कोहलपुरमा माग्ने बालकको बिगबिगी



शुभाकर विश्वकर्मा । कोहलपुर ।

‘पैसा दिनून, पाँच रुपैयाँ । दाई, दिनून पैसा’ कोहलपुर बसपार्कमा एक बालकले बोलेको वाक्य हो यो । शिरमा ढाका टोपी, पिठ्युँमा झोला भिरेर उनी यसैगरी पैसा मागिरहेका हुन्छन् । उनको हातमा छ, ‘एउटा लेमिलेसन गरिएको कागज ।’ त्यसमा लेखिएको छ, सहयोग सम्बन्धमा ।

त्यहाँ लेखिएका अरु अक्षर बुझिँदैनन् । कसले कुन व्यहोराका लागि किन र के लेखेको हो भन्ने स्पष्ट देखिँदैन । उनले सर्ट, पाइन्ट र खुट्टामा चप्पल लगाएका छन् । ढाका टोपीलगायतका बालक समूहका सबैभन्दा ठूला छन् । झट्ट उनको उमेर ९–१० वर्षको जस्तो देखिन्छ ।
उनीसँग भएका अन्य बालक त त्योभन्दा पनि कम उमेरका छन् ।

रातो भेष्ट लगाएका बालकको त खुट्टामा जुत्ताचप्पल पनि छैन । उनी एक्लै छैनन् । उनीहरुको चारजनाको समूह छ । केही समयदेखि उनीहरुको समूह कोहलपुर बसपार्क क्षेत्रमा दिनहुँ मागिरहेको देखिन्छ । बसपार्क क्षेत्रका फुटकर व्यवसायी, व्यवसायी र गाडीवाला उनीहरुका मुख्य निसाना हुन् । उनीहरु पसल देख्यो की, फुत्त छिरिहाल्छन् । पैसा नदिएसम्म बाहिर निस्कनै मान्दैनन् । बस रोक्नै हुन्न ! चारैजना एकैपटक भित्र छिर्छन् । यात्रुसँग पैसा माग्छन्, सहचालकले हप्काए बाहिर निस्किन्छन् ।

एकछिन् भाग्छन्, फेरि उस्तै । केही समययता उनीहरुको चर्तिकला देखिरहेका ठेला व्यवसायी हस्त बुढा भन्छन्, ‘यो पछिल्लो समय आएको समूह हो । हरेक दिन नयाँनयाँ मान्छे माग्न आइरहेका हुन्छन् ।

आफ्नो कमाइ नै छैन । महिना दिनमा त हजार रुपैयाँ उनीहरुलाई दिँदैमा सकिन्छ ।’ उनी माग्ने तथा अस्तव्यस्त व्यवस्थापनका कारण बसपार्क क्षेत्रमा शान्तरुपमा व्यवसाय गर्ने वातावरण नै नभएको बताउँछन् । उनी मात्रै होइन बसपार्क क्षेत्रमा व्यवसाय गर्ने व्यवसायी माग्नेहरुबाट आतंकित छन् ।

माग्ने बालकको बिगिबिगीले यहाँका व्यवसायी हैरान छन् । स्मरण रहोस्, कोहलपुर नेपालकै पहिलो ‘सहयोगापेक्षी सडक मानव मुक्त’ नगरपालिका हो । सडक मानवको व्यवस्थापन गर्ने उद्देश्यले २०७६ कात्तिक २५ गते कोहलपुर सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गरिएको थियो । ‘सबैको नाना र छाना सरकारको चाहना’ नाराका साथ गरिएको घोषणा नारामै सीमित भयो । घोषणापछि स्थानीय सरकारले सडक मानव तथा माग्नेको व्यवस्थापनमा चासो दिएको छैन ।

तामझामसहित कोहलपुरमा सडक मानव र माग्ने रहित नगर भनेर घोषणा गरिए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कोहलपुरका विभिन्न चोक तथा सडक क्षेत्रमा बेवारिसे व्यक्ति बिजोग अवस्थामा देखिन्छन् । बसपार्क क्षेत्रमा मात्रै होइन, विभिन्न व्यक्तिका पसलमा समेत उनीहरु माग्ने गरेको देखिन्छन् । स्थानीय सरकारले अहिलेसम्म उनीहरुको व्यवस्थापन गरेको उदाहरण छैन । बसपार्क क्षेत्रको व्यवस्थापनमा स्थानीय सरकार न बसपार्क बजार सुधार समितिको ध्यान जान सकेको छैन ।

