसम्म निर्माण गरिएको छ । नाली निर्माण सम्पन्न भएसँगै प्लानिङ फराकिलो र सुन्दर हुने विश्वास नगर विकास समितिको छ ।

प्रकाशित मितिः बुधबार, पुस १३, २०७९     4:14:13 PM  |