शिवु खनाल । दाङ ।
पूर्व पश्चिम राजमार्गमा सञ्चालन हुने सवारीका चालकहरुमा मदिराका कारण आँखा नदेख्ने समस्या देखिएको छ ।
लमही क्षेत्रमा गुड्ने सवारीका चालकहरुमा सबैभन्दा बढी आँखा नदेख्ने समस्या देखिएको हो । आइतबार सडकमै चालकहरुको आँखा चेकजाँच गराउँदा मदिरा सेवन गर्ने चालकहरुमा आँखा सम्बन्धी समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
लमही क्षेत्रमा चल्ने सवारी चालक तथा सहचालकलाई लक्षित गरेर आइतबार लमहीमा सडकमै आँखा चेकजाँच शिविर गरिएको थियो । चालकहरुमा उच्च रक्तचाप, कलर छुट्याउन नसकिने, चालकमा दुरदृष्टि समस्या र चालकको आँखामा एलर्जीको समस्या देखिएको छ ।
पूर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनका चालक तथा सहचालकहरुलाई कार्यालय अगाडि रोकेर स्वास्थ्य जाँच तथा आँखा चेक गरिएको हो । सवारी चालकहरुको निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम तीन दिनसम्म लमहीमा सञ्चालन गरिनेछ ।
चालकहरुको समस्या बुझ्न र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्ग अन्र्तगत लमही परिसरमा निःशुल्क स्वास्थ्य जाँच तथा आँखा शिविर सञ्चालन गरीएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख भलबिन्द्र परियारले जानकारी दिए । सवारीसाधन चलाउने चालकका आँखा कमजोर भएका कारण दुर्घटना नहोस् भन्ने ध्येयले आँखा परिक्षण गरिएको उनले बताए ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका इञ्चार्ज विक्रम विकले चालकलाई रिफ्रेस पनि हुने आँखाको अवस्था पनि जानकारी हुने भएकाले सडकमै परीक्षण गरिएको बताउँछन् । ‘अब मासिक रुपमा चेकजाँच गर्ने तयारीमा छौं ।
आँखाको कलर भिजनदेखि ट्राफिक नियम पालना लगायतका विषयमा जानकारी भएको छ’ उनले भने, ‘मदिरा सेवनकै कारण चालकहरुको हात काप्ने, आँखा पहेलो देखिने जस्ता लक्षण पनि विस्तारै हुन छोडेका छन् । नियमित चेकजाँच गर्ने यसबाट दुर्घटनाको नियन्त्रण गर्ने लक्ष्य रहेको छ ।’









प्रतिक्रिया दिनुहोस्