12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

जमुनाहा–राँझा सडकमा अस्फाल्ट ओभर लेः स्टीमेटमै घटाइयो सडकको चौडाइ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस २, २०७९  

नेपालगन्जको गणेशमान चोकदेखि जमुनाहसम्म ओभर ले गरिएको चौडाइ पहिले पिच भएको चौडाइभन्दा कम छ । सडकको दुवैतिर आधाआधा मिटरभन्दा बढी सडक खाली छोडिएको छ । साइकलहरु चल्ने लेन अब अस्फाल्ट सडकभन्दा बाहिर परेको छ । यसले सडक पहिलेभन्दा साँघुरो हुने देखिएको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्जको जमुनाहादेखि कोहलपुरसम्मको सडक चौडा त बनाइयो । तर, उबडखाबडपूर्ण पिचका कारण सडकमा यात्रा सुविधाजनक छैन । ठाउँठाउँमा खाल्डा परेर पनि सडकमा यात्रा जोखिमपूर्ण बनेको छ ।

यही अवस्थालाई मध्यनजर गरेर मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका बेला जमुनाहादेखि राँझासम्मको सडक खण्डमा ‘अस्फाल्ट ओभर ले’ योजना तय गरियो । उक्त योजनाअन्तर्गत अहिले धमाधम ‘अस्फाल्ट ओभर ले’ गर्ने काम भइरहेको छ । ओभर ले पछि सडक चिल्लो र सुविधायुक्त बनेको छ । तर, ओभर ले पछि सडकको अधिकांश खण्डको चौडाइ भने पहिलेको पक्की चौडाइभन्दा घटेको छ ।

नेपालगन्जको गणेशमान चोकदेखि जमुनाहसम्म ओभर ले गरिएको चौडाइ पहिले पिच भएको चौडाइभन्दा कम छ । सडकको दुवैतिर आधाआधा मिटरभन्दा बढी सडक खाली छोडिएको छ । साइकलहरु चल्ने लेन अब अस्फाल्ट सडकभन्दा बाहिर परेको छ । यसले सडक पहिलेभन्दा साँघुरो हुने देखिएको छ ।

सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनी रौताहा खड्का जेभीका सञ्चालक टेकबहादुर खड्काले स्टीमेटमै नौ मिटर मात्रै चौडाइको ओभर ले गर्ने तोकिएकाले सोहीअनुसार काम भएको बताए । ‘हामीले त स्टीमेटमा जति भनेको छ त्यति मात्रै गर्ने हो । स्टीमेटमा त्यति नै ओभर ले गर्ने भनिएकाले हामीले त्यहीअनुसार काम गरेका छौँ,’ खड्काले भने ।

सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी इञ्जिनियर जनक धामी पनि पहिले साढे नौ-नौ मिटर दायाँबायाँ पिच रहेकोमा अहिले नौ-नौ मिटर मात्रै ओभर ले गरिएको बताउँछन् । अहिलेको ओभर ले दुई किसिमको चौडाइमा गर्ने स्टीमेट रहेको उनले बताए । नेपालगन्जको मुख्य बजार क्षेत्रअर्थात् गणेशमान चोकदेखि राँझासम्म ११-११ मिटर र बाँकी क्षेत्रमा नौ-नौ मिटर मात्रै ओभर ले गर्ने स्टीमेट रहेको उनले जानकारी दिए ।

यसरी स्टीमेट नै कम चौडाइको ओभर ले गर्नेगरी बनाइँदा सडक साँघुरो हुन गएको छ । नेपालगन्जमा दिनप्रतिदिन सवारी साधनहरुको चाप बढिरहेको अवस्थामा अहिलेको सडकलाई चौडा बनाउनुपर्ने माग उठिरहेकोमा त्यसको उल्टो काम भएको छ । सडकको धेरै साइकल चल्नसक्ने खण्ड पिचभन्दा बाहिर परेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले उक्त योजनाको अवस्थाबारे अनुगमन गरेर रायसल्लाह दिनसक्ने अधिकार स्थानीय तहसँग रहेकोले के भएको हो भन्नेबारे प्राविधिकहरुलाई बुझ्न लगाउने बताउँछन् । उपमहानगरपालिकाका इञ्जिनियरहरुबाट अवलोकन गराएर यथार्थ बुझ्ने उनले बताए ।

रौताहा खड्का जेभीका सञ्चालक खड्काका अनुसार अस्फाल्ट ओभर ले का लागि अहिलेसम्मको मौसम उपयुक्त थियो । त्यस कारण द्रुतगतिमा काम भएको छ । अब शीतलहर सुरु भएपछि कामको गति केही प्रभावित हुनसक्ने उनले बताए । अस्फाल्ट बिछ्याउन शीतलहर नचलेको सुख्खा मौसम उपयुक्त हुने उनको भनाइ छ । शीतलहरकै कारण बुधबार उक्त योजनाको काम रोक्नुपरेको उनले जानकारी दिए । २४ करोड ६१ लाख तीन हजार ६ सय ६५ बढी रकममा एक वर्षभित्र निर्माण सक्नेगरी सम्झौता गरिएको छ ।

प्रकाशित मितिः शनिबार, पुस २, २०७९     9:08:23 AM  |