बालसुधार गृह सञ्चालन कार्यविधि २०५७ मा बालसुधार गृहमा हुनुपर्ने विभिन्न पाँच किसिमका कार्यक्रम र गतिविधि स्पष्टरुपमा उल्लेख गरेको छ । जसमा शिक्षा तथा साक्षरता कार्यक्रम, सामाजिकीकरण कार्यक्रम, मनोवैज्ञानिक सहायता कार्यक्रम, व्यावसायिक सीप शिक्षा कार्यक्रम र आवासीय कार्यक्रम (खाना, आवास, स्वास्थ्य, स्याहार, मनोरन्जन) उल्लेख छन् । यीमध्ये अहिले सुधार गृहमा आवासीय कार्यक्रमबाहेक अरु कुनै कार्यक्रम पनि प्रभावकारी छैनन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
डुडुवा गाउँपालिका वडा नम्बर ६ मा रहेको जयन्दु बालसुधार गृहमा रहेका एक बालक सुधार गृहबाट छुट्ने अवधि पूरा भयो । तर उनलाई लिन परिवारका कुनै सदस्य आएनन् । पटकपटक सम्पर्क गर्दा पनि परिवारका सदस्य उनलाई लिन नआएपछि सुधार गृह प्रशासनले ती बालकलाई नै कोही अरु आफन्त भए बोलाउन भन्यो ।
ती बालकले फोन गरेर दुईजना युवती बोलाए । उनले आफ्नो आफन्त यीनै हुन् भनेपछि सुधार गृह प्रशासनले उनीहरुकै जिम्मा लगाइदियो । किनकी सुधार गृहमा बस्ने अवधि सकिएपछि पनि राखिराख्नु कानुनी हिसाबले मिल्ने कुरा थिएन । तर, ती बालक छुटेकै दिन राति मदिरा सेवन गरेर पुनः सुधार केन्द्रमा पुगे र होहल्ला गर्न थाले ।
…
एक अर्का बालक सुधार केन्द्रबाट छुटेको केही दिनपछि लागुऔषध लिएर सुधार केन्द्रको पछाडिबाट आएर कम्पाउण्डबाट भित्र फाले । यो कुरा सुरक्षाकर्मीले थाहा पाएपछि खानतलासशी गरियो । सुधार केन्द्रभित्र रहेकाहरुले उक्त लागुऔषध नदेखिने ठाउँमा फ्याँकेको पाइयो ।
…
दुईवटा दृष्टान्तले कानुनीरुपले विवादित भएका बालक राखिएको र उनीहरुलाई भविष्यमा असल नागरिकका रुपमा स्थापित हुन सहयोग गर्ने उद्देश्यले सञ्चालित बालसुधार गृहको परिणामको झल्को दिन्छ । संघीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित सुधार गृहमा मात्र ७० जनालाई राख्ने क्षमता हो ।
तर, असार २९ गते हाल करिब २६ जिल्लाका एक सय ८० जना बालक राखिएका छन् । क्षमताभन्दा साढे दुई गुणा बढी बालक राखिँदा उनीहरुले कस्तो अवस्थामा सुधार गृहमा बस्नुपरिरहको होला ! अनुमान लगाउन सकिन्छ । क्षमताभन्दा बढी बालक राखिँदा त्यसले सिर्जना गर्ने सुविधाको संकूचनको समस्या त एकातिर छ नै । अर्काेतिर जुन उद्देश्यका लागि बालसुधार गृह सञ्चालन गरिएको हो । त्यो उद्देश्य पनि पूर्ति हुन सकेको छैन ।
बालबालिकाले अपराध गर्दैनन्, गल्ती गर्छन् र उनीहरुलाई उपयुक्त वातावरण दिएर सही मार्गमा दिशान्तर गर्न सकिन्छ भन्ने बालन्यायको सिद्धान्तमा आधारित भई कानुनीरुपले विवादमा तानिएका बालबालिकालाई उपल्लो उमेर समूहका व्यक्तिलाई भन्दा फरक व्यवस्था गर्दै सुधारेर असल नागरिक बनाउने उद्देश्यले बालसुधार गृहको स्थापना गरिएको हो । बाँकेस्थित बालसुधार गृह २०७५ भदौबाट सञ्चालनमा आएको हो ।
बालसुधार गृह सञ्चालन कार्यविधि २०५७ मा बालसुधार गृहमा हुनुपर्ने विभिन्न पाँच किसिमका कार्यक्रम र गतिविधि स्पष्टरुपमा उल्लेख गरेको छ । जसमा शिक्षा तथा साक्षरता कार्यक्रम, सामाजिकीकरण कार्यक्रम, मनोवैज्ञानिक सहायता कार्यक्रम, व्यावसायिक सीप शिक्षा कार्यक्रम र आवासीय कार्यक्रम (खाना, आवास, स्वास्थ्य, स्याहार, मनोरन्जन) उल्लेख छन् । यीमध्ये अहिले सुधार गृहमा आवासीय कार्यक्रमबाहेक अरु कुनै कार्यक्रम पनि प्रभावकारी छैनन् । व्यावसायिक सीप शिक्षा कार्यक्रमको त नामोनिशान नै छैन ।
