बाँसगढी प्रहरीको हिरासतबाट भागेका बलात्कार आरोपी भारतबाट पक्राउ



बाँके ।

ईलाका प्रहरी कार्यालय बाँसगढीको हिरासतबाट भागेका एक बलात्कार आरोपी दुई सातापछि पक्राउ परेका छन् ।

हिरासतबाट भागेका खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुल खाँलाई भारतीय प्रहरीको सहयोगमा सोमबार पक्राउ गरिएको हो ।

खाँ गत साउन ९ गते हिरासतबाट भागेका थिए । बाँसगढी घर भएकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुवेदीले हिरासतबाट भागेका थुनुवालाई पक्राउ गरिएको बताए ।

‘बाँसगढी प्रहरीको हिरासतबाट भागेका थुनुवालाई हामीले पक्राउ गरेका छौं,’ उनले भने, ‘हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको छ ।’

खाँ साउन ९ गते बिहान खाना खाने समयमा ड्युटीमा रहेका प्रहरीलाई झुक्याएर हिरासतबाट भागेका थिए । ड्युटीमा रहेका प्रहरीलाई निलम्बन गरेर अनुसन्धानसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीले बताए ।

‘ड्युटीमा रहेका प्रहरीलाई निलम्बन गरेर कारबाहीसमेत अगाडि बढाएका छौं,’ उनले भने, ‘केही प्रहरीलाई जिल्लामा तानेरसमेत अनुसन्धान भइरहेको छ ।’ बलात्कार आरोपी खाँ हिरासतबाट भागेकाले थप सजाय हुनसक्ने कानुनी प्रावधान रहेको उनले बताए ।

हिरासतबाट बिहानै बलात्कार आरोपित थुनुवा भागेपछि ईलाका प्रहरी कार्यालय बाँसगढी तथा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट उनको खोजीका लागि विशेष प्रहरी टोली परिचालन गरिएको थियो ।

सोही टोलीले नै भारतमा लुकेर बसेका फरार थुनुवा खाँलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रबार