कोहलपुर ।
शनिबार हुन लागेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको निर्वाचनमा उम्मेदवारी दिएका केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्षका उम्मेदवार विजय पुडासैनी, सहसचिवका उम्मेदवार सन्तोषराज पौडेल र सदस्य पदका उम्मेदवार मेघनाथ भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उपाध्यक्षका उम्मेदवार पुडासैनीले बुधबार उम्मेदवारी फिर्ता लिए भने सहसचिवका उम्मेदवार पौडेल र सदस्यका उम्मेदवार भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
शुभचिन्तकको सल्लाह र सुझावका आधारमा उम्मेदवारी फिर्ता लिएको उनीहरुले जनाएका छन् । उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएका पुडासैनीले मणिप्रसाद गैरेलाई समर्थन गर्ने जनाएका छन् । त्यस्तै सहसचिवका उम्मेदवार पौडेलले सहसचिवकी अर्की उम्मेदवार गीतादेवी शर्मा (प्याकुरेल) लाई समर्थन गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
फिर्ता लिएका सबै उम्मेदवारले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए । शनिबार हुन लागेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको निर्वाचन शनिबार हुँदैछ । यहाँ नौ सय ३० मतदाता छन् ।
अध्यक्षमा भने तीनजनाबीच प्रतिस्पर्धा हुने देखिएको छ । ज्ञानोदयको अध्यक्षका लागि चेतकान्त भट्टराई, ठाकुरप्रसाद भुषाल र डोलराज अर्याल चुनावी मैदानमा छन् । तीनजनामध्ये भट्टराई र भुसाल नेपाली कांग्रेसका उम्मेदवार हुन । सचिवमा नेपाली कांग्रेसका एकराज शर्मा र निर्मल आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
कोषाध्यक्षमा नेपाली कांग्रेस निकट पवित्रा ढकाल निर्विरोध चयन भएकी छन् । पाँचजना सदस्यका लागि भने अब आठजना चुनावी मैदानमा छन् । सहायक निर्वाचन अधिकृत बद्रिनाथ सापकोटाका अनुसार शनिबार बिहान ८ बजेदेखि ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको हलमा मतदान प्रक्रिया हुनेछ ।









प्रतिक्रिया दिनुहोस्