अधुरो विद्यालय
सुधार गृहमा एउटा विद्यालय छ । जुन विद्यालयमा कक्षा पाँचदेखि कक्षा ८ सम्म पढाइ हुने भनिएको छ । तर जम्मा दुईजना मात्रै शिक्षक छन् । त्यसमध्ये एकजना शिक्षकमात्रै सरकारले उपलब्ध गराएको हो । विद्यालयले अझै आफ्नो नाम पाएको छैन । शिक्षकको अभावमा त्यहाँ रहेका बालबालिकाहरुले उपयुक्त शिक्षा पाउन सकिरहेका छैनन् ।
बालसुधार गृहमा करिब ९० जना भर्ना भएका छन् । तीबाहेक अरुमध्ये अधिकांश ८ कक्षाभन्दा माथिको कक्षामा अध्ययन गर्नेहरु हुन् । सुधार गृहमा एकजनाले आफू कक्षा १२ मा अध्ययन गरिरहेको भए पनि शिक्षकहरु नहुँदा पढाइमा बाधा आइरहेको बताए । ‘विद्यालय त छ । तर त्यहाँ हाम्रो कक्षाको पढाइ नै हुँदैन । आफैँ पढ्ने हो । एकदुईजना हामीलाई सहयोग गर्ने शिक्षक भइदिएको भए धेरै राम्रो हुन्थ्यो,’ उनले भने ।
सुधार गृहमा रहेका एक सय ८० जनामध्ये एक सय ५३ जना १६ वर्षमाथिका छन् । १८ वर्ष पूरा भएका आठजना छन् ।
छैनन् दरबन्दीमा भएका एकजना पनि कर्मचारी
सुधार गृहका लागि शाखा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा नायब सुब्बा, लेखापाल, सवारी चालकलगायत आठजना कर्मचारीको दरबन्दी छ । तर, उक्त दरबन्दीअनुसार हाल एकजना कर्मचारी पनि छैनन् । बालसुधार गृह सञ्चालनको जिम्मा युसेप नामक एक गैर सरकारी संस्थाले लिएको छ । उक्त संस्थाबाट एकजना काउन्सिल इञ्चार्ज र एकजना वार्डेन गरी दुईजना कर्मचारी खटिएका छन् ।
काउन्सिल इञ्चार्ज बिमला काउचाले नै अहिले सुधार गृहको नेतृत्व सम्हालिरहेकी छन् । उनले भ्याउने जिम्मेवारी भनेको बालबालिकालाई सामाजिकीकरण र मनौवैज्ञानिकरुपले असल नागरिक बन्न प्रेरित गर्नेगरी काउन्सिल गर्ने मात्रै हो । तर उनैले अहिले प्रशासनिक र अदालतमा कानुनी प्रक्रियाका काम फत्ते गर्नेदेखि आवासीय व्यवस्थासम्मको सबै काम भ्याउनुपर्ने अवस्था छ ।
कर्मचारीको अभावमा आफूले मनोवैज्ञानिकपले काउन्सिलिङ गर्ने आफ्नो मुख्य जिम्मेवारीको काम भ्याउन नसकेको काउचा बताउँछिन् । ‘सकेसम्म भ्याउने प्रयास त गरिरहेकी छुँ । तर क्षमताभन्दा बढी बालक छन् । कर्मचारी छैनन् । सबै काम आफैँले गर्नुपर्दा धेरै गाह्रो भइरहेको छ,’ उनले भनिन् ।
यसरी हेर्दा तोकेअनुसार कर्मचारी नहुँदा बालसुधार गृहमा रहेका बालकहरुले मनोविज्ञान दिशान्तर गर्न पाउने अधिकारबाट पनि पनि वञ्चित हुनुपरिरहेको छ । यसले सुधार गृहमा पुगेका बालकहरुको सामाजिक तथा पारिवारिक पुनर्मिलनमा पनि असर गरिरहेको छ । कतिपय अभिभावक त छोरा नसुध्रिएको भन्दै उसलाई लिन नै नआउने गरेको इञ्चार्ज काउचा बताउँछिन् ।
सीप विकासका कार्यक्रम शून्य
सुधार गृहमा बसिरहेका बालकले आफूहरुलाई भविष्यमा के गर्ने भन्ने चिन्ताले सताउने गरेको बताए । सुधार गृहमा आफूहरुको अधिकांश समय खाली बित्ने गरेको उनको भनाइ छ ।
उनले सिलाइकटाई, प्लम्बर, इलेक्ट्रिसियनलगायत उपयागी सीप सिकाइएमा भविष्यमा पुनस्र्थापित हुन सजिलो हुने पनि बताए । यसका साथै खेलकुदका लागि मैदानको विस्तार, खेल सामग्रीको पर्याप्तता र पुस्तकहरुको पर्याप्त व्यवस्था हुनुपर्ने पनि उनीहरुले बताए ।
