निर्वाचन–२०७९- फेसबुकमा डलरे विज्ञापन : इश्तियाकको नाममा धेरै खर्च



नेपालगन्ज,
कुनैबेला पर्चा पम्पलेट, टिसर्टलगायतका सामग्री र माइकिङ चुनाव प्रचारका मुख्य साधन हुन्थे । तर अहिले समय बदलिएको छ । चुनावी प्रचार फेसबुकजस्ता इन्टरनेट सामाजिक सञ्जालमा केन्द्रित हुन थालेको छ । यो समयसँगै आएको सकारात्मक परिवर्तन पनि हो । तर यससँगै चुनावले नेपाली रकम विदेश पलायन हुने खतरा पनि देखाएको छ ।
‘फेसबुकमा चुनाव प्रचारका लागि डलरमा कसले कति रकम तिरेर कस्तो विज्ञापन ग¥यो ?’ यसको उत्तरका लागि फेसबुकको सञ्चालक कम्पनी मेटाले विज्ञापनको रेकर्ड पारदर्शीरुपमा सबैले देख्ने गरी राखेको छ । ‘फेसबुक एड लाइब्रेरी रिपोर्ट’मा कुन पेजबाट कति रकम खर्च भइरहेको प्रष्ट हेर्न सकिन्छ । उक्त रिपोर्टअनुसार बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार एवम् पूर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई समर्थन र प्रचारप्रसार गर्न खोलिएका पेज डलर तिरेर प्रचार गर्नेमा बाँकेमा सबैभन्दा अगाडि देखिएका छन् ।


‘विकास पुरुष इश्तियाक राईलाई फेरि जिताऔँ नेपालगन्जलाई समृद्ध बनाऔँ’ पेजमा दुई नामबाट विज्ञापनका लागि पैसा तिरिएको छ । ती नाम हुन् ‘विकास पुरुष इश्तियाक राईलाई फेरि जिताओ नेपालगन्जको मान बढाओ’ र ‘विकास पुरुष इश्तियाक राईलाई फेरि जिताऔँ नेपालगन्जलाई समृद्ध बनाऔँ ।’ यी दुई नाममध्ये पहिलो नामबाट आइतबार दिउसो साढे एक बजेसम्म पछिल्लो ३० दिनमा ६ सय पाँच डलर र दोस्रो नामबाट पाँच सय ८३ डलर रकम तिरिएको छ । दुवै नामबाट एक महिनामा एक सय १८ पटक विज्ञापन गरिएको छ । यी दुवै नामबाट तिरिएको रकम जोड्दा एक हजार एक सय ८८ डलर हुन आउँछ । जसको नेपाली मूल्य आइतबारको दरका आधारमा एक लाख ५३ हजार एक सय रूपैयाँभन्दा बढी हुन आउँछ । यी दुवै मूल्य जोड्दा पछिल्लो ३० दिनमा इश्तियाकको प्रचारका लागि खोलिएको उक्त पेजमा विज्ञापनका लागि भएको खर्च देशभरिमै पाँचौ नम्बरमा पर्छ भने बाँकेमा पहिलो ।


