बैजनाथ गाउँपालिकाद्वारा तीनवटा एम्बुलेन्स खरिद



कविन्द्र परियार । कोहलपुर ।

बैजनाथ गाउँपालिकाले तीनवटा एम्बुलेन्स खरिद गरेको छ । पालिकाभित्रका जनतालाई स्वास्थ्यमा सहजता पु¥याउने उद्देश्यले एकैसाथ तीनवटा एम्बुलेन्स खरिद गरिएको हो ।

बैजनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले करिब ५८ लाख ५० हजार रुपैयाँ लागतमा तीनवटा ख वर्गका एम्बुलेन्स खरिद गरिएको बताए ।

वडा नम्बर १, ३ र ८ भौगोलिकरुपमा गाउँपालिका कार्यालयदेखि टाढा रहेका कारण ति वडामा रहेका स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिने बताए । शाहीले एम्बुन्लेन्स खरिद प्रक्रिया गएर आइसकेको तर, सञ्चालनका लागि प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही दिनमै सञ्चालन गरिने उनको भनाइ छ ।

‘एम्बुलेन्स आइसकेको छ । यससम्बन्धीका प्राविधिकलाई देखाइ सकेपछि एम्बुलेन्स सञ्चालनका लागि जिल्ला एम्बुलेन्स सिफारिस समिति बाँकेलाई सिफारिस लेख्ने र समतिले प्रदेश स्वास्थ मन्त्रालयलाई सिफारिस गरेपछि प्रदेशले केन्द्रलाई सिफारिस गर्छ र स्वास्थ्य मन्त्रालयबाट अनुमति आइसकेपछि एम्बुलेन्स सञ्चालन हुन्छ,’ उनले भने ।

एम्बुलेन्समा अक्सिजन, स्टेचर, स्वास्थ्य सामग्री तथा एकजना स्वास्थ्यकर्मी रहने शाहीले जानकारी दिए । बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बैजनाथ गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य सेवामा सहजता प्रदान गर्न एम्बुलेन्स खरिद गरिएको बताए ।

‘एम्बुलेन्स सञ्चालन कार्यविधिअनुसार एम्बुलेन्स सञ्चालन गर्ने गरी तयारीमा छौँ,’ उनले भने, ‘अहिले प्रक्रिया अगाडि बढेको छ । चालकको व्यवस्थापन, स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तान्तरणलगायतका कुरा बाँकी नै छन् ।’ पालिकाभित्रका गर्भवती सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २ गते बिहीबार