सिक्टाबाट १७ हजार हेक्टरमा सिँचाइ



सिराज खान । नेपालगन्ज ।

बाँकेका किसानलाई अब आकासे पानीकै भर परेर खेती गर्नुपर्ने अवस्था अन्त्य हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको पश्चिमी र केही पूर्वी नहरमा पानी छाडिएपछि किसानलाई आकासे पानीको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको हो ।

दुवै नहरबाट अहिले १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजना नेपालगन्जका निर्देशक डा. सन्तोष कैनीले बताए । आयोजनाको नहरमा पानी छोडिएपछि जिल्लाको १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको भन्दै उनले भने, ‘सिँचाइ सुविधा पुगेका क्षेत्रमा केही समय अघिबाटै धमाधम रोपाइँ भइरहेको छ ।’

१७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेपछि उक्त क्षेत्रका किसानले आकासे पानीकै भर परेर खेती गर्नुपर्ने बाध्यता पनि समाप्त हुँदै गएको छ । त्यसैले अहिले उक्त क्षेत्रका अधिकांश किसानले वर्षा नकुरेरनै खेती गरिरहेका छन् । अहिले सिक्टाको नहरमा १० क्यूबेक मात्र पानी बगाइएको छ ।
कोहलपुर–६ रझेनाका मलिराम थारुले सिक्टाको मूल नहरमा गत वर्षदेखि पानी बगाउँदा आफूलाई खेतीमा पानीको कुनै समस्या नभएको बताए । उनले आफ्नो खेतको छेउमा नै मूल नहर बगेकाले आवश्यक पानी तानेर १२ महिनानै खेती गरिरहेको बताए ।

गत वर्षभन्दा पहिले आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले भने, ‘अब त जतिबेला जुन खेती मन लाग्यो, त्यो गर्न सकिन्छ ।’ सिँचाइ सुविधा भएपछि खेतीपाती लगाउन सहज भएको उनी बताउँछन् ।

यस वर्ष वर्षा नभए पनि १५ दिनदेखिनै कोहलपुर–१५ का खडकबहादुर खड्काले पानीको अभावबिना रोपाइँ गरिरहेको बताए । उनलाई पानीको कुनै समस्या छैन । खेतको छेउबाटै सिक्टाको नहर बगेकाले समयमै रोपाइँ गरिएको उनको भनाइ छ ।

थारु र खड्का मात्र नभइ सिक्टाको पश्चिमी मूल नहरको ४५ किलोमिटर र पूर्वी नहर राजकुलोको १२ किलोमिटर वरिपरिका किसानले सिँचाइ सुविधा उपभोग गरिरहेका छन् । ‘नहर र शाखा नहर वरिपरिका किसानले सिक्टाको पानी अहिले पम्प गरी खेतसम्म पु¥याएका छन् ।

जसले गर्दा नहर पुगेको ठाउँका किसानलाई खेतीका लागि पानीको कुनै पनि समस्या छैन,’ सिक्टा सिँचाइ आयोजना नेपालगन्जका प्रमुख डा. कैनीले भने । उक्त आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०६३/०६४ बाट सुरु भएको हो ।

बाँकेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी बनाइएको सिक्टा सिँचाइ आयोजनाबाट ४२ हजार सात सय ६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइका लागि पानी उपलब्ध गराउने उद्देश्य छ ।

आयोजनाको निर्माणाधीन पश्चिम मूल नहरले बाँके जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्य लिएको छ भने पूर्वी मूल नहरले राप्ती नदीको पूर्वी भेगको करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २३ गते बिहीबार