बाँके ।
कोहलपुरमा मलेरिया रोगका एकजना बिरामी फेला परेका छन् । कोहलपुर–११ विकास नगरका एकजनामा मलेरिया देखिएको कोहलपुर स्वास्थ्य चौकीका प्रमुख प्रकाशजंग हमालले बताए ।
आइतबार नै २६ वर्षीय ती पुरुषलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको हमालले मिसन टुडेलाई जानकारी दिए । एक संस्थामा कार्यरत उनी भारतका विभिन्न स्थानमा कामको सिलसिलमा जाने आउने गरिरहने बताइएको छ । एकजनामा मलेरिया देखिएपछि सोमबार विकास नगरमा कन्ट्याक्ट् ट्रेसिङ गरिएको थियो ।
कन्ट्याक्ट् ट्रेसिङको क्रममा आरडिटी परीक्षण गरिए पनि सबैमा मलेरियाको रिपोर्ट नेगेटिभ आएको कोहलपुर स्वास्थ्य चौकीका ल्याब इञ्चार्ज दिपक शर्माले जानकारी दिए । ‘एकजनामा मलेरिया पोजेटिभ देखिएपछि घरपरिवार र छिमेकीको कन्ट्याक्ट् ट्रेसिङ गरेका थियौं,’ उनले भने, ‘कन्ट्याक्ट् ट्रेसिङमा परेका १८ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।’
कोहलपुरका वडा नम्बर २, ११ र १२ उच्च जोखिममा छन् । यी तीन वडामा मलेरियाका धेरे बिरामी भेटिने कोहलपुर स्वास्थ्य चौकीले जनाएको छ । धेरै ज्वरो आउने, पखाला लाग्ने, वान्ता हुने, टाउको दुख्ने, जाडो महसुस हुने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिए तत्काल मलेरियाको परीक्षण गराउन ल्याब इञ्चार्ज शर्माले सबैलाई आग्रह गरे ।
सामान्यरुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टे टोकाइबाट सर्दछ । प्लामोडियम भाइवेक्स, प्लामोडियम मलेरी, प्लाज्मोडिम ओभेल र प्लाज्मोडिम फास्सिपारम गरी चार जातका परिजीविबाट यो रोग लाग्ने गर्दछ ।









प्रतिक्रिया दिनुहोस्