दसैंका लागि रुट पर्मिट खुला



बाँके ।

दसैंमा सार्वजनिक सवारीसाधनलाई देशभरि रुट पर्मिट खुला हुने भएको छ ।

दसैंमा यात्रुको चाप हुने स्थानमा सवारीसाधनको व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार बसेको बैठकले सो निर्णय गरेको थियो ।

घटस्थापनाको दिनअर्थात् असोज १० गतेदेखि पूर्णिमाका दिन अर्थात् २३ गतेसम्म सार्वजनिक सवारीसाधनलाई देशभरि सञ्चालनका लागि रुट पर्मिट जरुरत नपर्ने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए ।

उनका अनुसार यद्दपि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत रहनेछ । त्यस्तै असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म अत्यावश्यक ढुवानीबाहेकका ट्रेलर तथा ढुवानीका साधन सञ्चालनमा रोक लगाउने निर्णय पनि बैठकले गरेको थियो ।

यातायात व्यवसायीले कोभिड–१९ को जोखिम यथावत रहेकाले दसैंका यात्रुलाई मास्कको प्रयोग गराउनुपर्ने विभागका सूचना अधिकारी पनेरुले बताए । दसैंका लागि असोज १ देखि सार्वजनिक सवारीसाधनको टिकट बुकिङ खुला गरिँदैछ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २६ गते आइतबार