बाँकेमा विद्युत् चोरी गर्ने १५ जना पक्राउ



नेपालगन्ज ।

विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत् चोरी नियन्त्रणका लागि तदारुकता देखाएको छ । हरेक गर्मीयाममा विद्युत् चोरी नियन्त्रणका लागि विशेष निगरानी गर्दै आएको वितरण केन्द्रले पछिल्लो एक महिनामा १५ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ हटाउने, चोरी गरेर खेतमा मोटर चलाउने, मिटर बाइपास गरेर घर, फ्याक्ट्रीमा चलाउने जस्ता विद्युत् चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिई जरिवाना गरी छोडिएको वितरण केन्द्रका इन्जिनियर विष्णु थापाले जानकारी दिए ।

चोरी नियन्त्रणका लागि निरन्तर गरिएको अनुगमन र सुरक्षाकर्मीको सामूहिक प्रयासबाट नेपालगन्ज, जानकी, खजुरा, डुडुवा, राप्तीसनारी र नरैनापुरलगायतको ठाउँबाट पक्राउ परेका ती व्यक्तिहरुबाट चार लाख २६ हजार जरिवाना पनि असुल गरिएको थापाले बताए ।

यसका साथै तीन महिनासम्म बिल नतिरेका ठूला उद्योग र थ्री फेज ग्राहकको बत्ति काट्ने कामलाई तीव्रता दिइएको उनले बताएका छन् ।

जसअन्तर्गत दुई सातामा करिब एक करोड बाँकी बक्यौता असुल उपर गरिएको छ । वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले अहिले वितरण केन्द्र चोरी नियन्त्रण र बाँकी बक्यौता असुल उपरमा तदारुकता साथ लागिरहेको बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १६ गते बिहीबार