बाँकेको खयरभट्टीमा खसी बेचेको पैसा माग्दा भारतीयको बन्चरो प्रहारबाट नेपाली गम्भीर घाइते



बाँकेको अति विकट खयरभट्टीका एक नागरिकले घरमा पालेका दुई खसी बेचेको पैसा माग्दा भारतीयको आक्रमणमा परेका छन् । स्थानीय ३५ वर्षीय चुरासिंह घर्तीलाई खसी बेचेको पैसा माग्दा उल्टै दुई भारतीय नागरिकले बन्चरो प्रहार गरेर गम्भीर घाईते बनाएका हुन् । आर्थिक स्थिती कमजोर रहेका उनले राम्रोसँग उपचार समेत पाउँन सकेका छैनन् ।

कविन्द्र परियार ।  कोहलपुर । 

बाँकेको अति विकट राप्तीसोनारी गाउँपालिका–४ खयरभट्टीका एकजना भारतीयको आक्रमण गम्भीर घाईते भएका छन् । नेपाल भारत सीमा क्षेत्र खयरभट्टीका एक पुरुष गाउँ नजिकैको भारतीय भूमिमा आक्रमणमा परेका हुन् । खयरभट्टीका ३५ वर्षीय चुरासिंह घर्तीलाई मंगलबार भारतीय बजारबाट किनमेल गरेर फर्किने क्रममा भारतीयले आक्रमण गरेका हुन् ।

सीमावर्ती भारतीय बजार भचकायीबाट किनमेल गरेर फर्किने घर्तीलाई दुईजना भारतीय नागरिकले आक्रमण गरेको बताइएको छ । भारतीयको आक्रमण गम्भीर घाईते भएका घर्तीलाई भारतीय नागरिकले देखेपछि भारतीय नागरिकले नै भारतको बगौडाको एक क्लिनिकमा उपचारको लागि पु¥याएका थिए । प्राथमिक उपचारपछि होस आएपछि आक्रमणबारे जानकारी भएको खयरभट्टीका स्थानीय प्रेम नेपालीले मिसन टुडेलाई जानकारी दिए ।

‘भारतीय नागरिकले घर्तीलाई बन्चरोले हान्दा बायाँतर्फ टाउको र गाला काटिएको छ’ स्थानीय नेपालीले मिसन टुडेको टेलिफोन सम्पर्कमा भने, ‘हातको बुढि औँलामा समेत टोकेर घाउँ बनाइदिएका छन् ।’ अहिले घरमै रहेका घाईते घर्तीको टाउँकोमा १० वटा टाँका लगाइएको छ । ‘बिरामीको स्वास्थ्यमा अहिले पनि सोचेजस्तो सुधार आउन सकेको छैन’ उनले भने, ‘खयरभट्टीका स्वास्थ्य इकाइ प्रमुख कार्यक्षेत्र भन्दा बाहिर रहेका कारण घाउमा डे«सिङ गर्न समेत समस्या छ ।’

यसरी घटेको थियो घटना

खयरभट्टीका स्थानीय प्रेम नेपालीका अनुसार केही समयअघि दुई जना भारतीय नागरिकले घर्तीको दुई वटा खसी लिएका थिए । खसी लिएपछि उनीहरुले लामो समय पैसा दिएनन् । घर्तीलाई पैसा नदिएर उनीहरु भागिभागि हिडिरहेका थिए ।

मंगलबार अकस्मात घर्ती र ती दुई भारतीय नागरिकबीच भचकायी बजारबाट किनमेल गरेर फर्किने क्रममा भेट भयो । लामो समयपछि भएको जम्काभेटमा घर्तीले खसीको पैसा मागे । उनीहरुले दिन इन्कार गरे । पछि दुई पक्षबीच वादविवाद भयो ।

त्यसपछि भारतीयले घर्तीमाथि एक्कासी बञ्चरो प्रहार गरे । ‘मैले घाइतेको घरमै पुगेर घटनाबारे बुझे । उनलाई भारतीय नागरिकले मार्ने उद्देश्यले आक्रमण गरेका रहेछन् । धन्न उहाँ बाँच्नुभयो ।’ मिसन टुडेको टेलिफोन सम्पर्कमा स्थानीय नेपालीले भने ।

घाईतेको उपचारमा समस्या

भारतीय एक क्लिनिकमा टाँका लगाएपछि गम्भीर घाईतेको अन्य कुनै उपचार हुन सकेको छैन । घर्तीको आर्थिक अवस्था समेत कमजोर छ । उनको उपचारमा समस्या भइरहेको स्थानीय प्रेम नेपालीले बताए । स्थानीय स्वास्थ्य इकाइमा सामान्य उपचार भइरहेको भएपनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आउन सकेको छैन ।

राप्तीसोनारी गाउँपालिका–४ का वडाध्यक्ष मिनराज खड्का (सन्तोष) ले घटना मंगलबार भएपनि आफूलाई शुक्रबार मात्र जानकारी भएको बताए । ‘म शुक्रबार साँझ काठमाण्डौबाट फर्केलगत्तै घटनाबारे जानकारी पाए ।

यस विषयमा बाँकेका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुलाई अवगत गराइएको छु’ उनले भने, ‘घाइतेको उपचारका लागि सहयोगको पहल गर्ने र कार्यपालिका बैठकमा घर्तीको उपचारको विषयमा कुरा उठाउँछु ।’

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ८ गते आइतबार