18 September 2024  |   बुधबार, अशोज २, २०८१

कर्णालीमा मनाइयो छोरा तिहार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस ११, २०७९  

बाँके ।

भाइ तिहार सकिएको दुई महिनापछि आइतबार कर्णालीबासीले छोरा तिहार मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशको जुम्ला, डोल्पालगायतका जिल्लामा धुमधामका साथ मनाइएको हो । यस दिन बिहानै आमा र छोरा दुबैले नुहाइधुवाई गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ ।

भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा फुलको माला लगाइदिएर सगुनको रुपमा घरमा बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारहरु खुवाउने प्रचलन छ । टीका लगाइसकेपछि छोरालाई सुख, शान्ति, दीर्घायु र प्रगतीको कामना गर्दै आशिर्वाद दिइन्छ । छोराले पनि आमाको हातबाट टीका र आशिर्वादपछि दक्षिणाको रुपमा सक्दो पैसा, धोतीचोलीजस्ता कोशेली दिएर गोडामा ढोक्ने चलन छ ।

जिल्ला बाहिर रहेका छोराहरु पनि आमाको हातबाट टीका थाप्न आजको दिन जसरी पनि घर पुग्ने गर्छन् । काम विशेषले घर पुग्न नसक्ने छोराहरुले फोनलगायतका माध्यमबाट आशिर्वाद लिने र आमाले छोराका लागि बनाएको कोशेली छुट्याएर राखिदिने गरिन्छ ।

छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुषहरु जम्मा भई प्रत्येक घर तथा गाँउबस्तीहरुमा पुगेर भाइटीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन छ । यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा, बाटोलगायत सार्वजनिक सम्पदा मर्मत सम्भार गरिन्छ भने बचेको रकमबाट (पाठीभात) वनभोज जाने गरिन्छ ।

महिलाहरुले पनि सार्वजनिक स्थलहरुमा भेला भएर चुट्कीला देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिर व्यथा साटासाट गरेका थिए । यस तिहारमा आमा नहुनेहरुले भने स्थानीय मठ मन्दिरमा गएर पुजारीको हातबाट टीका अक्षता लगाएर मनाउने गर्छन् ।

प्रकाशित मितिः सोमवार, पुस ११, २०७९     9:18:34 AM  |