कोहलपुर ।
कोहलपुर–११ स्थित डुडुवानाला छेउमा दलित बस्ती छ । अशिक्षा र गरिबीले थलिएको यो बस्तीमा करिब २० घरधुरीको बसोबास छ । सामान्य झुपडीमा ओत लागेको यो बस्तीमा अनेकन समस्या छन् । जसमध्ये यहाँ खानेपानीको ठूलो समस्या छ ।
यहाँका विभिन्न समस्याका लागि बेलाबेला आन्दोलन नभएका होइनन् । विभिन्न बहानामा ति आन्दोलनहरु कमजोर बनाइए तर, समस्या जहाँको त्यहीअर्थात जस्ताको त्यस्तै छ ।
पानीको धारा त छ तर, सिंगै बस्तीमा एउटा । साँझबिहानलाई खानेपानी भर्न हम्मेहम्मे हुन्छ । अन्य नुहाइधुवाइका विषय त परेको कुरा पर्याप्त मात्रामा खान पनि पुग्दैन ।
पर्याप्त खानेपानीको धारा नहुँदा यस गाउँका स्थानीय पानी खानबाट वञ्चित भएका छन् । स्थानीय रामबहादुर विश्वकर्माले एक गाग्री पानी भर्नै घण्टौ लाग्ने बताए ।
‘कोहलपुर विकसित भनिन्छ,’ उनले भने, ‘कोहलपुरको प्रमुख सडकभन्दा भित्रको बस्तीमा यस्तो हरिबिजोग छ । यी बस्तीले कोहलपुरको विकसित ट्यागलाई गिज्याइ रहेको छ ।’ कहिलेकाहिँ त धारा बिग्रिने भन्दै उनले भने, ‘बिग्रियो भने त पानी ल्याउन टाढाटाढा जानुपर्छ । गर्मीमा पानी सुकेको समयमा त बाल्टी बोकेर पानी ल्याउन धेरै टाढा जानुपर्छ ।’
अर्की स्थानीय वसन्ती विकले खानेपानी भर्न धारामा लाइन लाग्नुपर्ने बाध्यता भएको बताइन् । ‘धारा एउटै छ,’ उनले भनिन्, ‘हामी पानी पिउने घरधुरी धेरै छौं । लाइन लागेर पानी भर्नुपर्ने बाध्यता छ ।’ चुनावका बेला सबैले धारा बनाइदिने आश्वासन दिएको भन्दै उनले भनिन्, ‘तर धारा बनाउन भने कसैले चासो दिएनन् ।’
एउटै धारा हुँदा दैनिक सरसफाइका काममा समेत समस्या भएको बनले बताइन् । गर्मीको समयमा अझ बढी पानीको समस्या झेल्ने गरेको अर्का स्थानीय रघुवीर परियारले बताए । ‘गर्मी मौसम छ । नुहाउन जाने हो भने लाइन बस्नुपर्छ,’ उनी भन्छन् । उनले भने, ‘बस्तीमा रहेको एउटा ट्युवेलले मात्र सबैलाई पर्याप्त मात्रामा खानेपानी पुगेको छैन ।’
धेरै मानिसहरु धारा चलाइ रहने हुदाँ बेला बेलामा ट्युवेल बिग्रिने समस्या पनि उत्तिकै छ । सो बस्तीमा मानिसहरुले इच्छा अनुसार पानी प्रयोग गर्नबाट वञ्चित छन । खानेपानीका पाइप लाइनहरु समेत सो स्थानमा पुग्न सकेका छैनन,अहिले स्थानीय सरकारको नजर नपरेको सो दलितहरुको बाहुल्यता रहेको सो बस्तीमा जनजाती र केही क्षेत्री समुदायका घरहरु पनि रहेका छ ।
यस गाउँमा खानेपानीलगायत अन्य विकासको काम गर्न नगर विकास समितिको परिपत्र आवश्यक पर्ने वडाध्यक्ष कल्पना शर्मा अधिकारले बताइन् । उनका अनुसार यो बस्ती नगर विकास समितिको जग्गामा बसेको छ । त्यसैले नगर विकास समितिको परिपत्रबिना वडाले यहाँ विकास निर्माणका काम गर्न नसक्ने उनको भनाइ छ ।
‘यहाँ खानेपानीलगायत अन्य भौतिक पूर्वाधार निर्माण गर्न नगर विकास समितिको परिपत्र आवश्यक पर्छ,’ उनले भनिन्, ‘नगर विकास समितिको परिपत्रबिना हामी यस बस्तीमा केही गर्न सक्दैनौं ।’ नगर विकास समितिले परिपत्र ग¥यो भने यहाँ विकास निर्माणका काम अगाडि बढाइने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्