भुइँमान्छेको कथाः गृहिणीको चप्पल पसल



गीताले आफ्ना उत्पादन विद्यालय, सरकारी कार्यालय, पसल तथा होटेलहरु, अस्पताल र सहकारीहरुमा समेत बेच्ने गरेकी छन् । कोहलपुर न्यूरोडस्थित केही पसलमा समेत उनका उत्पादन बिक्री हुन्छन् । पछिल्लो समय उनको उत्पादनको माग बढ्दै गएको छ । बजारमा लिएपछि धेरै दिदीबहिनीहरुले किन्दिने उनले बताइन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

चप्पल ! संसारभरिका मानिसले लगाउने अनिवार्य आवश्यकता । के गरिब, के धनी, औकातअनुसारका चप्पल लगाउँछन् मानिस । झन पुरुषभन्दा त महिला अनेक थरिका चप्पल रोज्छन् । नेपालमा समेत विभिन्न ब्राण्डका चप्पल उत्पादन हुन्छन् । हात्ती छाप चप्पल नेपालको एक चर्चित ब्राण्ड हो । महिला र पुरुषका लागि अन्य चप्पल ब्राण्डसमेत चर्चित छन्, नेपालमा ।

कोहलपुर–२ विकासनगरकी एक यस्ती महिला छिन्, जो आफूले परिश्रम गरेर उत्पादन गरेका महिलाले लगाउने चप्पल ‘होम डेलीभरि’ गर्छिन् । उनी हुन्, ३० वर्षीय गीता विक । उनले चप्पल उत्पादन गरेर बेच्न थालेको केवल १० महिना मात्रै भयो ।

आफू गृहिणी, जागिरे श्रीमान् र दुई सन्तान । चार सदस्यीय खुसी परिवार थियो, उनको । गीताको प्रमुख जिम्मेवारी, छोराछोरीको हेरचाहदेखि पठनपाठनमा सघाउने र साँझबिहान खाना पकाउने । कक्षा १२ सम्मको औपचारिक अध्ययन सकेकी उनी सीपको खोजीमा थिइन् । सिरानीमा रहेका प्रमाणपत्रले घच्घचाइरहन्थे, ‘गीता त घरमै सीमित होइन । सीप सिक्नुपर्छ आत्मनिर्भर हुनुपर्छ ।’

गीता भने गतिलो जागिर र सीपको खोजीमा थिइन् । एकदिन, अजिंगरको आहारा दैवले जुराउँछ भने झैँ भइदियो । गीताकी एकजना छिमेकी घरमा आइन् । स्थानीय सरकारले निःशुल्क तालिम दिने कुरा सुनाइन् । उनको प्रस्ताव थियो, दुवैजना जाऔँ, तालिममा । ढुंगा खोज्दा देवता भेटिए झैँ भयो, गीतालाई । उनले प्रतिउत्तरमा केही पनि नसोची भनिदिइन्, हुन्छ । तालिम भने चप्पल बनाउन सिकाउने थियो, त्यो पनि २५ दिनको । गीताले एक दिन पनि नछुटाइकन उक्त तालिम लिइन् । नगरपालिकाको आयोजनमा सञ्चालन भएको तालिमले गीतालाई सीप मात्रै सिकाएन, आफैँले केही गर्नुपर्छ भन्ने आँट र भरोसासमेत थपिदियो ।

त्यसपछि उनले तालिममा सिकेका कुरामा व्यवहारमा लागू गर्न थालिन् । आफ्नै घरको सटरमा चप्पल उत्पादन सुरु गरिन्, उनले । तालिममा सिकेको सीप सिकेर चप्पल उत्पादन गरिरहेको उनले बताइन् । चप्पल उत्पादनको लागि गीताले धेरै लगानी गरेकी छैनन् ।

सीमित लगानीमा उनको व्यवसाय कर्म सुरु भएको हो । छोटो समयमा आफ्नो परिश्रमको कदर हुँदा उनी हौसिएकी छन् । उनी भन्छिन्, ‘व्यवसाय सुरु गर्दा धेरै ठूलो आस थिएन । समय सदुपयोग गर्न लागि मात्रै थियो । मेरो काम सबैले मन पराएका छन् । हौसलाले मलाई अझ अघि बढ्न सहज भएको छ ।’

