बाँके -३ का निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान



मिसन संवाददाता,कोहलपुर

बाँके क्षेत्र नम्बर–३ बाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित तीनैजना सांसदलाई प्रमाणपत्र प्रदान गरिएको छ । एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको क्षेत्र नम्बर ३ बाट निर्वाचित तीनजनालाई प्रमाणपत्र वितरण गरिएको हो ।

बाँके ३ बाट प्रतिनिधिसभामा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरसिंह राठौर निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्रीसमेत हुन् । राठौरले नेकपा एमाले बाँकेका अध्यक्षसमेत रहेका किस्मतकुमार कक्षपतिलाई हराएर निर्वाचित भएका हुन् ।

राठौरसहित प्रदेशसभा–३ (१) बाट निर्वाचित रत्न खत्री र प्रदेशसभा–३ (२) बाट निर्वाचित बादशाह कुर्मीलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ ।  शनिबार एक कार्यक्रमका बीच निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले तीनैजनालाई प्रमाणपत्र प्रदान गरे ।

उनका अनुसार तीनैजना सांसदलाई निर्वाचित भएको औपचारिक प्रमाणपत्र प्रदान गरिएको छ । कुल एक लाख १३ हजार तीन सय २२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ७३ हजार नौ सय ८९ मत खसेको थियो, भने पाँच हजार ७७ मत बदर भएको थियो । निर्वाचनमा नौजना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ११ गते आइतबार