तस्करीमा प्रहरीको संलग्नताको आरोप विभिन्न क्षेत्रबाट लाग्दै आएको छ । पछिल्लो समय कुखुरा तस्करीमा प्रहरीको संलग्नता रहेको किसानहरुले आरोप लगाउँदै आएका छन् । यस आरोपको आधारलाई प्रहरीको तस्करीप्रतिको बेवास्ताले झन् बलियो बनाइरहेको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
तस्करीमा प्रहरीको संलग्नतालाई इंगित गर्दै नरैनापुर निवासी विनय दिक्षित फेसबुकमा लेख्छन्, ‘नरैनापुरमा कुखुरा फर्म नभएपनि दैनिक २ वटा भ्यानमा कुखुरा नेपालगन्ज पुग्छ । सरोकारवालालाई महिनाको ८० हजार पुग्छ । तस्करी लगभग यस्तै छ । प्रमाण चाहिए मेरो सीसी क्यामरा हेर्न आउनु होला ।’
तस्करीमा प्रहरीको संलग्नताको आरोप विभिन्न क्षेत्रबाट लाग्दै आएको छ । पछिल्लो समय कुखुरा तस्करीमा प्रहरीको संलग्नता रहेको किसानहरुले आरोप लगाउँदै आएका छन् । यस आरोपको आधारलाई प्रहरीको तस्करीप्रतिको बेवास्ताले झन् बलियो बनाइरहेको छ । नेपालमा पंक्षी तथा पंक्षीजन्य पदार्थहरुको आयातमा प्रतिबन्ध लगाइएको भएपनि भारतीय कुखुराहरु खुलेआम तस्करी भएर आउँदा आफूहरु मारमा परेको भन्दै नेपाली किसानहरु गुहार मागिरहेका छन् ।
तर, भारतीय कुखरा रोक्न बाँकेका सुरक्षाकर्मी र प्रशासनले कुनै चासो नदिएपछि शुक्रबार बिहान कुखुरापालक किसान एवं पोल्ट्री व्यवसायी सम्बद्ध संगठनका प्रतिनिधिहरु नेपालगन्जमा आफै बजार अनुगमनमा निस्किएका थिए । नेपालगन्जको धम्बोझी र नन्दनी मिल आसपास अनुगमनका लागि पुग्दा त्यस क्षेत्रमा सञ्चालनमा रहेका फ्रेस हाउस सञ्चालक र मासु व्यापारीहरुको भागाभाग भयो ।
उनीहरु सटर बन्द गरेर गायब भए । केही पसलहरुमा बिल नै नभएका कुखुराहरु भेटिए । केही पसलेहरुले नै अनुगमन टोलीसामू ती कुखुराहरु भारतबाट ल्याइएको स्वीकार गरेका थिए । त्यसक्रममा नेपालगन्जको धम्बोझी र सीमा नाका जमुनाह नजिकका एक दर्जन पसलहरुमा भारतीय कुखुरा बिक्रीका लागि राखिएको फेला परेको थियो । करिब एक क्विन्टल कुखुरा बरामद गरी नष्ट गरिएको एक पोल्ट्री व्यवसायीले बताए ।
तस्करी रोक्न प्रजिअको ध्यानाकर्षण

पोल्ट्री व्यवसायीले शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई उनको कार्यकक्षमै भेट्दै पोल्ट्री व्यवसायीहरुले नेपालगन्ज नाकाबाट भारतीय कुखुराको तस्करी हुँदा देशभरकै कुखुरा र पोल्ट्री सम्बद्ध व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेको बताए ।
भारतबाट तस्करी भएर आएका कुखुराहरु नेपालगन्जका ठूला मासु सप्लायर्सहरुले बोनलेस बनाएर त्यसमा नेपाली उत्पादन भन्ने ट्याग लगाएर काठमाडौंका तारे होटलहरुमा पु¥याइरहेको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रीले आफूहरुले तस्करी रोक्न कडा निर्देशन दिएपनि फिल्डमा खटिने सुरक्षाकर्मीबाट गल्ती भएको छैन भनेर ठोकुवा गर्न नसक्ने
बताए ।
अब कुनैपनि चुक हुन नदिन थप कडाइपूर्वक लाग्न सुरक्षा निकायलाई निर्देशन दिइने उनले बताए । बाँकेमा मुख्य नाकाबाट भन्दा प्रहरी नपुगेका ठाउँबाट तस्करी रोक्न कठिनाई हुने गरेको पनि उनले बताए । तर बाँकेको मुख्य नाका जमुनाहबाटै पनि कुखुरा भित्रिरहेका किसानहरु दाबी गर्छन् ।
सीमाक्षेत्रमा सञ्चालित कतिपय फार्महरुले नै भारतबाट ल्याइएका कुखुराहरुलाई आफ्ना उत्पादनहरु भनेर बजारमा पठाउने गरेका पाइएको छ । यसैगरी नरैनापुर र खजुराको सैनिक क्षेत्रबाट अत्यधिक कुखुरा तस्करी हुने गरेको पाइएको छ ।
तस्करी रोक्न सुरक्षाकर्मीलाई निर्देशन
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीसहितको टोलीले सीमाक्षेत्रमा पुगेर सुरक्षाकर्मीहरुलाई तस्करी रोक्न कुनै गल्ती नगर्न निर्देशन दिएका छन् ।
प्रजिअ खत्रीका अनुसार सीमाक्षेत्रमा तस्करी हुने भनेर व्यवसायीहरुले भनेका क्षेत्रमा पुगेर त्यहाँ खटिएका सुरक्षाकर्मीहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको बताए । यसका साथै सीममा दशगजा अतिक्रमण गरेर टहराहरु बनाउन थालिएको भन्ने सूचनाका आधारमा केही ठाउँमा राख्न लागिएका टहराहरु तत्काल हटाउन निर्देशन दिइएको पनि खत्रीले मिसन टुडेलाई जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्