नेपालगन्ज भन्सारको राजस्व संकलन लक्ष्य पूरा नहुने



चालू आर्थिक वर्षको जेठ मसान्तसम्म २२ अर्ब ९३ करोड ७९ लाख १५ हजार रुपैँया राजस्व असुल गर्ने लक्ष्य रहेकोमा त्यसको ८९ दशमलव ५४ प्रतिशत अर्थात् २० अर्ब ५३ करोड ७७ लाख ३२ हजार रुपैँयामात्रै असुली भएको छ । आर्थिक वर्षको अन्तिम महिना असार मात्रै बाँकी रहँदा अब लक्ष्य पूरा हुने अवस्था देखिँदैन ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको एक सय १९ दशमलव ३६ प्रतिशत राजस्व संकलन गरेको थियो । तर चालू आर्थिक वर्षमा नेपालगन्ज भन्सारको लक्ष्यअनुसार राजस्व संकलन गर्न असक्षम हुने देखिएको छ ।

विगत १० वर्षको तथ्यांक हेर्ने हो भने नेपालगन्ज भन्सारले कोरोना महामारी सुरु भएको आर्थिक वर्ष २०७६/०७७ बाहेक सबै वर्षमा लक्ष्य पूरा गरेको थियो भने अधिकांश वर्षमा लक्ष्यभन्दा बढी राजस्व असुली भएको थियो ।

२०७६/०७७ मा कोरोना महामारीका कारण भन्सार लक्ष्य पूरा नभएको बताइएको थियो । उक्त वर्ष लक्ष्यको ७६.२४ प्रतिशत मात्रै राजस्व असुली भएको थियो । यद्धपि कोरोना महामारीले सबैभन्दा बढी प्रभाव पारेको वर्ष २०७७/०७८ मै भने लक्ष्यभन्दा १८ प्रतिशत बढी राजस्व संकलन भयो ।

तर, कुनै असामान्य परिस्थिति नभएको चालू आर्थिक वर्ष २०७८/०८९ मा भन्सार लक्ष्य पूरा नहुने देखिएको हो । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म २२ अर्ब ९३ करोड ७९ लाख १५ हजार रुपैँया राजस्व असुल गर्ने लक्ष्य रहेकोमा त्यसको ८९ दशमलव ५४ प्रतिशत अर्थात् २० अर्ब ५३ करोड ७७ लाख ३२ हजार रुपैँयामात्रै असुली भएको छ ।

आर्थिक वर्षको अन्तिम महिना असार मात्रै बाँकी रहँदा अब लक्ष्य पूरा हुने अवस्था देखिँदैन । चालू आर्थिक वर्षमा नेपालगन्ज भन्सारले २५ अर्ब २१ करोड बढी राजश्व संकलनको लक्ष्य पाएको छ । यस हिसाबले लक्ष्य पूरा गर्न असार महिनामा चार अर्ब ६७ करोड बढी असुली गर्नुपर्ने हुन्छ । जुन असम्भव छ । चालू आर्थिक वर्षको श्रावण र असोजबाहेक कुनैपनि महिनामा राजस्व संकलनको लक्ष्य पूरा भएको छैन ।

भौतिक पूर्वाधारका साथै तस्करी नियन्त्रणका हिसाबले सबैभन्दा अस्तव्यस्त भन्सारका रुपमा नेपालगन्ज भन्सार रहेको छ । त्यसलाई व्यवस्थित गरेर लैजान सकेमा नेपालगन्ज भन्सारबाट लक्ष्यअनुसारको राजस्व असुल गर्न अप्ठ्यारो नहुने नेपालगन्ज भन्सारका पूर्व प्रमुख जयबहादुर भण्डारी बताउँछन् । तर यसवर्ष लक्ष्यअनुसारको राजस्व असुली नहुँदा त्यसले प्रश्न जन्माएको छ ।

हाल हप्तैपिच्छे भन्सार छली गरेर भित्र्याइएका सामानहरु प्रहरीले बरामद गर्ने गरेको छ । शुक्रबार भन्सार छलेर भारत लैजान लागिएको ठूलो परिमाणको अफिमको बीयाँ बरामद भएपछि निकासी गर्दा पनि भन्सार छली भइरहेको पुष्टि भएको छ । अफिमको बीयाँ लुकाउन कन्टेनरमा गुप्त कोठा बनाइएको फेला पर्नुले तस्करहरुले अनेक उपायले भन्सार र सुरक्षा निकायलाई झुक्याइरहेका छन् भन्ने आशंकामा बल पु¥याएको छ ।

