कोहलपुरमा बीमाको साढे दुई करोड हत्याउन नक्कली बिहे र दुर्घटना, दुई युवतीसहित ६ पक्राउ



बाँके ।

योजनाबद्धरूपमा व्यक्ति हत्या गरी बीमा कम्पनीबाट भुक्तानी लिने कोहलपुरको गिरोह पक्राउ परेको छ ।

बीमा कम्पनीबाट दुई करोड ५० लाख रूपैयाँ भुक्तानी लिने कोहलपुरकै गिरोहलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले पक्राउ गरेको हो । सिआइबीको अनुसन्धानबाट बीमाबाट भुक्तानी लिनकै लागि दुईजनाको विवाह गराइएको र श्रीमान्लाई योजनाबद्धरूपमा दुर्घटनामा मारिएको तथ्य खुलेको थियो ।

करिब १५ महिना पहिलाको एउटा सवारी दुर्घटनासम्बन्धी घटनालाई सिआइबीले सुक्ष्मरुपमा अनुसन्धान गर्दा यस्तो रहस्य सार्वजनिक भएको हो । सम्झना–चिसापानी सडकखण्डको बैजनाथ–६ लालपुरको जंगलमा २०७८ साल वैशाख २ गते राति ११ बजेको समयमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको थियो । कोहलपुर–२ आनन्दनगरमा डेरा गरी बस्ने २१ वर्षीय सर्जन विक सवार भे१०प १७२७ नम्बरको मोटरसाइकललाई भे१ख २४९१ नम्बरको मिनी बसले ठक्कर दिँदा ज्यान गएको थियो ।

बैजनाथ पितमारीका टोपबहादुर राना क्षेत्रीले चलाएको मिनी बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो । दुर्घटनापछि वैशाख २७ गते बाँके जिल्ला अदालतमा सवारी ज्यान मुद्दा दर्ता भयो । २०७८ माघ २५ गते अदालतले चालक रानालाई ३० दिन कैद र २ हजार जरिवाना सुनाएको थियो ।

मोटरसाइकल धनी सरदार अहमद खाँ (जो बीमा अभिकर्ता पनि थिए) उनलाई भने अदालतले सफाइ दिएको थियो । सर्जन विकको नाममा गरिएको सावधिक जीवन बीमा र म्यादी जीवनबापत दुई करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी लिएपछि घटना शंकास्पद देखिएको हो ।

मृतककी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट भुक्तानी लिई कोहलपुरस्थित कामना विकास बैंकको खातामा उक्त रकम जम्मा गरिसकेकी थिइन् । तर, नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले २०७८ साल फागुन ३० गते सिआइबीलाई सर्जन विकको सवारी दुर्घटनाबाट भएको भनिएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न पत्र लेख्यो ।

रिलायन्सले पनि ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न पत्र लेख्यो । दुर्घटनामा सर्जनको मृत्यु भए पनि सपना मृत्यु संस्कारमा सहभागी भइनन् । त्यसपछि घटना झनै शंकास्पद देखिएको सिआइबी प्रमुख एआइजी उत्तमराज सुवेदीले जानकारी दिए । ‘आफ्नै पतिको मृत्युपछिको संस्कारमा पत्नी सपना मल्ल सहभागी नहुनुले घटना योजनाबद्धरूपमा घटाई बीमाको पैसा लिएको देखिन्छ,’ उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने ।

त्यसो त बैंक खाता खोल्दादेखि नै घटना शंकास्पद देखिएको अनुसन्धानले खुलेको छ । मृतक सर्जन र सपना श्रीमान्–श्रीमती भनिए पनि लामो समयदेखि सम्पर्कमा नरहेको अनुसन्धानबाट खुलेको सिआइबी प्रवक्ता एसपी श्यामकुमार महतोले बताए । २०७७ साल फागुन २८ गते उनीहरू विवाह दर्ताका लागि गए पनि सर्जनको उमेर नपुगेका कारण त्यसै फर्किएका थिए ।