सामान्यतया चप्पल निर्माण गर्न फर्मा, कच्चा पदार्थ आवश्यक हुन्छ । सुरुमा बुटवलबाट कच्चा पदार्थ खरिद गर्ने गरेको उनले बताइन् । त्यहाँबाट ल्याउँदा खर्च बढी लाग्थ्यो । पछिल्लो समय भने नेपालगन्जबाट ल्याउने गरेको गीता सुनाउँछिन् ।

चप्पल निर्माण गर्न एकपटकमा १० देखि १२ हजार रुपैयाँ पर्छ । यस्तै उनी चप्पल उत्पादन सोल, गम, प्याटेन, ¥याजिन र इभा आवश्यक पर्ने बताउँछिन् । गीताले कक सुज, सेन्डिल बनाउँछिन् । प्रायः अर्डरअनुसार नै चप्पल निर्माण गर्ने गरेको उनले बताइन् ।

उनका अनुसार अहिले आफ्नै घरको सटरम चप्पल उत्पादन भइरहेको छ । होम डेलीभरी र घरबाटै बिक्रीवितरण हुने गरेको गीताको भनाइ छ । उनले आफ्ना उत्पादन विद्यालय, सरकारी कार्यालय, पसल तथा होटेलहरु, अस्पताल र सहकारीहरुमा समेत बेच्ने गरेकी छन् । कोहलपुर न्यूरोडस्थित केही पसलमा समेत उनका उत्पादन बिक्री हुन्छन् । पछिल्लो समय उनको उत्पादनको माग बढ्दै गएको छ । बजारमा लिएपछि धेरै दिदीबहिनीहरुले किन्दिने उनले बताइन् ।

चप्पल उत्पादनबाट सन्तोषकजनक आम्दानी भइरहेको उनले बताइन् । प्रतिजोर चप्पलको तीन सयदेखि आठ सयसम्म पर्ने उनको भनाइ छ । दिनमा कम्तिमा २० देखि ३० जोर चप्पल बिक्री गर्ने उनको भनाइ छ । दैनिक न्यूनतम पाँचदेखि १० हजार कमाइ हुन्छ । मासिकरुपमा लाखौँ कमाइ हुने गीताले बताइन् । ‘चप्पल बेचेरै घर खर्च चलाइरहेकी छुँ । छोराछोरीलाई निजी विद्यालयमा पढाउँछु,’ उनले भनिन् ।

१० महिना अघिसम्म श्रीमान्को कमाइमा भर पर्ने गीता अब आत्मनिर्भर बनेकी छन् । घरको सबै खर्च, छोराछोरीको पढाइ तथा कच्चा पदार्थको खर्च जोडेर पनि आफू फाइदामै रहेको उनी बताउँछिन् । उनलाई नगरपालिकाले मेसिन सहयोग गरेको छ । अबको उनको योजना व्यवसायलाई उद्योगको आकार दिने रहेको छ ।

श्रीमान्को पूर्ण साथ

श्रीमान्श्रीमती भनेका एउटै रथका दुई पांग्रा जस्तै हुन् । एकबिना अर्को अधुरो नै हुन्छ । गीताको हकमा यो भनाइ यथार्थमा सही छ । नेपाल प्रहरी रहेका उनका श्रीमान्को साथ र सहयोगले उनलाई व्यवसायमा अझ बढी हौसला मिलेको छ ।

गीताका श्रीमान् इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत छन् । उनी भन्छिन्, ‘श्रीमान्को साथ नभएको भए, म यहाँसम्म पुग्न सक्ने थिइन् होला । उहाँले आफ्नो ड्युटी गर्नुहुन्छ । अरुबेला मलाई सहयोग गर्नुहुन्छ ।’ श्रीमान्श्रीमतीको कमाइ गर्दा परिवार चलाउनसमेत सहज भएको उनले बताइन् ।

छोराछोरीलाई समेत पढाउन यसैबाट पुगेको उनको भनाइ छ । आफूले राम्रो उत्पादन गर्न सकेमा कमाइ पनि राम्रो हुने अनुभव उनले सुनाइन् । उनले भनिन्, ‘श्रीमान्ले मलाई हरेक काममा सघाउने गर्छन् । पैसा आउने भएपछि त गर्न परिहाल्यो । उनका छोराछोरी निजी विद्यालयमा पढ्छन् । तक्षशिलामा पढ्छन् ।’

मागेर घर खर्च चलाउँदा र आफूले कमाउँदा धेरै फरक हुने उनको बुझाइ छ । समाजमा विद्यामान विभेद रोक्न महिला आर्थिकरुपमा शसक्त हुनुपर्ने उनले सुनाइन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १२ गते आइतबार