शुभाकर विश्वकर्मा । कोहलपुर ।
किसान परिवार छ । परिवारमा वृद्ध रोगी आमा छिन् । उनी प्रकृति-चराचुरुंगीलाई माया गर्छिन् । औषधि उपचारमा खर्च छ । किसानले उत्पादन गरेको अन्नबालीको मूल्य कम छ । सामान्य सरकारी काममा पनि झमेला खेप्नुपर्छ । यो सबै बदल्ने अठोट गरेर राजनीतिमा लागेको छ, यही किसान परिवारको नाति पुस्ता । नातिनी नर्सिङ पढ्छु भन्छे तर, नाम निकाल्न पैसा र भनसुनको आवश्यकता छ ।
अर्को परिवार छ, नगर उपप्रमुखको । उनको लक्ष्य छ, राजनीतिको अझै निर्णायक स्थानमा पुग्ने । उनका श्रीमान् ठेकेदार हुन् । श्रीमान् श्रीमतीबीच मतभेद छ । बिहीबार कोहलपुरमा मञ्चन गरिएको शिल्पी थिएटरको मुक्त रंगमञ्च नाटक ‘सानासाना सपना’को सारमा मूल विषयवस्त यहीं हो ।
नाटकले राज्य तथा स्थानीय सरकारले अपनाएको विकासको योजना र कामसँग जनताको आवश्यकताको तालमेल कसरी हुन सक्छ ? खास विकास के हो भन्ने बहस नाटकले गराउँछ । मरिसकेको मानिस कागको रुपमा चिच्याउँदै सुरु हुने नाटक, वृद्ध आमा उपचार नपाएर मर्छिन् र उनको श्रीमान्को आत्मा बोकेको काग पनि मर्छ । उत्सुकतापूर्ण सुरुवात र कारूणिक अन्त्य हुने नाटकको यो बिम्ब निकै उत्कृष्ट छ ।
नाटक प्रदर्शन गरियो । शिल्पी थिएटरले मञ्चन गरेको यो नाटक जनताका सरल अपेक्षा बोल्ने नाटक हो । कोहलपुरमा पहिलोपटक मुक्त रंगमञ्चमा प्रस्तुत गरिएको नाटक मञ्चनमा दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
नाटक हेरिसकेपछि दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका छन् । नाटक हेरेका बहुसंख्यकले नाटक धेरै उत्कृष्ट रहेको बताए । नाटकले भुइँमान्छेहरुका ‘सानासाना सपना’ समेटेको छ ।
नाटक हेरिसकेपछि कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुखसमेत रहेका कवि रवीबाबू प्रतीक्षा लेख्छन्, ‘सानासाना सपना ! वास्तवमा आमजनताका सपना धेरै ठूला छैनन् । साना अनि सरल अपेक्षा हामी आफैँले कही कतैबाट कठिन बनाइदिएका छौं ।’ नाटकले सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती र जनताले पाउने दुःखमाथि व्यंग्य गरेको उनी बताउँछन् ।
नेपाली समाजले सार्वजनिक सेवा प्रवाहको सामाजिक सेवाभन्दा शिल्पी थिएटरको सचेतना धेरैमाथि उठेको उनले टिप्पणी गरे । युवा अर्पु खनालले नाटक आफूलाई असाध्यै मन परेको बताउँछिन् । उनी भन्छिन्, ‘नाटकले उठाएका कुरा हामीले हरेक दिन भोगिरहेका छौँ । मैले कतिपटक यस्ता कुरा भोगेकी छुँ । कर्मचारी र जनप्रतिनिधिहरुले गर्ने ढिलासुस्तीको मार आमनागरिकले भोग्नु परिरहेको छ । यो नाटक सामाजिक र राजनीतिक वेथितिमाथिको व्यंग्य हो ।’
डाक्टर देवेन्द्र आचार्यले नाटकले मन छोएको प्रतिक्रिया दिए । नाटक प्रदर्शन हुँदैछ भन्ने सुनेपछि आफू निकै उत्साहित भएको नाटक हेरेपछि आफूलाई राम्रो लागेको बताए । युवा तथा व्यवसायी भरत पनेरूको प्रतिक्रिया छ, ‘यो नाटक नाटक थिएन, समाजको यथार्थ चित्रण हो । कही ज्यान सिरिंग भयो, कही मन भरिएर आयो ।’ नाटकको भाव झै यस्ता सामाजिक तथा राजनीतिक वेथिति र विसंगतीविरुद्ध आफूले सकेको गर्ने उनले बताए । नाटकले झै चाहिने कुरा चाहिने ठाउँमा चाहिने ठाउँमा बोल्नुपर्ने बताए ।
नाटकका परिकल्पनाकार र निर्देशक घिमिरे युवराजका अनुसार शिल्पी थिएटरले नाटक प्रदर्शनको नयाँ मध्याम र कोसिसको रुपमा मुक्त रंगमञ्जको प्रयोग गरिरहेको छ । सार्वजनिक चासोका विषयलाई चौर, चौतारा, डबली वा बाँकी रहेको सार्वजनिक ठाउँमा कसरी प्रस्तुत गर्न सकिन्छ र सिर्जनात्मक बनाउन सकिन्छ ? सबै मानिससम्म विचारसहितको कला कसरी पु¥याउन सकिन्छ ? भन्ने प्रयास भएको बताए । दियालो परिवारको स्थानीय आयोजनामा नाटक ‘सानासाना सपना’को उत्साहजनक मञ्चन भएको उनले बताए । उनले दर्शकहरुको उत्साहजनक उपस्थितिले मोफसलमा नाटकको भोक कति छ भन्ने कुरा स्पष्ट भएको बताए । आफूहरु कलात्मक र सिर्जनात्मक रंगमञ्चलाई फैलाउन र सकारात्मक सन्देश प्रवाह गर्न लागि परेको बताए ।
शिल्पी थिएटरको मुक्त रंगमञ्च ‘सानासाना सपना’नाट्य यात्राको दोस्रो दिनको तेस्रो र चौथो प्रस्तुति कोहलपुरमा सम्पन्न भएको हो । रुपन्देहीको आजामा, कपिलवस्तुको तौलिहवा, दाङको लमही र बिहीबार बाँकेको कोहलपुरमा उत्साहजनक मञ्चन गरिएको नाटक शुक्रबार बर्दियाको बाँसगढी, भुरिगाउँ र राजापुर गरी तीन ठाउँमा मञ्चन गरिएको छ ।
निर्देशक घिमिरे युवराजका अनुसार नाटक लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा गरी कूल २१ स्थानमा मञ्चन प्रदर्शन गरिने बताए । नाटक प्रदर्शन असोज २५ गते दाङबाट सुरु भएको हो । नाटक कात्तिक ८ गतेसम्म प्रदर्शन गरिनेछ ।
नाटकमा मञ्जु श्रेष्ठ, संगीता उराँव, झकेन्द्र विसी ज्योति पोखरेल, सविन कट्टेल, रवीन परियार, गोविन्द ओली, हिमाल भुजेल शुशीला लुहार, योगेन्द(ज्याक) बराल, स्मारिका फुयाँल, निर्मल साउँद र समित भण्डारीले अभिनय गरेका छन् । प्रत्यक्ष संगीत अनुप तिमिल्सिना र स्मारिका फुयाँलको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्