बजार अभावमा कुहिँदै जुम्ली स्याउ,व्यवसायी चिन्तित



शुभाकर विश्वकर्मा, कोहलपुर, २९ कात्तिक
कोहलपुरस्थित न्यूरोडमा स्याउ बिक्री गर्ने जुम्लाका इन्द्रलाल धितालले दुई हप्ता अघि ६७ क्विन्टल स्याउ मगाएर । तर उक्त स्याउले बजार नपाउँदा उनले एक क्विन्टल पनि बिक्री गर्न सकेका छैनन् । ‘दैनिकमा चार÷पाँच किलो स्याउ पनि बिक्री हुँदैन,’ उनले भने, ‘सबै स्याउ बाँकी नै छ ।’ धर्मसिंह कठायतले पनि कात्तिक ९ गते जुम्लाबाट ७० क्विन्टल स्याउ मगाएका थिए । तर आजसम्म उनले बल्लबल्ल एक क्विन्टल स्याउ मात्र बिक्री गरेका छन् । दोब्बरभन्दा कम मूल्य घटाउँदा पनि स्याउ बिक्री नभएको उनी बताउँछन् ।


नेपालगन्ज र कोहलपुरमा जुम्ली स्याउले बजार नपाउँदा व्यापारीहरुको लगानी जोखिममा परेको छ । ठूलो मात्रामा ल्याएका स्याउ कुहिने अवस्थामा पुगेका छन् । ‘स्याउ कुहिँदै गएको छ,’ इन्द्रलालले भने, ‘आम्दानी त परको कुरा, लगानीसमेत उठाउन सकिँदैन ।’ पछिल्लो समय जुम्ली स्याउले बजार नपाउँदा खरिद गरेको स्याउको लगानी जोखिममा परेको स्याउ व्यापारीहरुले बताएका छन् । ‘तीन÷चार हप्ता पहिला जुम्ली स्याउले राम्रो मूल्य पाएको थियो,’ धर्मसिंहले भने, ‘अहिले एक्कासी स्याउले बजार पाउन छाडेको छ ।’ जुम्लास्थित सिँजाका इन्द्रलाल सिजनमा कोहलपुरमा स्याउ बिक्रीका लागि पुग्छन् । उनको प्रमुख आम्दानीको स्रोत नै स्याउ हो । ‘मेरो प्रमुख आम्दानीको स्रोत यही हो । तर यसपालि स्याउले राम्रो बजार पाएन,’ उनी भन्छन्, ‘यसपालि आम्दानी त के लगानी उठाउनै हम्मेहम्मे भएको छ ।’

एक महिना अगाडि राम्रै व्यापार गरेका उनले पछिल्लो समय घाटा व्यहोरिरहेका छन् । स्याउले मूल्यसँगै बजार नपाउँदा रित्तो हात घर फर्किनु पर्ने अवस्था आएको जुम्लाबाट कोहलपुरस्थित हरियाली मार्गमा स्याउ बिक्री गर्दै आएका वीरेन्द्र डाँगीले बताए । कोहलपुरको ठाउँठाउँमा स्याउ पु¥याउँदा पनि बिक्री हुन नसकेको भन्दै उनले भने, ‘अर्गानिक स्याउले बजार पाएन भारतीय स्याउ रोजाइमा परिरहेको छ ।’ यतिबेला स्यादिलो नभए पनि उपभोक्तामा रोजाइमा भारतीय स्याउ पर्दै आएको छ ।


जुम्लाको स्याउ हेर्दा नराम्रो देखिनु र उपभोक्ताले अर्गानिक स्याउको महŒव बुझ्न नसक्नुले पनि जुम्ली स्याउलाई बजार पाउन नसकेको व्यापारीहरु बताउँछन् । ‘हाम्रो जुम्लाको स्याउको आकार हेर्दा त्यति राम्रो देखिँदैन । खाँदा स्वादिस्ट हुन्छ,’ हरिशचन्द्र विष्टले भने, ‘भारतीय स्याउ हेर्दा आकर्षक हुन्छ तर खादा स्वादिलो हुँदैन ।’ भारतीय स्याउ मिठो र ताजा नहुँदा पनि उपभोक्तामा अर्गानिक स्याउको महŒवबारे बुझाइ कमजोर हुँदा जुम्ली स्याउको माग नभएको उनी बताउँछन् । अहिले नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रमा भारतीय स्याउले बजार लिएको छ । भारतीय स्याउले जुम्ली स्याउलाई विस्थापित गरेको उनी बताउँछन् ।

यसभन्दा पहिला जुम्ली स्याउको मूल्य ८० देखि एक सय २० रूपैयाँसम्म पुगेको थियो । अहिले घटेर ४० रूपैयाँसम्म पुग्दा पनि उपभोक्ताको रोजाइमा पर्न सकेको छैन । यतिबेला भारतीय स्याउको मूल्य एक सय २० देखि एक सय ८० रूपैयाँसम्म पुगेको छ । जुम्ली स्याउको मूल्य भने निरन्तर घट्दो छ । ‘अबको दुईतीन दिनभित्र स्याउ बिक्री नभए सबै कुहिएर खेर जान सक्छ,’ धर्मसिंहले भने, ‘दुईतीन भित्रमा यति धेरै स्याउ बिक्री हुनै गाह्रो छ ।’

प्रकाशित मिति : २०७९ कात्तिक ३० गते बुधबार