27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

ज्येष्ठ नागरिकलाई नेपाल–भारतमैत्री संघ कोहलपुरको दर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ ५, २०७९  

कोहलपुर ।

ज्येष्ठ नागरिकहरुका लागि शनिबार दर खाने कार्यक्रम सम्पन्न भएको छ । नेपाल–भारतमैत्री संघ कोहलपुर उपशाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रवुद्ध ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकहरुका लागि तिज विशेष कार्यक्रमको आयोजना गरेर मिष्ठान भोजन खुवाइएको थियो ।

हरितालिका तिजको अवसरमा कार्यक्रम सञ्चालन गरिएको नेपाल–भारतमैत्री संघ शाखाकी केन्द्रीय वरिष्ठ उपशाखा उपाध्यक्षअर्थात कार्यक्रम प्रमुख अथिति सुश्मा शर्माले बताइन् ।

उनका अनुसार पछिल्लो समय तिजमा विकृति फैलिँदै गएको छ । पहिलाको जस्तो गरेर गाउँघरमा तिज विशेष कार्यक्रम मनाउन छाडेर होटेल रेस्टुरेन्डमा मनाउने चलन बढ्दै गएको उनको भनाइ छ ।

‘हामीले पहिला जस्तै आफैँ गाउने नाच्नेदेखि लिएर सबै आफूले बनाएर खानुपर्छ भनेर कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भनिन् । दुःखसुख गीतमार्फत साटासाट गर्ने तिज पछिल्लो समय अर्काको देखासिखी गर्ने खर्चिलो तथा भड्किलो हुँदै गएको उनी बताउँछिन् ।

‘पछिल्लो समय पैसा अनावश्यक खर्च गर्ने, महँगो साडी तथा अन्य सामग्री किनेर खर्चिलो हुने चलन बढ्दो छ,’ उनले भनिन्, ‘अरुको देखासिखीभन्दा मौलिक हिसाबले तिज मनाउनु पर्छ ।’

अरुको देखासिखीले विकृति फैलाउँदै गएको नेपाल–भारतमैत्री संघ कोहलपुर उपशाखाका अध्यक्ष चन्डीप्रसाद गैरेले बताए । उक्त कार्यक्रममा एक सय १० जना ज्येष्ठ नागरिकको उपस्थिति थियो ।

कार्यक्रममा भजन, तिज गीत गाएर मनोरञ्जन गरिएको थियो । साथै सबैभन्दा ज्येष्ठ नागरिक एकजना महिला दमान्त लम्साल र अर्का ज्येष्ठ पुरुष जुद्धप्रसाद भट्टराईलाई उपाध्यक्ष शर्माले खादा लगाएर सम्मान गरेका थिए ।

प्रकाशित मितिः आइतवार, भदौ ५, २०७९     10:17:25 AM  |