यसैगरी नेपालगन्जका पूर्व मेयर तथा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार डा. धवलशमशेर राणालाई होच्याउने खालका समग्रीहरु पोष्ट भइरहेको ‘द पब्लिक’ पेजमा एक सय ६८ डलर, ‘युवा अभियान’ नामक पेजमा एक सय ६६ डलर खर्च गरिएको छ । डा. राणालाई नै निसाना बनाइरहेको ‘चेन्ज मेकर्स’ नामक पेजमा पनि १० वटा विज्ञापनका लागि एक सय डलर वा सोभन्दा कम रकम खर्च गरिएको देखिन्छ । यी पेजहरु कसले चलाइरहेको छ भन्ने खुलाइएको छैन । यी पेजहरुमा कुनै उम्मेदवारलाई स्वस्थ समर्थन र कसैलाई स्वस्थ आलोचना गर्नेभन्दा पैसा तिरेर कुनै उम्मेदवारको उछितो काढिएको छ । यसरी पैसा तिरेर गरिने विज्ञापन सामाजिक सञ्जालका प्रयोगकर्ताको रोजाइअनुसार नभइ जबरजस्ती उनीहरुको मोबाइल सेट र स्क्रीनहरुमा पु¥याइन्छ र हेर्न बाध्य पारिन्छ । जसकारण निश्चित क्षेत्रका सामाजिक सञ्जाल प्रयोगकर्ता मिथ्या सूचनाको प्रभावमा जबरजस्ती भए पनि पर्ने गर्छन् । यसको लाभ अर्काे कुनै उम्मेदवारले लिनसक्छ ।

यसैगरी बाँके क्षेत्र नम्बर २ बाटै उम्मेदवार रहेका राप्रपाका डा. धवलशमशेर राणाको पेजमा विकास बस्नेतको नामबाट र नवीन बज्राचार्यको नामबाट तीनपटक विज्ञापन गरिएको छ । दुवैजनाका नाममा एक÷एक सय डलरभन्दा कम वा सो बराबर रकम खर्च गरिएको फेसबुकको सञ्चालक कम्पनी मेटाको ‘मेटा एड लाइब्रेरी रिपोर्ट’ उल्लेख छ । यसैगरी बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार किस्मतकुमार कक्षपतिको नाममा पनि विकास बस्नेतको नामबाट एक सय डलर वा सो बराबर रकम खर्च भएको देखिन्छ ।

डिजिटल अधिकारबारे अन्तक्रिया
आसन्न निर्वाचनलाई ध्यानमा राखेर उपभोक्ताको डिजिटल अधिकारका बारेमा नेपालगन्जमा अन्तक्रिया गरिएको छ । ‘डिजिटल राइट्स नेपाल’ र ‘सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र’ नेपालगन्जको आयोजनामा भएको अन्तक्र्रियामा पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोग, त्यसका फाइदा र बेफाइदा, निर्वाचनमा सामाजिक सञ्जालको प्रयोगलगायतका विषयमा छलफल भएको थियो । विभिन्न राजनीतिक दलका प्रतिनिधि, अधिकारकर्मी, कानुन व्यवसायी, निर्वाचन आचारसंहिता अनुगमन समितिका प्रतिनिधिलगायतको सहभागिता थियो । सहभागीहरुले कार्यक्रममा सरकारले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोज्नु र प्रयोगकर्ताले मिथ्या सूचना र द्वेषपूर्ण धारणाहरु फैलाउनु दुवै गलत भएकोमा जोड दिएका थिए ।तीनवटा पेज बन्द गर्न सिफारिस
तीनवटा सामाजिक सञ्जाललाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले साइबर ब्यूरो कार्यालयमा सिफारिस गरेको छ । बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारविरुद्ध मिथ्या र भ्रामक प्रचारप्रसार गर्ने उक्त फेसबुक पेजलाई कारबाहीका लागि प्रहरीले सिफारिस गरेको हो ।
दुईवटा पूर्वमन्त्री मोहम्मद इश्तियाक राई समर्थक पेज हुन भने एउटा डा. धवलशमशेर राणा समर्थक पेज हो । ‘क्षेत्र नम्बर २ मा सामाजिक सञ्जालको बढी दुरुपयोग भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले भने, ‘हामीले त्यस्ता पेजहरुलाई ‘नोटिस’ गरिराखेका छौं ।’ पछिल्लो समय सामाजिक सञ्जालमा उम्मेदवारका समर्थकहरुले मिथ्या सूचना दिँदै आएका छन् । मतदातालाई भ्रमित पार्न उनीहरुले सामाजिक सञ्जाल दुरुपयोग गरिरहेको देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार