7 September 2024  |   शनिबार, भदौ २२, २०८१

बाँके र बर्दिया कर्णाली गाभिने विषय पुनः चर्चामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर २०, २०७९  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

तत्कालीन नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख हुँदा डा. धवलशमशेर राणाले प्राथमिकताका साथ उठाएको मुद्दा हो, ‘बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुपर्ने ।’ बाँके र बर्दियालाई कर्णालीमा गाभ्न उनले ठूलो मिहिनत गरे तर उक्त प्रयासले सफलता पाउन सकेन । बाँके क्षेत्र नम्बर २ बाट भारी मतले निर्वाचित उनै राणा अहिले संघीय संसद्मा प्रवेश गर्दैछन् ।

उनको संसद् प्रवेशपछि यो मुद्दा के पुनः बल्झिएला ? अहिले चर्चाको विषय बनेको छ । यही चर्चालाई थप प्रोत्साहन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवम् जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले प्रतिक्रिया दिएका छन् । उनको प्रतिक्रियापछि यो विषय पुनः बहसमा आएको छ । यस विषयमा उनले यस्तो प्रतिक्रिया जनाए, ‘जुम्ला, कोहलपुर र नेपालगन्ज एकअर्काका परिपुरक हुन् । आज यी क्षेत्रलाई छुट्याइएको छ । यिनलाई लुम्बिनीमा राखिएको छ । के यसले विकास गर्न सक्छ ? के हिमाल भित्री मधेस र तराई जोडिएको छ ? जोडिएको छैन ।’

शुक्रबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कोहलपुर बाँकेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधिसभा शाहीले भने, ‘हाम्रो पार्टी र हामी चाहन्छौँ, यसलाई एउटै प्रदेश बनाउनुपर्छ तलदेखि माथिसम्म ।’ शाहीले व्यंग्य गर्दै थपे, ‘आज बाँके–बर्दियाको मान्छे बुटवल जानुपर्ने रे । ल हेर्नुहोस् त यो । काहिँ नभएको जात्रा हाडी गाउँमा । के को लागि गरेछन् भनेको त, यसो नेता हेर्दा रहे छन् । बर्दियामा बामदेव जस्ता नेता छन् । यो क्षेत्र सँगै राख्यो भने हामी नेता हुन पाउँदैनौँ भनेर प्रदेश छुट्याइदिने रे,’ उनले भने ।

उक्त अवसरमा उनले देशको शासकीय संरचना माथि नै प्रश्न उठाए । राज्य संरचना गर्दा बाँके र बर्दियालाई अलग बनाइएको भन्दै कर्णालीसँग गाभ्न पहल थाल्नुपर्ने उनको भनाइ छ । यो विषयमा राप्रपाका महामन्त्रीसमेत रहेको राणा र प्रवक्ताको जिम्मेवारी पाएका शाही एकमत छन् । उनी दुवैजना संसद्मा प्रवेश गर्दैछन् । यो विषय संसद्मै प्रवेश गराउने बताइएको छ ।

बाँके र बर्दियालाई कर्णालीमा गाभ्न राणाले पहिला एक्लै बहस चलाएका थिए । उनको संयोजकत्वमा १७ सदस्यीय समन्वय समिति पनि गठन भएको थियो । यो बहसलाई मधेस केन्द्रित दल, थारु र मुस्लिम समुदायले भने विरोध जनाएका थिए । त्यतिबेला राणाले भनेका थिए,‘यो एउटा लामो लडाइँ हो । तीन महिना पनि हुन सक्छ, १३ वर्ष पनि लाग्न सक्छ । तर, हामी निरन्तर यो अभियानका लागि सक्रिय रहन्छौँ । बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गर्न अभियान पूरा नभएसम्म निरन्तर लाग्छौं ।’

‘विश्वको इतिहास हेर्ने हो भने जनचाहनाबमोजिमै प्रदेश बनेका छन्,’ उनी भन्छन्, ‘जनचाहनाले संविधान, व्यवस्थापिकालगायत परिवर्तन गर्नसक्छ भने कर्णाली प्रदेशसँग हामी जानु असम्भव भन्ने छैन ।’

