16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

विश्व च्याम्पियान : ‘गोट’ एण्ड ‘प्रोटागोनिस्ट’ मेसी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस ५, २०७९  

मैले जीवनमा सबै भन्दा धेरै प्रतिक्षा गरिरहेको समय थियो, ३ पुष २०७९ को राती ८ः४५ बजे । एक फुटबल प्रेमी अझ लियोनल मेसीको फ्यान हुनुका नाताले यो स्वभाविकै थियो । किन भने मेसीको कप्तानीमा रहेको अर्जेन्टिना साविक विजेता फ्रान्ससँग फाइनल खेल खेल्दै थियो । मेरो स्पष्ट समर्थन मेसीलाई थियो । उनले जितुन् भन्ने मेरो एकमात्र चाहना पनि । त्यसैले अघिल्लो दिनदेखि नै फाइनल म्याज प्रोजेक्टरबाट हेर्ने निधो गरियो । त्यसको लागि स्थान बिहानैदेखि निश्चित भइसकेको थियो । म भने आफ्नो नियमित ड्युटी भन्दा सबेरै ६ः३० बजेतिर घर गए । फाइनल म्याच गर्ने ठाउँमा पुग्दा रातीको ८ बजीसकेको थियो, समय सकिन के बेर त्यो, ८: ४५ आइहाल्यो । वास्तवमा नेपाली समयअनुसार आइतबार राति पौने ९ देखि करिब साढे ११ बजेसम्मको समय निकै सकसपूर्ण थियो, मेरा लागि । म जस्तै संसारभरका करिब डेढ अर्ब मानिसले काँचको पर्दामा जे हेरे, त्यो फगत ‘फुटबल’ थिएन । तथापि त्यो फुटबल नै थियो ।


मैले फुटबललाई बढी पछ्याउन थालेको सन २०१८ देखि हो । यसपटक अधिकांश खेल हेरे । फुटबल मलाई मन पर्ने खेल हो । निर्विवाद रुपमा मलाई सबैभन्दा धेरै मनपर्ने खेलाडी मेसी नै हुन् । मेसीको फ्यान हुनुमा गर्व छ । हिजोबाट झन उनीप्रतिको सम्मान थपिएको छ । मेसी फुटबलका जादुगर हुन् भन्ने कुरामा कुै शंका नै छैन । फुटबल जस्तो प्रत्याक्रमण गरेर खेल्ने खेलमा उनी यदी शालिन रुपमा फुटबल खेल्छन् । उनको सबैभन्दा बलियो पक्ष नै यही हो । खेल कौशल मात्रै होइन शालिनता उनको सबैभन्दा ठूलो शक्ति हो ।

अब खेलको कुरा हो । फाइनल खेलको आधाभन्दा बढी हिस्सा एकपक्षीय थियो जहाँ अर्जेन्टिना एकपक्षीय रुपमा हाबी रहयो । उता फ्रान्सेली खेलाडीहरू बलको खोजीमा अन्धाधुन्द भौतारिए झैं देखिन्थे । दोस्रो हाफको पनि ३० मिनेटसम्म फ्रान्स रक्षात्मक नै रहयो । यस्तो लाग्थ्यो, फ्रान्सले सुरुदेखि नै हार स्वीकार गरिसकेको छ, त्यो पनि मेसीका लागि । हामी पनि जित्नेमा ढुक्क थियौ । खुसीको सीमा नै थिएन, मात्र १० मिनेटको पखाईमा थियौ ।

लेखक :  अछुत कोपिला
तर, खेलको अन्त्यतिर आएर फ्रान्सका किलियन एम्बाप्पे डरलाग्दो रुपमा प्रस्तुत भए । अप्रत्यासित रुपमा फ्रान्सलाई कमब्याक गराइदिए । उनले ८० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरे । एकाएक हाम्रा आशामा निरासा थपियो । उनले पेलान्टीमार्फत गोल गरेको ९० सेकेन्डपछि भयानक गोल गरे । जुन मेरो नै निकै दुःखदायी गोल थियो । उनले गोल गरेको हेर्ने सकिन्छ । शिरमा भएकोले टोपीले मुख छोपे । भुइँमा सुते म । किन भने मेरा लागि यो निकै भयानक क्षण थियो । मेरो सपना र चाहनामाथिको हमला थियो । लगभग जितिसकेको खेलमा हाम्रो लागि खलनायक बन्ने पुगे उनी ।

