बजारको अवस्थालाई मध्यनजर गरी बुधबार नेपाल मुद्रण उद्योग संघ बाँकेले नयाँ मूल्यसूची सार्वजनिक गरेको थियो । मूल्यसूची प्रकाशनले जिल्लाको बजार मूल्यमा एकरुपता आउने संघले विश्वास लिएको छ ।
जिल्लाका मुद्रण उद्योगी व्यवसायीको भेलाले बुधबार चालू आर्थिक वर्षको लागि नयाँ मूल्यसूची सार्वजनिक गरेको थियो ।
बाँके ।
नेपाल मुद्रण उद्योग संघ बाँकेले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जिल्लामा रहेका प्रेस तथा ब्यानर छपाईको मूल्यलाई एउटै बनाउनको लागि मूल्यसूची सार्वजनिक गरिएको हो । बुधबार नेपालगन्जमा नेपाल मुद्रण उद्योग संघ बाँकेका अध्यक्ष बिनोद पौडेलको अध्यक्षतामा बसेको बैठकले नयाँ मूल्यसूची सार्वजनिकको निर्णय गरेको थियो ।
‘अहिलेको बजारको अवस्थालाई ध्यानमा राखेर नयाँ मूल्यसूची सार्वजनिक गर्ने निर्णय भएको हो’ अध्यक्ष पौडेलले भने, ‘संघ मात्र नभएर बाँकेमा रहेका मुद्रण उद्योगहरुसहितको भेलाले यस्तो निर्णय गरेको हो ।’ मूल्यसूची निर्माण गर्नुपूर्व मेसिनका साईज र क्षेत्रगत हिसाबमा पटक पटक बैठकहरु गरि मूल्यका विषयमा विशेष छलफल गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
‘सम्पूर्ण मुद्रण व्यवसायीहरुको विचारलाई समावेश गरी मूल्यसूची तयार गरिएको हो’ उनले भने । भेलामा बोल्दै नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय सह–सचिव मिना सुवेदी ढकालले मुद्रण व्यवसायी एक भई व्यवसायीका पिर मर्कालाई समाधान गर्नुपर्ने बताइन् ।
‘बाँकेका सबै मुद्रण व्यवसायी एक भएर व्यवसायलाई टिकाईराख्न र आफ्नो लगानी डुब्न नदिन सहकार्य र सहजीकरण गर्दै व्यवसायी हकहितलाई ध्यानमा राख्दै अघि बढ्नुपर्छ’ उनले भनिन्, ‘एकरुपता दिनको लागि सार्वजनिक गरिएको मूल्यसूची यसैको पछिल्लो उदाहरण
हो ।’
सोही अवसरमा नेपाल मुद्रण उद्योग महासंघको केन्द्रिय सदस्यमा मनोनित भएका संघका बाँके अध्यक्ष बिनोद पौडेललाई नेपाल मुद्रण उद्योग महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष मेघराज ओलीले देशको अवस्थाअनुसार मुद्रण उद्योगीहरु पनि अछुतो हुन नसकेको बताए । ‘कागज, मसी, केमिकल, ढुवानीमा भएको मूल्यवृद्धिले बाँकेका व्यवसायीहरु पनि अछुतो छैनन्’ उनले भने, ‘समयअनुसार प्रेस सञ्चालक र व्यवसायी टिकाईराख्न पनि मूल्यवृद्धि समायोजन गर्नुपर्छ ।’
अहिले नयाँ सार्वजनिक गरिएको मूल्यसूचीले केही भएपनि बाँकेका व्यवसायीहरुलाई राहत दिने उनले बताए । नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय सदस्य चण्डी गैरे, पूर्व केन्द्रिय सदस्य तपेन्द्र विक्रम शाह, लुम्बिनी प्रदेश उपाध्यक्ष पूर्णलाल चुके, सदस्य हरिप्रसाद ज्ञवाली, संघ बाँकेका संस्थापक अध्यक्ष ज्योतीलाल भण्डारी लगायतले मूल्यसूची प्रकाशनले बजार मूल्यमा एकरुपता आउने बताएका थिए ।
संस्थाको विश्वसनीयतामा पनि वृद्धि हुने बताउँदै उनीहरुले नयाँ मूल्यसूचीलाई सम्पूर्ण व्यवसायीले पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रम नेपाल मुद्रण उद्योग संघ लुम्बिनीका महासचिव चिन्तामणी उपाध्यायले स्वागत मन्तव्य तथा बाँके सचिव नोखराज रावतको सञ्चालन गरेका थिए । नेपालगन्जमा भएको भेलामा बाँके जिल्लाभरीका एक सय बढी मुद्रण उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्