व्यवसायी धन बस्नेत हरेक दिनमा पसलमा विभिन्नखालका व्यक्ति माग्नका लागि आउने गरेको बताउँछन् । उनी भन्छन्, ‘नगरपालिका मानव सडकमुक्त घोषणा गरिएको छ । सडकमा माग्नेको लाइन छ । स्थानीय सरकारले ध्यान दिएको देखिएन । यसमा ध्यान दिन जरुरी छ ।’

कोहलपुर नगरपालिकाअन्तर्गत महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख रीना थापाले नगर क्षेत्रमा बालबालिकाको अवस्थामा बेलाबेलामा अनुगमन गर्ने गरेको बताइन् । उनका अनुसार बालबालिकाको अवस्थाको विषयमा बाल क्लब तथा युवा क्लबले सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यस्तै विभिन्न सामाजिक संस्थासँग समन्वय गरिरहेको बताइन् ।

‘गुनासो आइरहेको छ,गम्भीर छौँ’
छविलाल जैसी
असई अस्थायी प्रहरी पोष्ट, बसपार्क क्षेत्र

यो समस्या कै रुपमा छ । हामीले नियन्त्रणको प्रयास गरिरहेका छौँ । एकपटक नील सागरलाई समेत बुझाएको हो । अर्कातिर हामीले देखेपछि उनीहरुलाई सम्झाउने पनि गरेका छौँ ।

यहाँ अरुभन्दा बढी बालबालिका देखिन्छन् । अहिले बसपार्क क्षेत्रमा मौसमीरुपमा बस्न आउनेहरुका कारण पनि समस्या भइरहेको छ । उनीहरुले आफ्ना बालबालिकालाई माग्न पठाउँछन् । अस्ती मात्रै उनीहरु बसेको ठाउँमा गएर मैले सम्झाएको हो । बसपार्कमा विभिन्नखालका मान्छेहरु आइरहन्छन् ।

यात्रुहरुलाई समेत दुःख दिने गरेको पाइएको छ । उहाँहरुलाई जस्तो पायो त्यस्तोलाई पैसा नदिन भनेका छौँ । गाडीवालालाई पनि त्यहीअनुसार भनेको अवस्था छ । अहिले मैले क्यारमबोर्ड खेल्नेहरुलाई समेत नखेल्न निर्देशन दिइसकेको छुँ ।

बसपार्कमा हुने गतिविधिको सुक्ष्मरुपमा हेरिरहेको अवस्था छ । धेरै गुनासो आउन थालेपछि हामी यसमा गम्भीर भएका छौँ । मानिसहरुको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो । आगामी दिनमा यस्ता कुरा नियन्त्रण हुने विश्वास दिलाउन चाहन्छुँ ।

‘बसपार्कमा माग्न बन्द गर्नुपर्छ’
मनप्रसाद आचार्य
अध्यक्ष, बागेश्वरी यातायात प्रालि

बसपार्कमा माग्नेहरुको समस्या छ । हामीले उनीहरुलाई कारबाही नै गर्न मिल्दैन । उनीहरुलाई सम्झाउने बुझाउने हो । माग्ने उद्देश्यले गलत कार्य पनि हुन सक्छ । बसपार्क क्षेत्रमा यस्तो समस्या हुन्छ ।

यसको जिम्मा सुरक्षा निकायको हो । नियमविपरीत कार्य गर्नेलाई कारबाही गर्नुपर्छ । नियन्त्रण लिइनुपर्छ । बागेश्वरी समितिले आवश्यकता परेको समयमा प्रहरीलाई सहयोग गर्ने हो । बसपार्क सुधारको लागि हामी सहयोग गर्न तयार छौँ ।

माग्ने मात्रै होइन अन्य धेरै समस्या त्यहाँ छन् । त्यसमध्ये सरसफाइ पनि एक हो । यसको व्यवस्थापन भने बसपार्क सुधार समितिको हो । फोहोर उठाउने कम्पनीलाई हामीले मासिक शुल्कसमेत तिर्दै आएका छौँ । माग्नु राम्रो कुरा होइन ।

यात्रुहरुले टिकट काट्ने, गन्तव्यमा जाने ठाउँ हो । कुनै पनि बहानामा यात्रुलाई दुःख दिनु हुँदैन । यसमा सुरक्षा निकायले हेरोस् । माग्ने कुरामा पनि घुसपैठ भइरहेको छ । बसपार्कमा बिचौलिया पनि छन् । यस्ता कुरा बन्द हुनुपर्छ भने हाम्रो माग हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रबार