कन्वा तालको स्तरोन्नति गरिँदै



कविन्द्र परियार
कोहलपुर, २६ असार
बैजनाथ गाउँपालिका वडा नम्बर ३ स्थित देउराली जन आश्रित मध्यवर्ती सामुदायिक वनमा रहेको कन्वा ताललाई स्तरोन्नति गर्न सुरुवात गरिएको छ । सिमसार क्षेत्रको रुपमा रहेको उक्त ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न तालको स्तरोन्नति गर्न लागिएको हो ।
बैजनाथ गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ बजेटबाट १० लाख रुपैयाँ तालको संरक्षणलगायत स्तरोन्नति गर्न थालिएको ताल संरक्षण समितिका संयोजक टोपबहादुर घर्तीले जनाए । उनका अनुसार तालसम्म पुग्ने बाटो निमार्ण ग्राभेलिङ र ताल वरिपरिको क्षेत्रमा माटो पटान, ड्याम निमार्ण तथा ताललाई चौडा बनाउने काम सकिएको छ । तालको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले तालको स्तरोन्नति गर्न लागिएका घर्तीको भनाइ छ ।

सिमसार क्षेत्रका रुपमा रहेको ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ताल वरिपरि पक्की पर्खाल, पार्क निमाण, पिकनिक स्पोट निमार्ण गरी तालको छेउछेउमा फलामे बेञ्चहरु निमार्ण गरी सजिलै ताल अवलोकन गर्ने र स्रोतको व्यवस्थापन भएसम्म मंसिर महिनाबाट तालमा बोटिङ सुरु गर्ने योजना रहेको उनले जनाए ।

सामुदायिक वनका अध्यक्ष महेन्द्र थारुले उक्त क्षेत्रमा रहेको तालको संरक्षणका लागि तराई भू–परिधि तालको चार लाख सहयोगमा केही वर्ष अघि सामान्य ड्याम निमार्ण गरिएको थियो । त्यसपश्चात यहाँ कुनै काम भएको थिएन । अहिले भने पालिकाको सहयोगमा तालको विकासका लागि काम अघि बढाइएको छ । कोहलपुर–सुर्खेतअन्तर्गत रत्न राजमार्गको छेउमै रहेको करिब आठ सय मिटर लामो र डेढ सय मिटर चौडाइ रहेका ताल करिब १० फिट गहिरो रहेको अनुमान गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कन्वा तालमा १४ वटा असना रुखसमेत छन् ।

वनजंगलबाट आउने पानी जम्मा भएर तालमा सञ्चित हुने हुँदा तालबाट नजिकका खेतमा सिँचाइ गर्न सहयोग पुग्ने भएको छ । बाँकेको पर्यटकीय क्षेत्रका रुपमा विकसित भइरहेको गाभर भ्याली सँगै सो ताल पनि जोडिएका कारण पर्यापर्यटनमा सहयोग पुग्ने ताल संरक्षण समितिको भनाइ छ । बैजनाथ गाउँपालिका वडा नम्बर ३ का निर्वतमान वडाध्यक्ष रामचरण थारुले कन्वा ताल बैजनाथको एतिहासिक पहिचानका रुपमा रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्न अति आवश्यक रहेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २६ गते आइतबार