के यीनै कारणले नेपालगन्ज भन्सार विगत १० वर्षमा पहिलोपटक कुनै असामान्य परिस्थितिबिनै लक्ष्य प्राप्त गर्नबाट चुकेको हो ? प्रहरीले जमुनाह नाकाबाट घरायसी वस्तु निमेलका नाममा हुने सानोतिनो भन्सार छली रोक्न नसकिएको र खुला सीमाका कारण हुने तस्करी रोक्न चुनौती रहेको बताउने गरेको छ । उसो त प्रहरीको भन्सार नतिरेर कथित कडा पहरालाई पनि झुक्याएर धम्बोझीस्थित नन्दनी मिलमा चिनी पनि प्रहरीले केही दिनअघि सूचनाका आधारमा बरामद गरेको थियो ।

यी घटनाले धेरै सामानहरु भन्सार छलेर भित्र्याइने गरेको भन्ने प्रमाणित गरेको छ । अर्काेतिर प्रहरीले बरामद गर्ने सामानका मालिक एवं तस्करीमा संलग्नहरुलाई प्रहरीले नसमात्दा तस्करीको जरोसम्म अनुसन्धान नभैरहेको आम सर्वसाधारणको बुझाइ छ । कतिपय सर्वसाधारणले प्रहरी र भन्सारकै कर्मचारीको मिलेमतोमा तस्करी हुने गरेको आरोप लगाउँछन् ।

यसैगरी प्रहरीले अनुचित आर्थिक लाभ लिएर तस्करी गर्न सहज बनाइदिने (लाइन दिने) गरेको चर्चा नेपालगन्जमा हुने गरेको छ । भन्सार लक्ष्य पूरा नहुँदा जनताले यी आशंका र आरोपहरुलाई बल पुगेको छ ।

नेपालगन्ज भन्सारबाट मुख्य गरी पेट्रोलियम पदार्थ, सिमेन्ट, तोरी, चिनी, चामल, पत्थर कोइला, कपडा, मोटर पाटर्स आदि पर्दछन् भने तेस्रो मुलुकवाट अल्मोनियम स्के्रप, कपर स्क्रेप, प्लाष्टिक दाना लगायतका बस्तुहरु पैठारी हुने गरेका छन् भने खयर कत्था, कच्छ, जडिबुटी, अदुवा, सुटो आदि भारत र गहुँको पीठो, टिमुर, रिठा, जटामसी सार्क आदि तेस्रो मूलुक निकासी हुने गरेका छन् ।

छोटी भन्सार नखुल्दा फस्टाउँदै तस्करी 

भन्सारले आफ्नो आँखैअघि भइरहेको अवैद्य पैठारीलाई रोक्न सकेको त छैन नै सशस्त्र द्वन्द्वकालमा विस्थापित भएका बाँकेका ७ वटा छोटी भन्सार पुनस्र्थापना हुन सकेका छैनन् । नेपालगन्ज भन्सार अन्तर्गत सुइया बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भंघोटना, साइगाउँ र उढरापुर गरी ७ वटा छोटी भन्सार छन् ।

तर ती छोटी भन्सार सञ्चालनमा नआउँदा अवैध चोरी पैठारीले फस्टाउने मौका पाइरहेको छ भने राजस्व पनि गुमिरहेको छ । भारतसँग जोडिएको ६५ किलोमिटर खुला सीमामा छोटी भन्सारको अभावका कारण विभिन्न नाकाबाट राजस्व छलेर सामानहरु भित्रिरहेको स्वयं व्यापारीहरु बताउँछन् । त्यहाँ प्रहरीको बाक्लो उपस्थिति छैन । ती नाकाहरुबाट साइकलमै खाद्यान्न, सिमेन्ट, कपडा, रेडिमेड र कस्मेटिकलगायतका लाखौँका सामान भित्रिने गरेका छन् ।

यति मात्रै होइन छोटी भन्सार नभएकै कारणले नेपालबाट पनि सुन, डिजेल, पेट्रोल, जडिबुटीलगायतका थुप्रै सामान अवैधरूपमा भारत निकासी पनि भइरहेको छ । त्यहाँ दिनहुँ सयौँको संख्यामा साइकल, मोटरसाइकल र अटोरिक्सामा सीमावर्ती भारतीय बजारबाट सामान लिएर आउँदै गरेकाहरुको लस्कर देख्न सकिन्छ । १५ वर्षअघि तत्कालीन माओवादीले धम्की दिएको भन्दै सात ठाउँमा रहेका छोटी भन्सार कार्यालय विस्थापित भएका थिए ।

माओवादीबाट असुरक्षित भएको भन्दै कर्मचारी र सुरक्षाकर्मी नेपालगन्ज फर्किएपछि छोटी भन्सार कार्यालय बन्द भएका थिए । ७ वटा छोटी भन्सारमध्ये सुइया बघौडा, भगवानपुर, भंघोटना र उढरापुरको भवन नै छैन भने अरु स्थानमा भवनहरु भत्किएर काम नलाग्ने अवस्थामा छन् । ती भवनहरु तरकारी खेती र गाई गोठको रूपमा प्रयोग हुँदै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १९ गते आइतबार