सुधार गृह रहेको जमिन दान गरेका दाता जयकेश सिंह त्यहाँ रहेका बालकहरुको भविष्य देखेर आफूलाई पनि चिन्ता हुने गरेको बताउँछन् । ‘अधिकांश केटाहरु परिबन्धमा परेर सुधार गृहमा बस्नुपर्ने बाध्यतामा पुगेका छन् । धेरै केटाहरु त ट्यालेन्ट पनि छन्,’ पूर्व शिक्षकसमेत रहेका सिंह भन्छन्, ‘तर उनीहरुको समय अहिले व्यर्थ गइरहेको छ ।
मैले पटकपटक सिडिओलगायत जिम्मेवार निकायमा उनीहरुलाई व्यावसायिक सीपका कार्यक्रम सञ्चालन गरौँ भनेर आग्रह गरेँ । तर अहिलेसम्म सुरु हुन सकेको छैन,’ उनले भने । सिंह सुधार गृहमा बसिरहेका अधिकांश बालकहरुले भविष्यमा लोकसेवामा लड्न सक्ने बाटो खुला रहे पनि उनीहरुलाई त्यसका लागि सहजीकरण गरिदिने कार्यक्रमहरु नरहेको दुःखेसो गर्छन् ।
अपर्याप्त भौतिक सुविधा
बाल सुधार गृहमा पर्याप्त भवनको अभाव र क्षमताभन्दा बढी बालकहरु राखिँदा आवासीय सुविधा पनि अपर्याप्त छ । कोचिएर बस्नुपर्ने बाध्यता छ । यसलाई ध्यानमा राख्दै गत वर्ष असार ३० गतेदेखि निर्माण सुरु गरिएको एउटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यस वर्षको पुस मसान्तमा उक्त भवन निर्माण गरिसक्नुपर्ने सम्झौता छ ।
सधार गृहकी इञ्चार्ज बिमला काउचा उक्त भवन निर्माण भएमा पनि सुधार गृहको क्षमता करिब एक सयजना हाराहारी पुग्ने बताउँछिन् । उक्त भवनले पनि अहिलेको चापलाई थेग्न सक्ने देखिँदैन । यद्यपि उक्त भवन निर्माण पूरा भएमा अहिलको कटेमटेसले राहत पाउने उनको अपेक्षा छ ।
लागुऔषध रोक्न चुनौति
बाल सुधार गृहमा रहेका बालकहरुलाई भेट्न आउनेहरुले लागुऔषध उनीहरुसम्म पु¥याउने जोखिम उच्च रहेको इञ्चार्ज काउचा बताउँछिन् । सुधार केन्द्रलाई नजिकबाट नियालेकाहरु पनि आफन्त भनेर भेट्न आउनेहरुले लागुऔषध लिएर आउने गरेको दाबी गर्छन् ।
‘प्याक गरिएका सामानभित्र पनि लागुऔषध हालेर ल्याइदिने गरेको हामीले आशंका गरेका छौँ,’ सुधार गृह सम्बद्ध एक व्यक्तिले भने । लागुऔषधलाई रोक्न प्रहरी र प्रशासनलाई अनुरोध गरिएको काउचा बताउँछिन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री पनि बालसुधार गृहमा लागुऔषध प्रवेशको जोखिमलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था चुस्त बनाउन आदेश दिइएको बताउँछन् । उनले सुरक्षाकर्मीहरुलाई भेट्न आउनेहरुको पहिचान राख्न, उनीहरुमाथि निगरानी राख्न र अवाञ्छित क्रियाकलापलाई रोक्न निर्देशन दिइएको बताए । सुधार गृहमा करिब १० जना सुरक्षाकर्मी परिचालन हुने गरेका छन् ।
गतिविधि र कार्यक्रम थप्ने प्रयासमा छौँः प्रजिअ खत्री
हामीले बालसुधार गृहको अवस्थालाई नजिकबाट नियालेका छौँ । त्यहाँ केही कुराहरुमा विशेष ध्यान दिनुपर्ने अवस्था छ ।
मुख्य कुरा उनीहरुलाई सुधार गृहबाट छुट्दा असल र पुनस्र्थापित हुने नागरिक बनेर फर्किने गरी व्यवस्था गर्न आवश्यक पहल गर्नुपर्ने छ । अहिलेलाई हामीले सीप विकासका कार्यक्रमहरु सञ्चालन गर्न सिटिइभिटीसँग सहकार्य गर्ने कि भन्नेतिर छलफल अघि बढाएका छौँ ।
सिटिइभिटीसँग हाम्रो कुराकानी भइरहेको छ । सुधार गृहका अरु समस्याहरुबारे पनि हामीले माथिल्लो निकायमा जानकारी गराएका छौँ । सुरक्षाका सवालमा कुनै पनि चुक नहोस् भनेर हामीले सुरक्षाकर्मीलाई निर्देशन दिएका छौँ ।









प्रतिक्रिया दिनुहोस्