खेल सकिनै लाग्दा एम्बाप्पेको दुई गोल खेलमा नयाँ ट्वीष्ट आयो । पछि उनको खुट्टामा बल प¥यो कि डर लाग्न थाल्यो । फ्रान्सेली टीमको मनोबल बढ्यो भने अर्जेन्टिनी खेलाडीहरू आत्तिन थाले । हामी पनि धेरै आत्तियौ ।


९० मिनेटको खेल बराबरीमा सकियो । थपियो ३० मिनेट । त्यसपछि थपिएको अतिरिक्त ३० मिनेट कुनै हरर फिल्मभन्दा कम भएन । १०८ औं मिनेटमा प्यारा मेसीले गोल गरे । ‘अब चाहिँ जितियो’ भन्दै अर्जेन्टिनी समर्थक खुशीमा झुमे । (म पनि एकछिन साथीहरुसँग खुबै उर्फिए, नाँचे) । दुर्भाग्य, त्यो खुसी पनि धेरैबेर टिकेन । फ्रान्सले दोस्रोपटक पेनाल्टी पायो । उनै एम्बापेले हाने । उनले तेस्रो गोल गरे । ह्याट्रिक पनि पुरा गरेँ । पेनाल्टीमार्फत अर्जेन्टिना विश्वविजेता बन्यो । एक महिनादेखिको मेरो सपना पूरा भयो । खुसीले नाँच्यौ । करायौँ, भन्यौ, ’किङ मेसी, अर्जेन्टिना हाइहाई, आइ लभ यू मेसी ।’ कम्तीमा लियोनल मेसी एकपटक विश्वकप उपाधि डिजर्भ गर्थे । मेस्सीप्रतिको व्यक्तिगत सहानुभूतिले गर्दा नै हिजोको फाइनलमा संसारका अधिकतम मानिसहरूको समर्थन अर्जेन्टिनालाई थियो । जुन पुरा भयो ।यो यस्तो सपना थियो, जुन मेरा लागि धेरै असफलतापछि पूरा भएको थियो । सम्बत मेसीका लागि पनि सेम । किन भने उनले एक खेलाडीले खेल जीवनमा प्राप्त गर्ने सबै खाले उपाधि जितिसकेका थिए । बाँकी थियो, विश्वकप ट्रफी उचाल्ने ।

हरेक मानिसका आ–आफ्नै चाहना हुन्छन् । ती हुन्,दीर्घकालीन् र अल्पकालीन । कतिपय चाहना पुरा हुन्छन् । कतिपय चाहना पुरा हुँदैनन् । मेरो हकमा पनि त्यस्तै भयो,पछिल्ला आठ महिनामा । स्थानीय तहको चुनावमा बालेन शाहले जित्ने मेरो आशा थियो, पुरा भयो । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा मैले मेरो गृहजिल्ला जुम्ला र कर्मथलो बाँकेमा समर्थन गरेर जितेको हेर्न चाहेका उम्मेदवारले जित्न सकेनन् । भ्वाइस अफ नेपालमा मैले समर्थन गरेका आशिष महर सेमीफाइनबाट आउट भएको भोलीपल्ट मात्रै सम्भव भएको हो, यो जीत । यो जीतले म व्यक्तिगत रुपमा निकै रोमाञ्चित भएको छु । सायद विश्वभर मेसीले विश्वकप जित्छन् भन्ने चाहना राख्नेहरुको थियो । मेसीले कतार विश्वकपमा विश्वकप ट्रफी मात्रै उचालेनन् । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । गोल्डेन बल प्राप्त गरे ।

मेसी इज ‘गोट’ एण्ड ‘प्रोटागोनिस्ट’