उनको अभियानमा बाँकेमा मूल पार्टी र नागरिक समाजले पनि स्वीकार गरेको थियो । बाँके र बर्दिया त्यतिबेला बुटवललाई राजधानी मान्न तयार थिएनन् । बरु दुवै जिल्ला कर्णालीमा मिसिन राजी थिए । २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरीलाई बनाउने निर्णयसँगै यो बहस रोकिएको थियो ।

पार्टी र संसद्मा विषय प्रवेश हुन्छ
डा.धवलशमशेर राणा
नवनिर्वाचित सांसद तथा महामन्त्री राप्रपा

बाँके बर्दियालाई कर्णालीमा गाभ्ने विषय राप्रपाका प्रवक्ताले उठाउनु भयो, यसमा तपाईंको धारणा के छ ?

अत्यन्तै उत्तम विषय निस्कियो । बाँके र बर्दियालाई कर्णालीमा लैजाने विषयमा विगतमा मैले उठाएको थिएँ । हाम्रो पार्टीको प्रवक्ताज्यूले भन्नु भएछ । तर यसमा के छ भने, अहिले हामी कोही व्यक्तिले मात्रै बोलेर हुँदैन ।

यो विषयमा हाम्रो पार्टी र अन्य पार्टीबाट पनि उठ्नुपर्छ । तर विषय चाहिँ अति उत्तम निस्कियो । यो कर्णालीलाई पनि फाइदा र बाँके बर्दियालाई पनि फाइदा हुने विषय हो ।

यो तपाईँले विगतमा उठाउँदै आएको विषय पनि हो, संयोग अहिले दुवैजना सांसद हुनुहुन्छ । यो विषय अब संसद्मा पनि उठ्छ ?

हामी चाहिँ बाँके बर्दियालाई कर्णालीमा गाभ्ने विषय संसदम लैजान्छौँ । यो विषयमा अरु माननीयहरुसँग पनि सल्लाह गर्नुपर्छ । यो विषयमा कर्णालीका माननीयहरुसँग छलफल गर्छुँ ।

पार्टीभित्र पनि छलफल गर्नुहुन्छ यो विषयमा ?

अवश्य हाम्रो पार्टीमा छलफल हुन्छ । अन्य पार्टीसँग पनि छलफल गर्छौँ ।

यो बहस फेरि तपाईँको प्राथमिकतामा छ त्यसो भए ?

हो, हो ।

कर्णालीमा गाभिनु उपयुक्त
लक्ष्मणराज पौडेल
अध्यक्ष, कोहलपुर उद्योग वाणिज्य संघ

कर्णाली क्षेत्र उत्पादनका दृष्टिले अघि छ । त्यहाँका उत्पादनको भण्डारणको क्षेत्र बाँके र बर्दिया बन्न सक्छन् । यहाँका उत्पादनसमेत कर्णाली क्षेत्रमा पु¥याउन सकिन्छ । त्यसैले व्यावसायिक दृष्टिले बाँके र बर्दिया कर्णालीमा गाभ्न आवश्यक छ ।

खासगरी बाँके र कर्णालीका हिमाली जिल्लाका उत्पादन बिक्रीवितरणको प्रमुख थलो यो क्षेत्र बन्न सक्छ । पर्यटन क्षेत्र जोड्ने मार्गको पनि सम्भावना छ । अहिले हामी लुम्बिनीमा हुँदा प्रदेशको पुछारमा छौँ ।

प्रदेशका अन्य जिल्लासँग व्यावसायिक तथा पर्यटकीय क्षेत्र जोड्ने सम्भावना खास्सै देखिँदैन । हरेक हिसाबले बाँके र बर्दियालाई कर्णालीमा गाभ्दा उपयुक्त हुन्छ । यतिमात्रै होइन हिजो हामी एउटै क्षेत्रमा थियौ ।

बसाइँसराइ, उपचार, शिक्षाका लागि उताका मानिसहरु यता आउँछन् । हाल अलग गरिएका दुवै क्षेत्रसँग हाम्रो रीति संस्कृति मात्रै होइन विवाहवारी र गन्तव्य एउटै छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर २०, २०७९     11:04:14 AM  |