कोहलपुर ।
लामो समयपछि पानी परेपछि बाँके बर्दिया लगायतका किसानहरु खुसी भएका छन् ।
भर्खरै रोपेको धान सिँचाइ अभावका कारण सुक्ने अवस्थामा आएको बेला पानी पर्दा किसानहरु खुसी भएका हुन् । धान रोपाइ भइरहेपनि पानी नपर्दा समस्या भइरहेको थियो । अन्नको भण्डारसमेत भनिने बाँकेमा केही ठाउँमा आकाशे पानीको भरको धानखेती हुने गरेको छ ।
‘केही खेतमा धान रोपेका थियौं । पानी नपर्दा धान सुक्ने अवस्थामा पुगेको थियो’ बाँके बैजनाथ–४ की दिपा कँडेलले भनिन्, ‘पानी पर्दा ज्यादै खुसी छौँ । तत्कालको लागि रोपेको धान सुक्छ की भन्ने डर हटेको छ ।’
सिँचाइ नहुँदा रोप्न नपाएका किसानहरु पानी परेसँगै धान रोपाइँको लागि खेतमा व्यवस्त रहेका छन् । रोपिसकेको धान वर्षा भएपछि राम्रो हुने भन्दै किसान खुसी छन् । ‘मैले एकपटक मात्रै रोपाइँ गरेको छु । पानी नपर्दा समस्या भइरहेको थियो । पानी प¥यो खुसी लागेको छ । अब बाँकी खेतमा धान रोप्नुपर्ला ।’
किसान रामलाल पोखरेलले भने । खडेरीका कारण धान उत्पादनमा समस्या हुने हो की भन्ने त्रास तत्कालका लागि टरेको राप्तीसोनारी– ९ ढकेरीका किसान मोतीलाल परियारले बताए । ‘बाँकी रहेको खेत समेत अब पानी परेपछि रोप्न पाइने भयो’ उनले भने, ‘अब दुई चार दिन खेतकै काममा लागिन्छ ।’ दुई सातायता पानी नपर्दा रोपाइँ गरेका खेत गर्मीका कारण सुख्खा भएर फाँटेका थिए ।
अन्नभण्डार मानिने यी दुई जिल्लामा साउन पहिलो साता भइसक्दा समेत पानी नपर्दा धान रोपाइँ कम मात्र भएको थियो । बाँकेमा तीस प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल पानी पर्नु किसानका लागि खुसीको कुरा भएको बताए । कृषि ज्ञान केन्द्र बाँकेकाअनुसार जिल्लामा कुल खेतीयोग्य जमिनको १५ हजार हेक्टर क्षेत्रफल क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ । जिल्लामा ५२ हजार २ सय ३८ हेक्टर खेतीयोग्य जग्गा छ ।
बाँकेमा ४६ प्रतिशत रोपाइँ
बाँकेमा अहिलेसम्म ४६ प्रतिशत मात्र धान रोपाइँ भएको छ । अहिलेसम्म करिब ९० प्रतिशत रोपाइँ भइसक्नु पर्ने भएपनि समयमै पानी नपर्दा मंगलबारसम्म ४६ प्रतिशत मात्रै रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकामा ८५ प्रतिशत धान रोपाइँ सकिएको जानकारी दिए । राप्तीसोनारी जिल्लाको सबैभन्दा धेरै धान रोपाइँ हुने पालिका हो ।
त्यहाँ उत्तरपूर्वी क्षेत्रमा धेरै धान रोपाइँ हुने गरेको छ । नरैनापुर गाउँपालिकामा भने हालसम्म जम्मा पाँच प्रतिशत मात्रै धान रोपाइँ भएको छ । त्यहाँ सिँचाइको सुविधा नहुदाँ आकासे पानी कै भरमा धानखेती हुने गरेको छ । अन्य पालिकाको हकमा पनि अहिलेसम्म अपेक्षाकृत रुपमा धान रोपाइँ हुन नसकेको प्रमुख ढकालले बताए । ती पालिकामा न्युनतम् १५ देखि २० प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।
‘पानी प¥यो किसान खुसी भएका होलान् । हामी पनि खुसी छौँ । अब किसानले धान रोप्न पाउने भएका छन्’, उनले भने, ‘अहिलेसम्म ९० प्रतिशत धान रोपाइँ भइसक्नु पर्ने हो । तर अहिलेसम्म ५० प्रतिशत पनि धान रोपाइँ हुन सकेको छैन । यसको कारण सिँचाइको सुविधा नहुनु र आकाशे पानीको भर पर्नु अवस्था हो ।’









प्रतिक्रिया दिनुहोस्