कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुर निवासी दम्पतीको हत्या योजना दाजुले नै बनाएको खुलेको छ ।
भाइ–बुहारी २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया अञ्जली गडरियाको हत्या योजना दाजु विजय गडरियाले बनाएको खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
मंगलबार बिहान घरमै दम्पती मृत फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा विजयमाथि शंका गरेको थियो । उनलाई घरबाटै पक्राउ गरेर सोधपुछ गर्दा आफूले एक लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको तथ्य स्वीकारेको उनले पत्रकार सम्मेलनमा बताए ।
‘भाइ–बुहारीको हत्याका लागि पचास पचास हजार दिएर भाडामा मान्छे बोलाएको अनुसन्धानबाट खुलेको छ’ उनले भने, ‘यो घटनाको योजनाकारको रुपमा विजयी श्रीमती रेखा समेत रहेकी छिन् ।’
प्रहरीका अनुसार पत्नी अञ्जली घरभित्र कोठामा र पति कृष्ण घरको कोलियामा मृत भेटिएका थिए । त्यस्तै घटनास्थल रगताम्य थियो ।
घटनाका क्रममा ज्यान गुमाएका र आक्रमणमा संलग्नबीच घम्साघम्सी भएको देखिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।
हत्याराहरुको खोजी कार्य भइरहेको डीएसपी मल्लले बताए । ‘मृतकका दाजु–भाउजु दुई जनालाई नियन्त्रणमा लिएका छौं’ उनले भने, ‘योजनाकारलाई पक्राउ गर्न सफल भएका छौं । अन्यहरुको खोजी भइरहेको छ ।’









प्रतिक्रिया दिनुहोस्