कोहलपुरको खानेपानी समस्या समाधान गर्न कर्मचारी खटाइयो



कोहलपुर ।

कोहलपुर नगरपालिका क्षेत्रमा दैनिक खानेपानीको समस्या बढ्दै गएको छ । गर्मीयाम र विभिन्न क्षेत्रमा पाइपमा भएको अवरोधका कारण दैनिक खानेपानीको समस्या बढ्दै गएको हो ।

यो समस्या समाधानका लागि कोहलपुर बृहत् सहरी खानेपानी तथा उपभोक्ता संस्थाले प्रयास गरिरहेको छ । उपभोक्ताहरुको समस्या समाधान गर्न र गुनासा सुन्न स्थलगतरुपमा कर्मचारी खटाइने अध्यक्ष नरबहादुर मल्लले बताए ।

लामो समयदेखि नगर क्षेत्रका अधिकांश स्थानमा रहेका धारामा पानी नआएको गुनासो आएपछि ती स्थानमा प्राविधिकसहितको टोली पठाइने छ । ती स्थानमा खानेपानी नपुगेको गुनासोको सुनुवाइ गर्न संस्थाले खानेपानी पाइप रेखदेख गर्न कर्मचारी खटाएको अध्यक्ष मल्लले मिसन टुडेलाई जानकारी दिए ।

त्यसका लागि विभिन्न स्थानमा कर्मचारी खटाइसकेको उनको भनाइ छ । अहिले पहिलो चरणमा वडा नम्बर ६, १० र ११ का विद्यानगर, रझेना रोड क्षेत्र, रामनगर र बालविद्या क्षेत्रमा प्राविधिक कर्मचारी खटाइएको छ ।

ति क्षेत्रमा राम्रोसँग पानी सञ्चालन नभएसम्म दैनिक प्राविधिक हरि शर्माको नेतृत्वमा पाँचजना कर्मचारीले नियमित निरीक्षण गर्ने संस्थाका अध्यक्ष मल्लले जानकारी दिए । ‘पहिलो चरणमा अत्यावश्यक क्षेत्रमा कर्मचारी खटाइएको छ,’ उनले भने, ‘अब क्रमशः अन्य स्थानमा समेत कर्मचारी खटाउने हाम्रो योजना रहेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७९ असार ३२ गते शनिबार