कोहलपुरको एक अर्ब ६१ करोडको बजेट पारित



शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९÷०८० सालको प्रस्तावित बजेट पारित भएको छ । ११औँ नगरसभाअन्तर्गत असार १० गते प्रस्तुत भएको कोहलपुर नगरपालिकाको बजेट सर्वसहमतिमा पारित भएको हो ।

बुधबार बसेको ११औँ नगरसभाको तेस्रो बैठकबाट आगामी आर्थिक वर्षको शाखागत बे्रकडाउन बजेट पारित भएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि नगरपालिकाले कूल एक अर्ब ६१ करोड बजेट प्रस्तुत गरेको थियो । बुधबार बसेको ११औँ नगरसभाको तेस्रो बैठकमा नगरप्रमुख पूर्णप्रसाद आचार्यले आर्थिक वर्ष २०७९/०८० को बजेट सभामा प्रस्ताव स्वीकृतिका लागि पेस गरेका थिए । उक्त बजेट ध्वनि मतका आधारमा सर्वसहमतिमा बहुमतले पारित भएको हो ।

यस्तै सभाले आर्थिक विधेयक–२०७९ र विनियोजन विधेयक–२०७९ समेत पारित गरेको छ । यस्तै उनले नगर प्रहरीसम्बन्धी संशोधन विधेयक, कोहलपुर नगरपालिकाको प्रशासकीय कार्यविधि तथा सोसम्बन्धी व्यवस्था गर्ने नियमावली–२०७९, आर्थिक मितव्ययितासम्बन्धी, स्थायी कर्मचारीको तलबी प्रतिवेदन स्वीकृत गर्ने विषय, बेरुजु फस्र्यौट गर्ने विषयलगायतका छलफलका लागि टेबुल गरेका थिए । उक्त विषयमा सभामा सदस्यहरुले आआफ्ना धारणा राखेका थिए ।

कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष हरि कठायतले होमस्टे सञ्चालन तथा जग्गा किनबेचलगायतका विषयमा संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरिदिन माग गरेका छन् । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष माधव रिजालले कोहलपुरको हितका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने र नगरसभा नियमसंगत चल्नुपर्नेमा जोड दिएका थिए ।

सभामा सदस्यहरुले उठाएका विषयमा जवाफ दिँदै नगर प्रमुख आचार्य सदस्यहरुले राखेका समसामयिक विषयमा आफू गम्भीर रहेको बताए । उनका अनुसार सभामा उठेका मालपोत तथा नापी कार्यालय, भूमि सुधारको लागि कर्मचारी व्यवस्थापन र जनप्रतिनिधिले लिएको सुविधा फिर्ता नगरेका लगायतका विषयमा तत्काल निर्णय गरी कार्यान्वयनमा जानेछ ।

यस्तै नगरपालिकामा अब मागमा आधारित तालिम सञ्चालन गरिने उनको भनाइ छ । यस्तै उपप्रमुख संगीता सुवेदीले आर्थिक वर्ष २०७९/०८० आर्थिक विनियोजन विधेयक, राजस्व एवम् व्यायमा अनुमानित खर्चबारे उठेका प्रश्नमाथि जवाफ दिएकी थिइन् ।

उक्त अवसरमा उनले आर्थिक पारदर्शीता, सुशासन र उत्कृष्ट नगरपालिका बनाउने बताइन् । शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रको विकासका लागि काम गरिने उनको भनाइ थियो ।

एमालेको आलोचनात्मक समर्थन

११औँ नगरसभाको तेस्रो बैठकमा प्रस्तुत बजेट तथा अन्य विधेयकमाथि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आलोचनात्मक समर्थन जनाएका छन् । नगरसभामा नेपाली कांग्रेस स्पष्ट बहुमतमा छ । नेकपा एमाले कार्यपालिकामा अल्पमतमा छ । नेकपा एमालेबाट निर्वाचित वडा नम्बर ३ का अध्यक्ष माधव रिजालले नगरसभा कानुनी व्यवस्थाअनुसार नचलेको बताए ।

‘यो नगरसभा हो की के हो, मलाई अचम्म लागेको छ । नगरसभाको बैठक समापनको तरखर गरिरहेका छौँ । नगर कुनै पनि सदस्यलाई कति बजेट दिइएको छ जानकारी भएन,’ उनले भने । उनले विभिन्न शाखा तथा क्षेत्रगत बजेट डल्लोको रुपमा आएको र स्पष्टरुपमा नआएको पनि आरोप लगाए । कार्यपालिका सदस्यलाई गुम्राहामा राखेर कोहलपुर नगरपालिकाको समृद्धि सम्भव नभएको उनको तर्क छ ।

यस्तै नगरसभा सुरु भइसकेपछि क्षेत्रगत बजेटको प्रति दिनुपर्ने भए पनि नदिइएको बताए । यस्तै वडा नम्बर ११ का अध्यक्ष कल्पना अधिकारी शर्माले आफूहरुले आलोचनात्मक समर्थन गरेको बताइन् । उनी भन्छिन्, ‘बजेट पास गर्ने विधिमाथि हाम्रो प्रश्न छ ।

नगरसभामा हामीले कुरा पनि राख्यौँ । तर, बहुमतले पारित गर्ने नियत देखियो । प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा आलोचनात्मक समर्थन रह्यो । आखिर हामी अल्पमतमा छौँ । उहाँहरु बहुमतमा हुनुहुन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रबार