खजुरामा प्रादेशिक प्राविधिक विश्वविद्यालय स्थापनाको पहल सुरु



स्थलगत निरीक्षण क्रममा विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने भनिएको खजुरा गाउँपालिका वडा नम्बर ८ रनियाँपुर दाहवा, नयाँ बस्ती र चमकदारपुरको जमिन स्थलगत निरीक्षण गरिएको थियो । यसका साथै हाललाई विश्वविद्यालयको कार्यालय सञ्चालनका लागि खजुरास्थित जनक शिक्षा सामग्रीको भवनको पनि निरीक्षण गरिएको छ ।प्रादेशिक प्राविधिक विश्वविद्यालयका लागि खजुरामा जग्गा हेर्दै स्थलगत अनुगमन टोली ।

नेपालगन्ज ।

बाँकेस्थित खजुरा गाउँपालिकामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री (घिमिरे)का अनुसार साउन महिनाभित्रै विश्वविद्यालयको कार्यालय सञ्चालन गरिने छ । घिमिरेले बिहीबार विश्वविद्यालय स्थापनाका लागि जग्गाको अवस्था एवम् कार्यालय व्यवस्थापनका लागि स्थलगत निरीक्षण गरिसकेपछि उक्त कुरा बताएका हुन् ।

उपाध्यक्ष क्षेत्री, खजुरा गाउँपालिका अध्यक्ष डम्मर विक (तुफान), उपाध्यक्ष मञ्जु मल्ललगायतको टोलीले विश्वविद्यालयका लागि जग्गा उपलब्ध हुने सम्भावित क्षेत्रको स्थलगत निरीक्षण गरेको हो । स्थलगत निरीक्षण क्रममा विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने भनिएको खजुरा गाउँपालिका वडा नम्बर ८ रनियाँपुर दाहवा, नयाँ बस्ती र चमकदारपुरको जमिन स्थलगत निरीक्षण गरिएको थियो । गाउँपालिका अध्यक्ष विकले खजुरामा विश्वविद्यालयका लागि करिब एक सय बिघा जमिन उपलब्ध गराउन सकिने देखिएको बताए ।

उक्त जग्गा प्राप्तिमा कुनै समस्या नहुने भनेर उपाध्यक्षलाई जानकारी गराइएको विकले बताए । अब जग्गा प्राप्ति समितिको बैठक बसेर जग्गा प्राप्तिका लागि सिफारिस गरिने उनको भनाइ छ । यसका साथै हाललाई विश्वविद्यालयको कार्यालय सञ्चालनका लागि खजुरास्थित जनक शिक्षा सामग्रीको भवनको पनि निरीक्षण गरिएको छ ।

योजना आयोगका उपाध्यक्ष क्षेत्रीले मिसन टुडेसँग कुरा गर्दै खजुरा गाउँपालिकाले विश्वविद्यालयका लागि जग्गा दिन्छु भनेर आश्वासन दिँदै आएकोमा कस्तो अवस्था छ भनेर आफूले निरीक्षण गरेको बताए । नयाँ बस्तीमा रहेको २१ बिघा उच्च ठाउँमा रहेकोले उपयुक्त लागेको र अर्काे गुलरिया रोड छेउमै रहेको ५१ बिघा जग्गा पनि ठिकै देखिएको उनको भनाइ छ । यसका साथै थप ८५ बिघा जमिन भने मिहिनत गरेर बनाउनुपर्ने देखिए पनि तीनवटै ठाउँको जग्गा विश्वविद्यालय मातहत राखिने उनले बताए । उनले अब छिट्टै विश्वविद्यालय खजुरामै घोषणा गरेर आवश्यकताअनुसार भौतिक पूर्वाधार निर्माण गर्दै जाने उनले बताए ।

क्षेत्रीले भने, ‘जग्गा प्राप्तिका लागि गाउँपालिकाले जग्गा दिने निर्णय गरेर पठाएपछि केन्द्रबाट मन्त्रिपरिषद्को स्वीकृति लिएर विश्वविद्यालय मातहत ल्याउँछौँ । यसका साथै चाडै विश्वविद्यालयको कार्यालय सञ्चालन गर्छौँ । उक्त कार्यालयमार्फत बाँकी प्रक्रिया अघि बढाइन्छ । भौतिक संरचना नबनुन्जेल विश्वविद्यालयको कार्यालय भाडामै सञ्चालन हुन्छ ।’

कार्यालयका लागि रजिस्ट्रार, भाइस चान्सलर र कोअर्डिनेटरसहितका पदाधिकारीहरु नियुक्त गरिने क्षेत्रीको भनाइ छ । कार्यालय सञ्चालन गर्न जनक शिक्षा सामग्रीको भवन उपयुक्त देखिएको उनले बताए । पदाधिकारी नियुक्ति मूलतः राजनीतिक भए पनि कार्यविधि बनाइएको र उक्त कार्यविधिमा उल्लेखित छनोट समितिले नियुक्त गर्ने क्षेत्रीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले उक्त बजेटबाट कार्यालय सञ्चालन, जग्गा प्राप्ति प्रक्रिया, कोर्सहरुको छनोट, भौतिक निर्माणको तयारीलगायतका काम यस आर्थिक वर्षमा हुने उनले बताए । कार्यालय स्थापना भएपछि विश्वविद्यालयको सुनिश्चितता हुने भन्दै खजुरा गाउँपालिका अध्यक्ष विकले खुसी व्यक्त गरेका छन् ।

तत्कालीन लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले खजुरामा स्थलगत अवलोकन गरेर मन्त्रिपरिषद्बाट विश्वविद्यालय स्थापनाको निर्णय गराएका थिए । त्यसपछि लुम्बिनी प्रदेश सरकारले खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालय गर्ने भनेर नीति तथा कार्यक्रममा समावेश गरेर बजेट विनियोजन गरेको थियो । लुम्बिनी प्रदेश सरकारले खजुरामा स्थापना गर्ने प्राविधिक विश्वविद्यालयका लागि पहिलो वर्ष पाँच करोड र दोस्रो वर्ष सात करोड तेस्रो वर्षमा १० करोड बजेट छुट्याएको थियो । तर खर्च हुन सकेन ।

गत वर्ष प्राविधिक विश्वविद्यालयको सट्टा प्रदेश विश्वविद्यालय स्थापना गर्नेगरी योजना आयोगले काम सुरु गरेको र स्थान खजुुरामा नभइ अन्तै सार्ने प्रयास भइरहेको बाहिरिएको थियो । त्यसपछि यहाँका जनप्रतिनिधिले प्रदेश सरकारलाई बजेटमा घोषणा गरेअनुरुप अघि बढाउन दबाब दिएका थिए । चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रादेशिक प्राविधिक विश्वविद्यालयलाई प्रदेशको गौरवको आयोजनाअन्तर्गत राख्दै बजेट अभाव हुन नदिने उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रबार