भेरी अस्पतालमा कर्मचारीको लापरबाही प्रकरणः गडबडी गर्नेलाई कारबाही गर्न आदेश



नेपालगन्ज ।

जिल्ला प्रशासन कार्यालय बाँकेले हाजिरीमा कैफियत देखिएका भेरी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीलाई स्पष्टीकरण लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

प्रशासनले भेरी अस्पताललाई पत्र लेख्दै छड्के जाँच गर्दा गयल परेका, अग्रिम हाजिर गरेका, हाजिरमाथि टेप टाँसेका र केरमेट गर्ने हरेक कर्मचारीसँग तीन दिनभित्र स्पष्टीकरण लिई आवश्यक कारबाही गरी जानकारी गराउन आदेश दिएको हो ।

असार २३ गते प्रशासनको टोलीले अस्पतालका कर्मचारीको हाजिरी रजिस्टर चेकजाँच गर्दा अस्पतालका जनरल फिजिसियन डा. निर्मल शाक्य, डा. सुरेशकुमार नागसहित सातजनाले अग्रिम हाजिर गरेको फेला परेको थियो । डा. शाक्यको हाजिरीमा टेप टाँसेर अनेक अर्थ लाग्ने कैफियत लेखिएको फेला परेको थियो ।

छड्केका क्रममा तीन सय ७८ कर्मचारीमध्ये दुई सय ९० जना गयल फेला परेका थिए । अग्रिम हाजिरी गरेको फेला पर्ने अस्पतालका कर्मचारीहरुमा डा. शाक्य र नागसँगै नर्सहरु मारिया अन्सारी, निलम श्रेष्ठ, तब्बु कौर सोढी र दिव्यश्वरी न्यौपाने हुन् । यसैगरी कार्यालय सहयोगी मीना बाल्मिकीले पनि अग्रिम हाजिरी गरेको फेला परेको थियो ।

अस्पताल विकास समितिका सदस्य कृष्ष्णप्रसाद श्रेष्ठ आफूहरु पक्षपातरहित तरिकाले गलत गर्ने सबै कर्मचारीलाई समानरुपले कारबाहीको भागिदार बनाउन प्रतिबद्ध रहेको बताउँछन् । गलत गर्ने कर्मचारीलाई कानुनअनुसार कारबाही अघि बढाइने उनले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईका अनुसार सोमबार प्रशासनको पत्र प्राप्त भएपछि कैफियत देखिएका सबै कर्मचारीलाई पत्र लेखेर लिखित स्पष्टीकरण सोध्न लागिएको छ । स्पष्टीकरण पछि गल्ती गरेको प्रमाणित हुन आएमा आदेशानुसार अघि बढ्ने उनले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री कर्मचारीले आफ्नो जिम्मेवारीविपरीत काम गरेको फेला परेमा विभागीय कारबाही गर्ने अधिकार कार्यालय प्रमुखसँग हुने बताउँछन् । यदि अस्पताल प्रशासनले कारबाही नगरेमा मन्त्रालयमा लेखिपठाउने उनको भनाइ छ

  • No tags available
प्रकाशित मिति : २०७९ असार ३२ गते शनिबार