अब विश्वले सहर्ष स्वीकार्ने छ, मेसी इज ‘गोट’ एण्ड ‘प्रोटागोनिस्ट’ । जी ओ ए टी अर्थात् गोटको अर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ । सगौरव सर्वकालीन महान् खेलाडी बनेका छन्,मेसी ।
साहित्यमा एउटा शब्द खुबै प्रयोग हुन्छ, त्यो हो, ‘प्रोटागोनिस्ट’ । यो कथामा हुन्छ । अझ यसको बाक्लो रूप उपन्यासमा देख्न सकिन्छ । अझ नाटक,अनि सिनेमामा एक यस्तो पात्र हुने गर्छ, जसको वरिपरि अन्य सबै पात्र घुम्ने गर्छन् । नयकका रुपमा । नायक भन्दा माथिल्लो दर्जामा । यसैलाई भनिन्छ– ‘प्रोटागोनिस्ट’ । कथा, उपन्यास, नाटक र सिनेकामा मुख्य पात्र नायक पनि हुन सक्छन् । प्रोटागोनिस्ट त नायकभन्दा पनि ठूलो । फेरि प्रोटागोनिस्ट प्रायः सकारात्मक पात्रै हुने गर्छ । यही पात्रले पूरै घटनाक्रमलाई दोहो¥याउने गर्छ । उनकै अघि–पछि जोडिन्छन् घटना । । कतार विश्वकपमा यस्ता धेरै कुरा जोडिएका छन् । उनी कतार विश्वकपबाट नायक भन्दा पनि माथि ‘प्रोटागोनिस्ट’ भएका छन् । उनी कतार विश्वकप अवधिभर विश्वको हेडलाइन नै बनेका थिए । उनले आफ्नो देश अर्जेन्टिनाका लागि विश्वकप मात्र जिताएनन् । अर्जेन्जिनी लेजेण्ड डियागो म्यारोडोनापछि विश्व च्याम्पियन भएका छन् ।


उनी विश्व विजेता मात्र छन् । एउटा सपना साकार भयो । कतार विश्वकपको समापनसँगै यस्तै धेरै कुरा भएका छन् । त्यो मध्ये सबैभन्दा ठूलो सत्य भनेको सुपरस्टार खेलाडी लियोनल मेसीले विश्वकप उपाधी जितेका छन् । यो सँगै कतार विश्वकपको सर्वाधिक सुनौलो समापन भएको छ । यो स्वयम् मेसीका लागि जीवनकै सबैभन्दा ठूलो उपाधी र उपलब्धि त हो नै । विश्वभरका मेसीका फ्यानहरुका लागि खुसीको एक अदभूत क्षण हो । जसले कपार विश्वकप सुरु भएदेखि नै मेसीले विश्वकपको ट्रफी उचालेको देख्न कामना गरिरहे । भगवानसँग । सल्लाहसँग । त्यो एक सपना साकार भएको छ । अन्नत मेसी सर्वकालनीन महान खेलाडी होइनन् भन्ने प्रश्नको उत्तर सकिएको छ । र मेसी विश्व फुटबलमा सर्वकालनीन महान खेलाडीका रुपमा दरिएका छन् । पेले र म्यारोडोना पछि अब कोही खेलाडी महान, सर्वकालीन र महानायक हो भने ती, मेसी नै हुन् ।

प्रोटागोनिस्ट प्रायः भावनात्मक पनि हुने गर्छ । पूरै कथा, उपन्यास, नाटक र सिनेमा हेरेपछि प्रोटागोनिस्ट को हो, छुट्याउन गाह्रो हुन्न । मूल कुरो त्यसका लागि अन्त्य भने कुर्नुपर्छ । हामीले जुन विश्वकपको कुरा अहिले गरिरहेका छौ । त्यसमा प्रोटागोनिस्ट भइसके । अर्जेन्टिनाले विश्वकप जितेको छ । मेसी यसका प्रमुख हकदार हुन् ।

मेसी : सुरुदेखि कतार विश्वकपसम्म
उनको पूरा नाम लियोनेल आन्द्रेस मेसी हो । उनको जन्म २४ जुन, १९८७ मा रोसारियो, अर्जेन्टिनामा जर्ज मेसी (एक कारखाना मजदुर) र सीलिया (उर्फ कुक्कीटिनी) (एक अंशकालिक क्लीनर) दम्पतीको घरमा भएको थियो । सन् १९९५ मा मेसी आफ्नो गृहनगर रोसारियोमा अवस्थित न्युवेल ओल्ड ब्वाइज क्लबको लागि खेल्न शुरू गरे । जतिबेला उनी जम्मा ११ वर्षको थिए । मेसीले सन् १६ नोभेम्बर, २००३ मा (१६ वर्ष र १४५ दिनको उमेरमा) पोर्टो बिरुद्ध एक मैत्रीपूर्ण खेलबाट आफ्नो पहिलो क्लबको लागि आफ्नो खेल जीवनको औपचारिक शुरूवात गरे ।

