‘शैक्षिक सम्प्रेरण’ विमोचन



कोहलपुर : बागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्यांकन विभागद्धारा प्रकाशित वार्षिक बुलेटिन शैक्षिक सम्प्रेरण विमोचन गरिएको छ । सोमबार एक औपचारिक समारोहका बीच शैक्षिक सम्प्रेरण,२०७९, वर्ष २ अङक २ विमोचन गरिएको हो ।  दोस्रो अङकमा १९ विषय सूचि र ११६ पेज रहेका छन् । यस अङकका प्रधान सम्पादक ओमबार शर्मा हुन् । पाठ्यक्रम तथा मूल्यांकन विभाग अघिल्लो वर्षदेखि शैक्षिक सम्प्रेरण प्रकाशन सुरु गरेको थियो ।  शैक्षिक सम्प्रेरण विमोचनका लागि सम्मान कार्यक्रम समेत सम्पन्न भएको छ ।

उक्त अवसरमा शैक्षिक सम्प्रेरणको पहिलो अङकका सम्पादकीय टिम तथा क्याम्पसका पूर्व प्रमुखहरुलाई सम्मान गरिएको पाठ्यक्रम तथा मूल्यांकन विभागले जनाएको छ । विभागले पूर्व क्याम्पस प्रमुखहरु खगराज पन्त, रमेश चन्द्र अधिकारी, धुव्र कुमार अधिकारी र निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मा, पाठ्यक्रम तथा मूल्यांकन विभागका विभागीय प्रमुख एकराज शर्मा,सल्लाहकार टेकेन्द्र कुमार महातारालाई सम्मान गरेको हो ।  यस्तै शैक्षिक सम्प्रेरण पहिलो अङकका प्रधान सम्पादक धनविर परियार,सम्पादक दुर्गा बहादुर डाँगी लगायतलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

उक्त अवसरमा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दानबहादुर हमालले शिक्षा सैदान्तिक मात्रै नभएर व्यवहारिक हुनुपर्नेमा जोड दिएका थिए । उनका अनुसार पाठ्यक्रम तथा मूल्यांकन विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुद्धारा प्रकाशित शैक्षिक सम्प्रेरण स्तरीय प्रकाशन रहेको बताए । आगामी दिनमा झन उपयोगी र अनुसन्धानमुलक होस् भन्ने उनले शुभकामना दिए । उनले बागेश्वरी क्याम्पसलाई गुणस्तरीय शिक्षा आर्जन गर्ने थलोका रुपमा विकास गरिएको भन्दै शैक्षिक विकासमा सबैको हातमालो आवश्यक रहेकोमा जोड दिएका थिए । यस्तै पाठ्यक्रम तथा मूल्यांकन विभागका विभागीय प्रमुख एकराज शर्माले बागेश्वरी क्याम्पस गुणस्तरीय  शिक्षा आर्जन गर्ने थलोका रुपमा विकास भइरहेको बताए ।

युग सुहाउँदो शिक्षाका लागि विभिन्न विषयहरु थप गर्दै लगिएको भन्दै अध्ययन र अनुसन्धानलाई विशेष प्राथमिकता दिइएको  उनले बताए । राज्यका विभिन्न तहमा रहेका आफू अब्बल सावित गरेका विद्यार्थीहरुको टिमले लेखेको शैक्षिक सम्प्रेरण उत्कृष्ट रहेको शर्माले बताएका थिए ।  निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माका अनुसार  यो शैक्षिक सम्प्रेरण प्रकाशनमा आउनु प्रध्यापकहरुका लागि समेत सिकाइ र प्रेरणा हो । प्राध्यापक संघका अध्यक्ष राजकुमार चन्द्रले  आगामी दिनमा निरन्तरताको कामना गरेका थिए । उक्त अवसरमा उपप्रध्यापक टेकेन्द्र कुमार महतारा, अंक एकका प्रधान सम्पादक दुर्गाबहादुर डाँगी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा पाठ्यक्रम तथा मूल्यांकन विषय अध्ययनरत विद्यार्थी, प्रध्यापक, उपप्रध्यापक तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक ३० गते बुधबार