बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्दै पर्यटक



बर्दिया ।

बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अहिले बाघ देखिने याम भएकाले निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जंगल सफारी गर्छन् ।

मंगलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी देखिएका थिए । पाहुनाले निकुञ्ज सफारीका क्रममा बाघ देखेर फर्केका कारण बढी खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले जानकारी दिए ।

‘यो याममा पर्यटकको इच्छा पूरा हुन्छ’, उनले भने, ‘पर्यटकले सफारी गर्दा मुख्य उद्देश्य बाघ हेर्ने हुन्छ, जुन इच्छा अधिकांश पर्यटकको पूरा हुन्छ ।’ बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ ।

निकुञ्जको ‘कोर एरिया’ मा सफारी तथा ‘जंगल वाक’ गर्ने पर्यटकको संख्यामा वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । ‘चालु आर्थिक वर्षको हालसम्म १० हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्’, उनले भने ।

आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्र १० हजारभन्दा बढी पर्यटक निकुञ्ज घुमेका छन् ।

‘यो संख्या हाम्रा लागि सुखद् रहेको छ’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, ‘अहिले बाघ देखिने याम भएकाले पर्यटकको संख्या बढ्ने विश्वास छ ।’ निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले बाघलाई बढी प्राथमिकता दिएर निकुञ्ज घुम्न आएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ३२ गते शनिबार