त्यसको एक वर्षभन्दा पनि कम समयमा नै सन् २०१६ अक्टोबर, २००४ मा (१७ वर्ष र ११४ दिनको उमेरमा) फ्रान्क रिजकार्डले उनलाई इस्पेन्योल बिरुद्धको खेलबाट आफ्नो पहिलो लिग खेल शुरूवात गर्ने मौका दिए र उनी त्यस समयसम्ममा बार्सिलोनाको लागि खेल्न तेस्रो सबैभन्दा कम उमेरको खेलाडी बने । ला लिगामा गोल गर्ने सबैभन्दा युवा क्लब खेलाडी बने
जब उनले सन् १ मे, २००५ मा अल्बासेट बोलाम्पिको बिरुद्ध क्लबको लागि आफ्नो पहिलो सिनियर गोल गरे तब मेसी १७ वर्ष, १० महिना र ७ दिनको उमेरका थिए र उनी बार्सिलोनाको लागि ला लिगा खेलमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बने ।


मेस्सीले सन् २००५ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हुन्। सन् २००८ मा अर्जेन्टिनाले ओलम्पिक फुटबलमा स्वर्ण पदक जित्दा मेस्सी टोलीको प्रमुख सदस्य थिए । सन् २०१४ मा मेस्सीको कप्तानीमा अर्जेन्टिना विश्वकप फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा जर्मनीसँग पराजित भएको थियो । गत वर्ष ब्राजिलमा आयोजित कोपा अमेरिका जितेर उनले अर्जेन्टिनाका लागि सिनियर अन्तर्राष्ट्रिय उपाधि जित्ने धोको पुरा गरे ।

अर्जेन्टिना विजेता बनेसँगै मेस्सीले यो विश्वकपमार्फत थुप्रै विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनी विश्वकप इतिहासमा दुईपटक सर्वोत्कृष्ट खेलाडी अवार्ड हात पार्ने पहिलो खेलाडी बनेका छन । यसअघि उनले सन् २०१४ मा पनि गोल्डेन बल प्राप्त गरेका थिए । यस्तै एउटै विश्वकपका हरेक चरणमा गोल गर्ने कीर्तिमान पनि मेस्सीको नाममा बनेको छ । समूहगत चरणमा दुई गोल गरेका मेस्सीले प्रिक्वाटरफाइनल, क्वाटरफाइनल र सेमिफाइनलमा एक एक गोल गरेका थिए। फाइनलमा आइतबार राती उनले दुई गोल गरे ।

 

उनी एकै विश्वकप र समग्र विश्वकप इतिहासमा सर्वाधिक प्लेयर अफ दी म्याच हुने खेलाडी पनि बनेका छन् । उनी कतार विश्वकपमा ५ पटकसहित समग्रमा ११ औँ पटक प्लेयर अफ दी म्याच भए । उनीपछि विश्वकप इतिहासमा सर्वाधिक प्लेयर अफ दी म्याच हुने कीर्तिमान ७ पटकसहित क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन्। मेस्सीले लगातार पाँच वटा विश्वकपमा गोल असिस्ट, सर्वाधिक गोलअसिस्टसहित एक दर्जनभन्दा बढी विश्वकपका कीर्तिमानहरू आफ्नो नाममा लेखाएका छन्। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी पनि बनेका छन्। उनको नाममा १३ गोल रह्यो।

३५ वर्षीय मेसीले यसअघि क्लब फुटबलमा ११ पटक घरेलु लिग, चारपटक च्याम्पियन्स लिग र तीनपटक फिफा क्लब विश्वकप जितेका थिए। सन् २००९ देखि २०१२ सम्म लगातार चार वर्ष उनले फिफा वर्ष फुटबलर अवार्ड जिते । उनी लगातार सर्वाधिक यो अवार्ड हात पार्ने खेलाडी हुन् । ६ पटक युरोपियन गोल्डेन बुट प्राप्त गरेका मेसी अर्जेन्टिनाका १४ पटकका वर्ष फुटबलर पनि हुन् । बधाइ छ,लियो मेसी ।

प्रकाशित मितिः मङ्लबार, पुस ५, २०७९     1:42:10 PM  |