यसरी दुर्घटनाबाट जोगिएको थियो श्री एयरलायन्सको जहाज



बाँके ।

नेपालगन्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलायन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा काठमाडौंका लागि उडेको ९एन–एएनएफ ४३२ नम्बरको जहाज दुर्घटना हुनबाट जोगिएको हो ।

उडेको केहीबेरमा नै जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि फर्काएर नेपालगन्ज विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । काठमाडौँका लागि उडेको विमानको वायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ः५६ मै नेपालगन्ज विमानस्थलमा आकस्मिक अवतरण गराइएको श्री एयरलान्स नेपालगन्जका स्टेशन इञ्चार्ज परशुराम चौधरीले बताए ।

श्रीको बमबार्डियर ड्यास क्यू ४०० विमानको शौचालयभित्र धुवाँ निस्किएको संकेत ककपिटमा रहेको उपकरणमा देखिएपछि चालक दलले उक्त विमानलाई फर्काएको नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालले जानकारी दिए ।

‘पाइलटले ल्याबोटरीमा धुवाँ निस्किएको संकेत देखिएपछि ५ माइल (करिब ९ किलोमिटर) बाटै जहाज फर्काए,’ उनले भने, ‘जहाज अवतरण भइसकेपछि हामीले पनि धुवाँ निस्किएको देख्यौं । इन्जिन बन्द गरेपछि धुवाँ पनि रोकियो ।’

जहाजमा चारजना चालक दलका सदस्य र ७९ जना यात्रु रहेको नेपालगन्ज विमानस्थलले जनाएको छ । चालक दलका सदस्यसहित सबै यात्रु सकुशल छन् ।

धुवाँ भरिएको जहाजलाई नेपालगन्ज विमानस्थलमा आपतकालीन अवतरण गराउँदा ‘फुल इमर्जेन्सी’ व्यवस्था मिलाइएको थियो । दमकल, एम्बुलेन्स, उद्दारका लागि सुरक्षाकर्मीलगायतलाई पहिले नै विमानस्थलमा तयारी अवस्थामा राखिएको थियो ।

जहाजको प्राविधिक परीक्षण भइरहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । ‘काठमाडौंबाट प्राविधिकसहितको टोली गएर चेकजाँच गरिरहेको छ,’ उनले भने, ‘जाँचबुझ गरिसकेपछि मात्र जहाज उड्छ ।’

विनोज बास्तोला
जहाजका यात्रु

बिहीबार बिहान ९ः१५ को फ्लाइट थियो । करिब लगभग पौने १० बजेको समयमा प्लेन उडेको थियो । केहीबेर विमान सामान्यरूपमा उडिरहेको थियो तर, अपेक्षित उचाई लिइरहेको थिएन ।

अचानक विमानबाट टिङटिङ गर्दै इमर्जेन्सी साउन्ड आउन थाल्यो । विमानभित्र खुल्दुली सुरु भयो । मलाई पनि अलिकति डर लाग्यो । मैले एयर होस्टेसलाई कपास मागे र किन आवाज आएको हो भनेर सोधेँ । यसअघि विमान चढ्दा कहिले पनि यस्तो साउन्ड आएको अनुभव थिएन ।

एयरहोस्टेसले चाहिँ ‘यस्तो नर्मल हो, कहिलेकाहिँ हुन्छ’ भनेर मलाई आश्वस्त बनाइन् । तर, त्यसलगत्तै विमानभित्र धुवाँ देखिन थाल्यो । त्यसपछि त कोलाहल सुरु भइहाल्यो । पाइलट र एयरहोस्टेसले केही पनि जानकारी दिएनन् । सबैजना आत्तिन थाले । भगवान्को नाम लिन थाले । विमान दुर्घटनामा पर्ने निश्चितजस्तै लाग्यो । अब बाचिँदैन भन्ने भयो ।

त्यसबेला मैले बेसुरमै मोबाइल झिकेर भिडियो खिच्न थालेछु । अहिले कसरी खिचेहोला जस्तो लाग्छ । धुवाँ निस्किएपछि पाइलटले एकदमै स्पीडमा विमानलाई टर्न गराए । त्यसबेला विमान ब्यालेन्समा थिएन । उनले स्वाट्टै ल्याएर एयरपोर्टमा विमानलाई थचारे । लगभग १००–२०० मिटरमै उनले झ्याप्पै ब्रेक लगाएर विमान रोके ।

त्यसपछि सबै यात्रुहरु ज्यान बचाउनका लागि भागदौड गर्न थाले । अगाडि पछाडिका सबै ढोकाहरु खुले । एयरहोस्टेसहरुले ‘छिटो छिटो भाग्नुस्, आगलागी हुन सक्छ’ भनिरहेका थिए । यात्रुहरु ढोकाबाट हाम्फाले । एम्बुलेन्स र दमकलहरु आउन थाले । सबैको ज्यान जोगियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन २१ गते शनिबार