16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

नेपालगन्ज कारागारका कैदीबन्दीमा छाला सम्बन्धि समस्या धेरै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७९  

बाँके ।

नेपालगन्ज कारागारमा रहेका कैदीबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शनिबार लाइफलाइन जनरल हस्पिटलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

कैदीबन्दीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन हस्पिटलले निःशुल्क शिविर गरेको डा.पारश श्रेष्ठले जानकारी दिए । ‘कैदीबन्दीहरुमा विभिन्न खाले स्वास्थ्य समस्या देखिएको गुनासो आएपछि हस्पिटलले आफ्नो दायित्व सम्झेर शिविर गरेको हो’ उनले भने, ‘कैदीबन्दीहरुलाई स्वास्थ्य समस्याबाट जोगिने तवरतरिकाबारे समेत सचेत पार्ने काम गरिएको छ ।’

शिविरमा चेकजाँच गरिएका अधिकांश कैदीबन्दीमा छाला सम्बन्धि समस्या देखिएको डा. श्रेष्ठले बताए । ‘चेकजाँच गरेकामध्ये नाक, कान र घाँटीसँग सम्बन्धित समस्या पनि केहीमा देखियो’ उनले भने, ‘उनीहरुलाई आवश्यक औषधि समेत निःशुल्क प्रदान गरिएको छ ।

शिविरमा फिजिसियन, दन्त, ईएनटीलगायतको सेवा दिएका थियौं ।’ कारागारमै निःशुल्क शिविर आयोजना गरिएपछि कैदीबन्दीहरुलाई धेरै राहात मिलेको कारागार प्रमुख रामकुमार सोनकरले जानकारी दिए ।

शिविरमा फिजिसियन डा.पारश श्रेष्ठ, फिजिसियन डा.क्रिस्टिन श्रेष्ठ, नाक, कान तथा घाँटी रोगका चिकित्सक डा अजय बैश्य, दन्त रोग विशेषज्ञ डा.प्रतिक श्रेष्ठ, नर्सिङ सुजाता कँडेल, सिर्जना बुढाथोकी, श्रीम श्रेष्ठ, इनायत अलि, रंजीतराम काँदु, क्षमता गोसाइँलगायतको टोली शिविरमा खटिएका थिए ।

शिविरमा २५० जना कैदीबन्दीको स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरिएको पनि डा.श्रेष्ठले बताए । नेपालगन्ज कारागारमा साढे ७ सय कैदीबन्दी रहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७९     9:51:42 AM  |