त्यही दिन नै सर्जन र सपनाको पहिलोपटक भेट भएको पनि अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको केही दिनपछि चैत २ गते विवाह दर्ता भएको देखिएको छ । तर विवाह दर्तापछि भने भेट भएको थिएन । यस घटनामा सपनासहित स्याङ्जा घर भई कोहलपुर नगरपालिका–१० बस्ने सञ्जीव अर्याल, कोहलपुर–१५ का सरदार अहमद खाँ, बैजनाथका टोपबहादुर राना क्षेत्री, कोहलपुर–१० का दीपक केसी र कोहलपुर–१ की ललिता सापकोटासमेतको संलग्नता देखिएको छ । सपना मल्लको खातामा आएको दुई करोड ५० लाख पनि भागबन्डा गरिएको खुलेको सिआइबीको अनुसन्धानबाट खुलेको छ ।

उक्त रकममध्ये सञ्जीपले ८० लाख ३६ हजार, दीपकले ६० लाख, सपनाकी आमा छविकुमारी खत्रीले १७ लाख ४६ हजार र सपनाले ८६ लाख ८९ हजार लिएको अनुसन्धानमा खुलेको सिआइबीका प्रवक्ता महतोले बताए ।

सञ्जीवले नै रिलायन्स कम्पनी कोहलपुरमा २०७७ फागुन २८ गते सपनालाई इच्छाइएको व्यक्ति राखेर सावधिक जीवन बीमा र म्यादी जीवन बीमा गराएका थिए । सामान्य मजदुरी गर्ने सर्जनको पेसा र वार्षिक आयको रकमले बीमाको वार्षिक शुल्क पाँच लाख ४० हजार तिर्न नसक्ने देखिएको र केवाइसीमा पनि वार्षिक आम्दानी दुई लाख स्वघोषणा गरेको प्रहरीको भनाइ छ । बीमाको पहिलो शुल्क पनि सञ्जीवलै नै तिरिदिएका थिए ।

वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्म मात्र बीमा गर्न सक्ने भए पनि सर्जनको नाममा गरिएको बीमा भने त्यसअनुरूप थिएन । श्रीमान्–श्रीमती भनिएका सपना र सर्जनबीच विवाह दर्तापछि भेट नभए पनि सञ्जीव र सपनाबीच भने पटकपटक भेट भएको पाइन्छ । यस घटनामा बीमा अभिकर्ता खाँको समेत संलग्नता देखिएको छ । दुर्घटनामा खाँकै मोटरसाइकलसमेत प्रयोग भएको थियो ।

घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ र मिनी बस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको अनुसन्धानमा खुलेको छ । आरती भनिने ललिता सापकोटाले सपना र सञ्जीवबीच भेट गराइदिएको र घटनापछि सपना मल्ललाई अस्ट्रेलिया पठाउने सहमतिसमेत भएको देखिन्छ । सपनाविरुद्ध मृतकसँग विवाह गरी बीमाबाट दुई करोड ५० लाख लिएको कसुरविरुद्ध मुद्दा चलाइने भएको छ ।

त्यस्तै स्याङ्जाका सञ्जीवविरुद्ध प्रतिवादी सपना मल्ललाई प्रलोभनमा पारी मृतक सर्जनसँग विवाह गराएको र बीमाबापत ८० लाख रुपैयाँ लिएको कसुरमा मुद्दा चलाइने भएको छ । सबै आपराधिक लाभ हुने गरी सहभागी भएको आधारमा घटनाको मुख्य योजनाकार उनी नै भएको देखिन्छ । त्यस्तै मिनी बस चालक टोपबहादुर भने सपनालाई विदेश लाने एजेन्ट चिनाइदिएको र ठक्करपछि घाइते भएका सर्जनलाई अस्पताल नलगी फरार भएको देखिन्छ ।

वारदातको समय (राति ११ बजे) उनले बस लिएर जानुपर्ने कुनै स्पष्ट आधारसमेत नदेखिएको पनि सिआइबीले जनाएको छ । त्यस्तै दीपक केसीले सपनालाई बीमा रकम भुक्तानी लिन सपनालाई काठमाडौं आउन सघाएको र सपनाले पाएकोमध्ये ८० लाख रुपैयाँ लिएका थिए । उनीविरुद्ध पुरानो कर्तव्य ज्यान मुद्दाका अभियुक्त भगाएकोसमेत अभियोग लागेको छ ।

ललिता सापकोटाले भने बिहे गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर सपनालाई सञ्जीवसँग चिनजान गराएकी थिइन् । उनी सञ्जीवको प्रेमिकासमेत भएको खुलेको छ । त्यस्तै बीमा अभिकर्ता खाँ पनि घटनामा संलग्न भएको देखिएको सिआइबीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको सिआइबीका प्रवक्ता महतोले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन १४ गते शनिबार